मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
टुकुचा उत्खननका क्रममा महानगरले जयनेपाल हलपरिसरमा बनाएको खाडल । यो खाडल नपुर्दा जुनसुकै वेला दुर्घटना निम्तिने अवस्था छ । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
शान्ति तामाङ काठमाडाैं
२०७९ मङ्सिर १२ सोमबार ०६:५२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

महानगरले भत्काएर छाडेका संरचना अझै बनेनन्

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
२०७९ मङ्सिर १२ सोमबार ०६:५२:००

न्युरोडस्थित काठमाडौं मलअगाडि अचेल मःम पसलदेखि कफी पसलसम्म देख्न पाइन्न । सल पसलदेखि पोते पसलसम्मको गज्याङगुजुङ पनि देखिँदैन । मल उक्लिने भर्‍याङमा बसेर खुला टुँडिखेल मज्जाले हेर्न सकिने भएको छ । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने क्रममा मलअगाडिका अनधिकृत संरचना पनि हटाएपछि यो सबै सम्भव भएको हो ।

तर, डोजर लगाएका संरचना नबनाइँदा कोतरिएका, नमिलेका अंशले सहर नै कुरूप बनेको छ । काठमाडौं मलआसपासमा मात्र होइन, जति पनि ठाउँ महानगरले अनधिकृत संरचना भत्काएको छ ती सबै ठाउँ अस्तव्यस्त बनेका छन् । महानगरले भोटाहिटी–रत्नपार्कको अन्डरपास (सब–वे) माथिका अवैध संरचनामा पनि डोजर लगाएको थियो । डोजरले चिथोरिएको, माथिल्लो भाग भत्किएको यो संरचना खण्डहरजस्तै बनेको छ । यहाँ १३ भदौमा महानगरले डोजर लगाएको थियो । 

यी त केही उदाहरण मात्रै भए । महानगरले अनधिकृत संरचना हटाउने क्रममा संरचनाका केही अंशमा डोजरले बिगारिँदा ती क्षेत्र कुरूप बनेका छन् । आधा भत्काएर छोडिएका, कोतरिएका कतिपय ठाउँ भने अझै जस्ताको तस्तै छन् । 

महानगर भन्छ– हामीले बनाइसक्यौँ
महानगरले भने आफूहरूले डोजर लगाएको क्षेत्र मर्मत गरिसकेको दाबी गरेको छ । ‘अब कतै बाँकी छ जस्तो लाग्दैन । हामीले डोजर लगाएको ठाउँमा मर्मत भइसक्यो,’ महानगरका प्रवक्ता नवीन मानन्धरले भने, ‘छुटेका केही ठाउँ भए महानगरले बनाउँछ । अन्यले बनाउनुपर्ने हो भने मर्मत गर्न वा हटाउन भन्छौँ ।’ उनका अनुसार महानगरले हटाउनुपर्ने वा मर्मत गर्नुपर्ने क्षेत्रमा गएर हेर्नेछ र सोहीअनुसार निर्णय गर्नेछ । 

महानगरले ७ भदौदेखि अनधिकृत संरचना हटाउन सुरु गरेको थियो । हालसम्म १९ ठाउँका बेसमेन्ट तथा जमिन तला खाली गरेको छ । नक्सा स्वीकृत गर्दा पार्किङ र भण्डार कक्ष देखाएर सुविधा लिएका र निर्माणपछि व्यावसायिक लाभमा प्रयोग भएका संस्थागत तथा व्यक्तिगत भवनका भूमिगत तथा जमिन तला खाली गराएको हो । २१ भन्दा धेरै ठाउँमा मापदण्डविपरीत निर्माण गरिएका अनधिकृत संरचना, ओभरल्यापिङ र सेडब्याक हटाएको छ ।

महानगरले यी स्थानमा हटाएको थियो अनधिकृत संरचना 
महानगरले वडा १० बानेश्वरमा पर्ने पाँचजनाको स्वामित्व रहेको बानेश्वर प्लाजाको इ–ब्लकको संरचना हटाएर पाँचवटै घरका लागि पार्किङस्थल बनाइको छ । अल्फाबिटा कम्प्लेक्सको भूमिगत तलामा ताला लगाएको छ । यही वडाको बर्गर हाउस, युएफओ, रारा कम्प्लेक्स र जी सपले महानगरको सूचना पालना गर्दै अनधिकृत संरचना र अनधिकृत उपयोग हटाएको छ । वडा नम्बर २२ सुन्धारास्थित काठमाडौं मलको भुइँ तलामा रहेको सटर हटाएर पार्किङका लागि खाली गरिएको छ । यही वडामा रहेको आरबी कम्प्लेक्सपरिसरमा रहेका अनधिकृत टहरा हटाइएको छ । बिरा कम्प्लेक्सको भूमिगत तलामा रहेको होलसेल पसल हटाएर गोदाम मापदण्डबमोजिम सञ्चालन गर्ने सहमति गरिएको छ । वडा २४ मा पर्ने सुरज आर्केट र कासा भवनको भुइँतला खाली गराइएको छ ।

