१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
 रोहितराज पराजुली
२०७५ पौष ९ सोमबार ०८:३४:००
Read Time : > 1 मिनेट
साहित्य

पोखरामा साहित्यिक माहोल

Read Time : > 1 मिनेट
 रोहितराज पराजुली
२०७५ पौष ९ सोमबार ०८:३४:००

जारी साहित्य महोत्सवको आइतबारको पहिलो सत्रमा ‘सय वर्षपछिको नेपाल’को कल्पना गरिएको छ । सो विषयमा पत्रकार एवं लेखक सुधीर शर्मा र अर्थविद् विश्व पौडेलले अन्तक्र्रिया गरे । उनीहरूले सय वर्षपछिको नेपालको अनुमान त गरे नै, अहिले भइरहेको राजनीति र सय वर्षमा गर्न सकिने विकासको समीक्षा गरे । राणशासनदेखि अहिलेसम्मका शासकका वृत्ति, मनोवृत्ति एवं प्रवृत्तिका विविध पक्षमा पनि अन्तरसंवाद भयो । पर्यटन एवं यहाँका सम्भावनालाई चिनेर अघि बढ्न सके नेपालको भविष्य उज्ज्वल रहेको उनीहरूको धारणा थियो ।  

दोस्रो सत्रमा ‘क्यान नेपाल बी द (इन्टेलेक्चुअल) सलोन अफ साउथ एसिया ?’ विषयमा हरिश नाम्बियर, मोहम्मद हनिफ र कनकमणि दीक्षितले अन्त्रक्रिया  गरे । सोही समयमा ‘आर्ट अफ एक्टिभिज्म’ शीर्षकमा पनि छलफल भयो । नेपाली मूलकी क्यानेडेली लेखक मञ्जुश्री थापासँग अस्मिना रञ्जितले छलफल चलाइन् । तेस्रो सत्रमा ‘किन घुम्ने नेपाल ?’ विषयमा पर्यटन तथा नगरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्य र आङछिरिङ शेर्पाबीच बहस भयो । बहसमा २० लाख पर्यटक भित्र्याउन  कठिन नरहेको मन्त्री अधिकारीले दाबी गरे । थेग्न नसकिने गरी पर्यटन भित्र्याउन नसकिने उनको भनाइ छ । पत्रकार सुजित महतले सहजीकरण गरेको सो सत्रमा पर्यटनमन्त्री अधिकारीलाई २० लाख पर्यटक भित्र्याउने  आधार दर्शकदीर्घाबाट समेत खोजिएको थियो ।  

नेपाल आफैँमा  जहाँ पुग्यो त्यहीँ सुन्दर रहेको र पर्यटनको उत्तिकै सम्भावना रहेको उनले बताए । त्यसमा पनि पोखरा र यसवरपरको क्षेत्र पर्यटकका लागि विशेष क्षेत्र रहेको उनको भनाइ छ । पर्यटन व्यवसायी शेर्पाले आन्तरिकभन्दा पनि बाह्य पर्यटक भित्र्याउनेगरी योजना बन्नुपर्ने बताए । उनले ‘आन्तरिक पर्यटक भनेको एउटा गोजीको पैसा अर्को गोजीमा सार्ने हो,’ भनिरहँदा पर्यटनमन्त्री अधिकारीले यसले पुनर्वितरणमा सहयोग पु-याउने दाबी गरे ।  चौथो सत्रमा अभिनेता दयाहाङ राई र खगेन्द्र लामिछानेले ‘सहर, साथी र सपना’ शीर्षकमा अन्तरसंवाद गरे । प्रस्तोता थिए, लेखक बुद्धिसागर । सहभागीले एउटा व्यक्ति गाउँले जीवनबाट सहर पसिसकेपछि उसले गरेका संघर्षका कथा मात्रै सुनाएनन्, सुख र दुःखका अनेकौँ रमाइला किस्सासमेत सुनाए । तीनैजनाले आफूहरूका प्रवृत्ति र दैनिकीबारे पनि छलफल गरे । सोही समयमा ‘रेमिट्यान्स साहित्य : दुःखदेखि दुःखसम्म’ शीर्षकको सेसनमा गणेश गुरुङ, उमा सुवेदी र जनकराज सापकोटाले वैदेशिक रोजगारीका दुःख, व्यथा एवं पीडाबारे संवाद गरे । यसका प्रस्तोता थिए, दिनेश काफ्ले । 

पाँचौँ सत्रमा ‘मधेस : आन्दोलनदेखि आख्यानसम्म’ शीर्षकमा शिवानीसिंह थारू, वसन्त बस्नेत र गणेशप्रसाद लाठले अन्तरसंवाद गरे । यसका प्रस्तोता थिए, गिरीश गिरी । उक्त अवसरमा उनीहरूले आन्दोलनदेखि आख्यानसम्म मधेसको अवस्था एवं चित्रणबारे छलफल गरे । सोही समयमा ‘मी टु’ शीर्षकमा छलफल भयो । यसमा भूमिका श्रेष्ठ, ऋचा शर्मा र सुरेश ढकालले परिचर्चा गरे । कार्यक्रमकी प्रस्तोता थिइन्, सावित्री गौतम । 

छैटौँ सत्रमा ‘द आर्ट अफ राइटिङ’ शीर्षकमा मञ्जुश्री थापा र प्रज्ज्वल पराजुलीसँग मुना गुरुङले अन्तरसंवाद गरिन् । उनीहरूले लेखनकला एवं शैलीका विविध पक्षमाथि चर्चा गरे । सँगै आफूहरूले अपनाएको लेखनकलाका विषयमा पनि प्रस्ट्याए ।  सोही समयमा ‘कविताको कोरियोग्राफी’ शीर्षकमा विप्लव ढकाल, विप्लव प्रतीक र रमेश क्षितिजसँग सरस्वती प्रतीक्षाले छलफल चलाइन् । उनीहरूले कविता लेखनका विविध पक्षबारे चर्चा गरे । कविता लेख्नुअघिका रोचक तथ्य पनि प्रस्तुत गरे । आइतबारको अन्तिम सत्र थियो, ‘आकाश, विम्बाकाश’ । यो सेसनमा नवराज पराजुलीले बर्तीका एम राई र अजर जंगमसँग अन्तरसंवाद गरे । उनीहरूले कविता लेखन एवं गीत लेखनका विषयमा चर्चा गरेका थिए ।