मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर ६ मंगलबार ०८:५५:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कतार विश्वकप  जसको अन्तिम हुन सक्छ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर ६ मंगलबार ०८:५५:००

आइतबारदेखि सुरु भएको कतार विश्वकप फुटबल धेरै स्टार खेलाडीका लागि अन्तिम सहभागिता हुन सक्छ । उमेर, शारीरिक अवस्था र उनीहरूको फिटनेसलगायतका कारण कतार २०२२ पछि आफ्नो विश्वकप यात्रामा पूर्णविराम लगाउन सक्नेछ । विश्वकपको प्रतिष्ठित प्रतियोगितापछि बिदा हुन लागेका खेलाडी :

लियोनल मेसी, अर्जेन्टिना
अर्जेन्टिनी कप्तान मेसीको यो लगातार पाँचौँ विश्वकप हो । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का ३५ वर्षीय स्ट्राइकर मेसीले आफ्नो करिअरमा अहिलेसम्म नपाएको एउटै मात्र ट्रफी भनेकै विश्वकप हो । यसपटक मेसी विश्वकप ट्रफी अर्जेन्टिनालाई दिलाउन चाहन्छन् । उमेरका कारण पनि सम्भवतः कतार विश्वकपपछि मेसी अमेरिका र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने २३औँ विश्वकपमा देखिनेछैनन् ।

क्रिस्टियानो रोनाल्डो, पोर्चुगल
पोर्चुगलका कप्तान रोनाल्डो पनि पोर्चुगललाई पहिलोपटक विश्वकप जिताउने खोजमा केन्द्रित छन् । रोनाल्डो एउटा विस्फोटक अन्तर्वार्तासँगै विश्वकपमा प्रवेश गरेका छन् । मेसीझैँ रोनाल्डोको पनि लगातार पाँचौँ विश्वकप यात्रा हो । सन् २००६ मा उनले पहिलोपटक विश्वकप खेलेका थिए । सो विश्वकपमा पोर्चुगल सेमिफाइनलसम्म पुगेको थियो । विश्व फुटबलमै अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोलकर्ता बनेका रोनाल्डोले गत वर्षको संस्करणमा स्पेनविरुद्ध ह्याट्रिक लगाएका थिए । ३७ वर्षीय रोनाल्डोले केही अन्तर्वार्तामा कतार विश्वकप अन्तिम हुन सक्ने बताएका थिए । 

लुका मोड्रिच, क्रोएसिया
क्रोएसियाका खेलाडी मोड्रिचले कतार विश्वकप अन्तिम हुने जनाएका छन् । ३७ वर्षीय मोड्रिचले सधैँभरि समयलाई अस्वीकार गर्न सक्दैनन् । मोड्रिचले रुसमा आयोजना भएको सन् २०१८ को विश्वकपमा उत्कृष्ट खेलाडी हुँदै गोल्डेन बुट जितेका थिए । गत वर्ष क्रोएसिया पहिलोपटक फाइनलमा पुग्दा मोड्रिचको योगदान अधिक थियो । यसपटक क्रोएसियालाई गत वर्षभन्दा उत्कृष्ट नतिजा दिलाउने उनको प्रयास हुनेछ । 

लुइस सुआरेज, उरुग्वे
उरुग्वेका सिनियर स्ट्राइकर सुआरेजलाई पनि सम्भवतः अर्कोपटकको विश्वकपमा देख्न गाह्रो छ । ३५ वर्षीय सुआरेजले फर्मलाई निरन्तरता राख्दा २३औँ संस्करणमा पर्न सक्छन् । यसपटक उनको फर्म त्यति सन्तोषजनक छैन । यद्यपि, उरुग्वेको राष्ट्रिय टोलीका लागि सुआरेज भरपर्दा स्ट्राइकर हुन् । कतारपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा उनी नखेल्ने चर्चा हुन थालेको छ ।