 नवीन मानन्धर, प्रवक्ता,काठमाडौं महानगर

कतै बाँकी छ जस्तो लाग्दैन । हामीले डोजर लगाएको ठाउँमा मर्मत भइसक्यो । छुटेका केही ठाउँ भए महानगरले बनाउँछ । अन्यले बनाउनुपर्ने हो भने मर्मत गर्न वा हटाउन भन्छौँ ।

वडा ३ को वसुन्धरा चोकबाट सिर्जनशील मार्गसम्मको करिब नौ सय मिटर जिएलडी (गाइडेड ल्याँड डेभ्लप्मेन्ट–निर्देशित जग्गा विकास कार्यक्रम) बाटो खोलिएको छ । यसक्रममा करिब एक सय घरका अनधिकृत कम्पाउन्ड भत्काइएको छ । वडा ४ बालुवाटार विशालनगरस्थित मल्पी स्कुलले सार्वजनिक जग्गा अतिक्रमण गरेर लगाएको जस्ताको बारसहितका संरचना हटाइएको छ । वडा ५ क्षेत्रका सार्वजनिक ठाउँमा बनाइएका ओभरल्यापिङ हटाइएको छ । वडा  ८ पाशुपत क्षेत्र सडकपेटीमा रहेको अनधिकृत संरचना, ओभरल्यापिङ र विज्ञापनमूलक सामग्री हटाइएको छ । वडा १० को देउराली क्लबवरिपरि सडकपेटीमा राखिएका निर्माण सामग्री हटाइएको छ । 

वडा १६ को ढुंगेधारा, वडा १७ को धोबीचौर, वडा २४ को सुरज आर्केडअगाडिको सिँढी हटाइएको छ । वडा १६ कै माछापोखरी नापतौल कार्यालयअगाडि र महादेव खोला किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका स्थायी र अस्थायी गरेर ४३ वटा संरचना हटाइएको छ । यही वडाको नयाँबजार जग्गा एकीकरण आयोजनाभित्र रहेको जुडो हलवरिपरि विभिन्न व्यवसाय गर्न बनाइएका ६ वटा अनधिकृत टहरा हटाइएको छ । यसैगरी, वडा २४, २५ र २७ सँग जोडिएका असन, इन्द्रचोक, वडा २४ को मखनदेखि विशालबजारतर्फ आउने गल्लीका, वडा २५ मा रहेका सन्तानेश्वर भवानी शंकर मन्दिर, उमा शंकर मन्दिर र सडक पेटीमा अतिक्रमण गरेर राखिएका संरचना र ओभरल्यापिङ संरचना हटाइएको छ ।

वडा २६ मा नयाँ बसपार्क मित्रनगरदेखि म्हेपी मन्दिरसम्मका अनधिकृत सेडब्याक, ओभरल्यापिङ, अनुमति नलिई राखिएका विज्ञापन बोर्ड हटाइएको छ । वडा २९ हनुमानस्थान चिकेन क्युन रेस्टुरेन्टको घर खाली गराइएको छ । वडा ३२ कोटेश्वर, अरनिको राजमार्ग दायाँ–बायाँ क्षेत्रमा भएका अनधिकृत संरचना, स्वीकृति नलिई राखिएका विज्ञापन बोर्ड हटाइएको छ । नरेफाँट क्षेत्रमा माइकिङ गरेर सचेत गराइएको छ । यस्तै, भाटभटेनी सुपर मार्केटको भूमिगत तलालाई पार्किङका लागि खाली गराइएको छ ।

महानगरले बेसमेन्ट तथा जमिन तलालाई पार्किङका रूपमा खाली गराइएका ठाउँहरूमध्ये वडा नम्बर १ दरबारमार्गमा दुईवटा भवन छन् । यिनीहरू नेपाल ट्रस्ट र दरबार मलको भूमिगत तला हुन् । वडा १४ कलंकीमा रहेको स्मार्ट तारा हाउसको भूमिगत तलामा रहेको कपडा पसल र एभरेष्ट गेस्टहाउसको भूमिगत तलामा रहेको खाजा घर हटाउने काम भएको छ । वडा २६ सामाखुसीमा रहेको पुरानो अल नेपाल अस्पताल र खड्का भवन तथा रानीबारीमा रहेको सेन्चुरी बैंकपरिसरभित्र रहेका अनधिकृत पसलहरू हटाइएका छन् ।