मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
पवन बराइली काठमाडाैं
२०७९ मङ्सिर १२ सोमबार ०६:२०:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विश्वकपमा घट्यो जर्सीको व्यापार

चुनावी माहोल र जाडो समयमा विश्वकप फुटबल प्रतियोगिता भएका कारण तुलनात्मक रूपमा यसपटक जर्सी बिक्रीमा कमी आएको व्यवसायीहरू बताउँछन्

Read Time : > 1 मिनेट
पवन बराइली, काठमाडाैं
२०७९ मङ्सिर १२ सोमबार ०६:२०:००

विश्वकै पहिलो नम्बरमा पर्ने खेल फुटबलको विश्वकप प्रतिस्पर्धा मध्यपूर्वी एसियाली राष्ट्र कतारमा चलिरहेको छ । फुटबलको महाकुम्भ कतारको राजधानी दोहामा चले पनि माहोल भने विश्वभर फैलिएको छ । ट्रफीका लागि प्रतिस्पर्धामा रहेका ३१ राष्ट्रका विदेशी दर्शक आ–आफ्ना राष्ट्रलाई समर्थनका लागि कतारको चर्को गर्मीमा छन् । कतार पुग्न नसक्ने करोडौँ दर्शक घर–टोलमै टेलिभिजनको पर्दामा आफूलाई मनपर्ने टोलीको समर्थनमा हुटिङ दिइरहेका छन् । कतिपयले घरमै प्रोजेक्टर जोडेर लाइभकास्ट हरिरहेका छन् । 

नेपालमा पनि चिसो मौसममा विश्वकपको ताप बढेको छ । स्कुले विद्यार्थीदेखि नेता, कलाकार, व्यवसायीलगायत सबै क्षेत्रका फुटबलप्रेमी सम्भावित नतिजामाथि हरेक दिन अड्कलबाजी गरिरहेका छन् । सामाजिक सञ्जालहरूमा पनि विश्वकपकै बहस छ । विश्वकप फुटबलमा जर्सीको कारोबार विश्वभर नै व्यापक हुन्छ । जर्सी बेचेर उत्पादक कम्पनीहरूले विश्वकपको सिजनमै लाखौँ डलर कमाउँछन् । नेपालमा भने यसपालि विश्वकपको रापताप बढ्दा जर्सीको व्यापार भने उत्साहित छैन । 

ब्रान्डेड पसलदेखि फुटपाथसम्म जर्सीको व्यापार भए पनि अघिल्ला विश्वकपहरूमा झैँ यसपालि बिक्री नभएको बिक्रेताहरू बताउँछन् । चिसो मौसमले जर्सीको व्यापारमा असर गरिरहेको छ । काठमाडौं चाबहिलस्थित सिन्धु स्पोर्ट सेन्टरका सञ्चालक विश्व श्रेष्ठले विश्वकपका विभिन्न टिमका जर्सी व्यापार गर्दै आएका छन् । अघिल्लो विश्वकपमा सर्वाधिक जर्सी बिक्री भएको उनको अनुभव छ । यसपालि भने जर्सीको व्यापार घटेको बताउँदै उनले कारण पनि खुलाए, ‘विश्वकप फुटबलका अघिल्ला संस्करणमा महिनादिन अघिदेखि आफूले समर्थन गरेको देशको जर्सी प्रिन्ट गर्थे । तर, यसपालि जर्सी किन्नेहरू एक साता अघिमात्रै पसलमा आएका छन् । यसपटक जाडो मौसम र चुनावी प्रभावले विश्वकपको चहलपहल ढिला सुरु भयो । त्यस्तै, जर्सी व्यापार गर्ने पसलसमेत बढेकाले व्यापार कम भएको छ ।’

उनको पसलबाट विगतमा जस्तै यसपालि पनि अर्जेन्टिनाको जर्सी बढी बिकेको छ । श्रेष्ठका अनुसार दोस्रोमा पोर्चुगल र तेस्रोमा ब्राजिलको जर्सी बिकेको छ । पसलमा आउने ग्राहकले जर्सीसँगै सम्भावित विजेताबारे कुरा गर्ने उनले बताए । ‘प्रतियोगिताको नकआउट चरणपछि उपाधितर्फ लम्कने राष्ट्रका जर्सी किन्ने ग्राहक आउँछन्,’ उनले भने, ‘कतिपयले आफ्नो समर्थन गर्ने देशको जर्सी पहिले नै लगाउँछन् ।’ 

यसपटक ब्रान्डेड जर्सी किन्नेहरूको संख्या बढेको उनको भनाइ छ । अघिल्लो विश्वकपमा भन्दा यसपटक विश्वकमा २५ प्रतिशतले जर्सी महँगो भएको श्रेष्ठले बताए । 
न्युरोडस्थित जर्सी पसल नेपालका सञ्चालक सुमन शाहको अनुभव पनि श्रेष्ठको जस्तै छ । यसपटकको विश्वकपको चहलपहल ढिला भएर जर्सीको व्यापार कम भएको उनले बताए । नेपालमा मेसी र रोनाल्डोको फ्यान बढी भएकाले अर्जेन्टिना र पोर्चुगलको जर्सी बढी बिक्री हुने शाहको अनुभव छ । एसियाली देशको हकमा जापानको जर्सी बढी बिकेको उनले बताए । यसपटक अस्ट्रेलिया र अमेरिकाको जर्सी पनि बढी बिक्री भएको उनको भनाइ छ ।

 एउटै जर्सीको मूल्य १५ हजारसम्म

राजीव श्रेष्ठ

बहुराष्ट्रिय कम्पनी एडिडासले नेपालमा एउटै जर्सी १५ हजारसम्ममा बिक्री गरेको छ । एडिडासको नेपालस्थित आधिकारिक जर्सी विक्रेता राजीव श्रेष्ठले महँगो मूल्यमा जर्सी बिक्री भइरहेको बताए ।

उनका अनुसार कप्तान मेसीसँगै अर्जेन्टिनाले लगाउने होम जर्सी एडिडास कम्पनीले तयार पारेको छ । ‘अन्य पसलभन्दा हाम्रो जर्सी कम बिक्री भएको छ । किनभने हाम्रोमा ब्रान्डेड जर्सी मात्रै पाइन्छ । ब्रान्डेड जर्सी लगाउने समर्थक मात्रै आएका छन्,’ उनले भने, ‘एडिडास कम्पनीले नेपालमा एउटा जर्सीको १५ हजार रुपैयाँसम्म मूल्य तोकेको छ । नेपालमा एडिडास कम्पनीले उत्पादन गरेको अर्जेन्टिना, जर्मनी, स्पेन, ब्राजिल, पोर्चुगल, स्पेनलगायत देशका जर्सी उपलब्ध छन् ।’