थियागो सिल्भा, ब्राजिल
सन् २०१८ को रसिया विश्वकपलाई नै ब्राजिलियन सेन्टर ब्याक डियागोले अन्तिमपटक भनेका थिए । यद्यपि, रसिया विश्वकपपछि उनी टोलीमा परिरहे । इंग्लिस क्लब चेल्सीका खेलाडी सिल्भाले यसपटकलाई करिअरकै अन्तिम विश्वकप मानेका छन् । ३८ वर्षको उमेरमा पनि उनी विश्वका उत्कृष्ट सेन्टर ब्याकमा पर्छन् । चेल्सीमा उनको प्रदर्शन हेर्न लायक छ । 

सर्जियो बुस्केट, स्पेन
स्पेनको डिफेन्सिभ मिडफिल्डरका अब्बल खेलाडी बुस्केट हुन् । ३४ वर्षीय बुस्केटले केही संकेत देखाएका छन् । अहिले उनलाई उमेरले समात्दै छ । प्रशिक्षक लुइस एन्रिकको स्पेनिस टोलीमा उनी प्रमुख सदस्य हुन् । ‘हामीले खेलको प्रकारलाई नियन्त्रण गर्न सक्छौँ र यसलाई हामीले चाहेको बनाउन सक्छौँ, जसको अर्थ मैदानको आफ्नो रक्षात्मक क्षेत्रवरिपरि विपक्षीलाई नियन्त्रण गर्ने र हावी गर्ने हो,’ इएसपिएनसँगको एक अन्तर्वार्तामा बुस्केटको प्रशंसा गर्दै एरिकलले भनेका थिए, ‘बुस्केट अझै पनि आफ्नो स्थानमा नम्बर १ हो ।’ बुस्केटले सन् २००८ मा स्पेनिस टोलीमा डेब्यु गरेका थिए । अहिलेसम्म एक सय ३९ खेलमा उनले दुई अन्तर्राष्ट्रिय गोल गरेका छन् । 

युटो नागामोटो, जापान
३६ वर्षीय नागामोटो अहिलेसम्म जापानबाट चार विश्वकप खेल्ने पहिलो खेलाडी हुन् । यो उमेरमा पनि उनी आफूलाई निकै फुर्तिलो र तन्दुरुस्त मान्छन् । ‘म ३६ वर्षको भएँ, तर शारीरिक रूपमा फिट छु,’ जापान टाइम्सलाई दिएको अन्तर्वार्तामा नागामोटोले भने, ‘मैले युरोप र विश्वकपमा ठूला खेलाडीसँग खेलेको छु, पक्कै पनि मेरो बाटोमा आएका खेलाडी वा टोलीहरूसँग लड्न सक्छु ।’ सन् २००८ देखि नागामोटो जापानी टोलीमा छन् । उनले अहिलेसम्म एक सय ३८ अन्तर्राष्ट्रिय खेलमा चार गोल गरेका छन् । युरोपियन फुटबलमा उनले मार्सेलो र इन्टर मिलानजस्तो प्रतिष्ठित क्लबबाट खेलेका छन् । 

म्यानुएल नुएर, जर्मनी
एक दशकदेखि म्यानुएलले जर्मन राष्ट्रिय टोलीको पोस्ट सम्हाल्दै आइरहेका छन् । उत्कृष्ट फर्ममा रहँदा उनीविरुद्ध गोल गर्नु सपनाजस्तै हो । म्यानुएलले कतार विश्वकपलाई अन्तिम बताइसकेका छन् । यसै महिना उनले भनेका थिए, ‘तपाईंलाई थाहा छैन, तर मलाई लाग्छ कि यो मेरो अन्तिम विश्वकप हुनेछ ।’ सन् २०१४ को विश्वकप विजेता अर्को विश्वकपमा ४० वर्ष हुनेछन् । उनले अर्को विश्वकप नखेल्ने अनुमान गरिँदै आएको छ ।