१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ मङ्सिर ९ शुक्रबार ०७:१५:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

लगातार पाँच विश्वकपमा गोल गर्ने रोनाल्डो पहिलो खेलाडी

रोनाल्डोले इतिहास बनाएको दिन पोर्चुगलले घानालाई ३–२ ले हरायो

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर ९ शुक्रबार ०७:१५:००

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले विश्वकप फुटबलमा बिहीबार नयाँ कीर्तिमान रचेका छन् । फिफा विश्वकपमा लगातार पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । बिहीबार समूह ‘जी’को खेलमा घानाविरुद्ध पेनाल्टीमा गोल गर्दै रोनाल्डोले विश्व फुटबलमै दुर्लभ इतिहास बनाएका हुन् । रोनाल्डोले पाँचै विश्वकपमा समूह चरणमै पाँच गोल गरेका हुन् । विश्वकप फुटबलकै अर्को रोमाञ्चक खेलमा पोर्चुगलले दक्षिण अफ्रिकी राष्ट्र घानालाई ३–२ को अन्तरमा पराजित गर्‍यो । 

प्रतिस्पर्धामा रेकर्ड बनाएका रोनाल्डोले खेलको ६५औँ मिनेटमा पेनाल्टी गोल गरेका थिए । डिबक्सभित्र घानाका मोहमदले फल गरेपछि पोर्चुगलले पेनाल्टी पायो । वर्तमान समयकै उत्कृष्ट खेलाडी रोनाल्डोले घानाका गोलरक्षकलाई छक्काउँदै गोल गरे । यस गोलसँगै लगातार पाँचौँ विश्वकपमा गोल गर्ने रोनाल्डो प्रथम खेलाडी भए । सन् २००६ मा जर्मनीले आयोजना गरेको विश्वकपमा रोनाल्डोले डेब्यु गरेका थिए । डेब्यु विश्वकपमै रोनाल्डोले गोलको खाता खोले । 

उनले एसियन राष्ट्र इरानविरुद्धको खेलमा गोल गरेका थिए । पहिलोपटक सहभागिता जनाएको विश्वकपमा रोनाल्डोले त्यति प्रभावशाली प्रदर्शन गर्न सकेनन् । विश्व फुटबलमा अनुभव बटुल्दै रोनाल्डोले सन् २०१० को विश्वकपमा आफूलाई केही उचाइमा राखे । उनले उत्तर कोरियाविरुद्ध एक गोल गरे । 

सन् २०१४ को विश्वकप उनको तेस्रो सहभागिता थियो । जसमा रोनाल्डोले आफू तत्कालीन समयमा उत्कृष्ट फर्ममा रहेको देखाए । यसपटक घानाविरुद्ध नै रोनाल्डोले गोल गरे । विश्वकपमा रोनाल्डोको उत्कृष्ट प्रदर्शन नै सन् २०१८ को थियो । चार वर्षअघि रसियाले आयोजना गरेको विश्वकपमा रोनाल्डोले ह्याट्रिकसहित चार गोल गरेका थिए । रोनाल्डोले ह्याट्रिक पनि पूर्वविजेता स्पेनविरुद्ध गरेका थिए । कठिन अवस्थामा रहेको पोर्चुगललाई जित दिलाउन उनले प्रमुख भूमिका निर्वाह गरे । रसिया विश्वकपमा रोनाल्डोले थप एक गोल मोरक्कोविरुद्ध गरे । 

 ३० मिनेटभित्र चार गोल
रोनाल्डोले पेनाल्टी गोल गरेपछिको ३० मिनेटमा चार गोल भए । पोर्चुगलका लागि जोआओ फेलिक्स र राफाएल लिआओले एक–एक गोल गरे । घानाका कप्तान आन्द्रे आयु र ओस्मान बुकारीले एक–एक गोल फर्काएका थिए । खेलको ७३औँ मिनेटमा घानाका कप्तान आन्द्रे आयुले १–१ को बराबरी गोल फर्काए । खेलको ७८औँ मिनेटमा पोर्चुगलले अग्रता लियो । जोआओ फेलिक्सले विश्वकपमा पहिलो गोल गर्दै पोर्चुगललाई २–१ को स्थितिमा राखे । खेलको ८०औँ मिनेटमा पोर्चुगल ३–१ ले अघि रह्यो । मैदानभित्र प्रवेश गरेको तीन मिनेटभित्र नै राफाएल लिआओले गोल गरे । 

खेलको ८९औँ मिनेटमा घानाका ओस्मान बुकारीले ३–२ का लागि गोल फर्काए । ९ मिनेटको अन्तिम समयमा घानाले खेल बराबरी गर्ने मौका गुमायो । जितसँगै पोर्चुगल समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ । पोर्चुगलको तीन अंक छ । उरुग्वे र दक्षिण कोरियाले एक–एक अंक जोडेका छन् ।