मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
शान्ता कमली नयाँ पत्रिका
२०७९ मङ्सिर ६ मंगलबार ०६:०५:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

काठमाडौं १, मनाङ र मुस्ताङमा कांग्रेस तथा ललितपुर २ मा एमाले विजयी

Read Time : > 4 मिनेट
२०७९ मङ्सिर ६ मंगलबार ०६:०५:००

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सोमबार मध्यरातीसम्म पाँच ठाउँको नतिजा आएको छ । प्रतिनिधिसभातर्फ कांग्रेसले तीन र एमालेले एक ठाउँमा तथा प्रदेशतर्फ कांग्रेसले चार स्थानमा जित हात पारेको छ । 

काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह एक सय २९ मतको झिनो अन्तरले विजयी भएका छन् । उनले सात हजार एक सय ४० मत ल्याएका हुन् । सिंहका निकटतम प्रतिद्वन्द्वी राप्रपाका रवीन्द्र मिश्रले सात हजार ११ मत प्राप्त गरेका छन् । ०७४ को निर्वाचनमा तत्कालीन साझा पार्टीबाट सिंहसँगै प्रतिश्पर्धामा रहेका मिश्र आठ सय १८ मतान्तरले पराजित भएका थिए ।

प्रतिनिधिसभातर्फ मनाङबाट टेकबहादुर गुरुङ र मुस्ताङबाट २९ वर्षीय योगेश गौचन विजयी भएका छन् । उनीहरू दुवै कांग्रेस उम्मेदवार हुन । एमालेले ललितपुर २ बाट खाता खोलेको छ । प्रतिस्पर्धी कांग्रेसका सुदीन शाक्यलाई ६ हजार १३९ मतको अन्तरले पछि पार्दै एमाले उम्मेदवार प्रेमबहादुर महर्जनले विजयी भएका छन् । मुस्ताङमा निवर्तमान एमाले सांसद ६१ वर्षीय प्रेमप्रसाद तुलाचनलाई ९१४ मतले पराजित गर्दै सत्तागठबन्धनबाट कांग्रेसका गौचन विजयी भए । त्यस्तै, मनाङमा कांग्रेसका गुरुङले एमालेका पोल्देन छोपाङ गुरुङलाई ३२८ मतान्तरले पछि पार्दै जित हात पारे । 

योगेशले तीन हजार नौ सय ९२ र तुलाचनले तीन हजार ७८ मत प्राप्त गरेका छन् । कांग्रेसलाई माओवादी र एकीकृत समाजवादीको समर्थन थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ८७ र राप्रपा नेपालका उम्मेदवारले १३ मत प्राप्त गरेको र ८८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १० हजार नौ सय ५७ मतदाता रहेको मुस्ताङमा सात हजार दुई सय ३० मत खसेको थियो ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश पूर्ववाणिज्यमन्त्री रोमी गौचन थकालीका छोरा हुन् । ०७४ मा आफ्नै बुबालाई पराजित गरेका तुलाचनलाई यसपटक योगेशले पराजित गरे । ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट उत्तीर्ण योगेश साबिक लेतेमा कांग्रेस गाउँ सभापति, कांग्रेस जिल्ला सदस्य हुँदै हाल गण्डकी प्रदेश सदस्य र महाधिवेशन प्रतिनिधिसमेत हुन् । उनले नेविसंघ र तरुण दलमा आबद्ध भई राजनीति गरेका थिए । उनले मुस्ताङमा होटेल र पोखरामा त्रिथुंगा ट्राभल्स एन्ड टुर्स प्रालि सञ्चालन गर्दै आएका छन् । 

मनाङबाट निर्वाचित गुरुङले गुरुङले दुई हजार पाँच सय ७५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पोल्देनले दुई हजार दुई सय ४७ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पोल्देन निवर्तमान सांसद हुन् । अघिल्लो निर्वाचनमा उनले कांग्रेसका टेकबहादुरलाई पराजित गरेका थिए ।

ललितपुर २ मा एमाले उम्मेदवार महर्जनले १५ हजार २५ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले आठ हजार आठ सय ८६ मत प्राप्त गरे । यो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका कृष्णलाल महर्जन चौथो भएका छन् । उनले आठ हजार दुई सय ६४ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले आठ हजार ६ सय ८६ मत ल्याएर तेस्रो भए । 

ललितपुर २ मा नयाँ दलका र स्वतन्त्र उम्मेदवारमा मत बाँडिँदा एमाले उम्मेदवारलाई फाइदा भएको देखिन्छ । हाम्रो नेपाली पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका दुई प्रभावशाली उम्मेदवारले आठ हजार धेरै मत कटाएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार दीपेशकुमार केसीले एक हजार तीन सय ९२ मत प्राप्त गरे । एमालेबाट विजयी महर्जन पार्टी विभाजन हुँदा नेकपा एकीकृत समाजवादीतर्फ लागेकोमा पछि एमालेमै फर्किएका थिए । 

प्रदेशतर्फ काठमाडौं ३ (क) मा कांग्रेसका छिरिङ दोर्जे लामा विजयी भएका छन् । उनी चार हजार पाँच सय ५८ मतसहित विजयी भएका हुन् । लामाका प्रतिश्पर्धी एमालेका चन्द्रमान लामाले तीन हजार चार सय १५ मत ल्याएका छन् । 

त्यस्तै, मुस्ताङ (क)बाट कांग्रेसका नम्डु गुरुङले निवर्तमान प्रदेश सभा सदस्यसमेत रहेका एमाले उम्मेदवार इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गरे । गुरुङले एक हजार ४८ र विष्टले सात सय ९३ मत प्राप्त गरेका थिए । लोमान्थाङ गाउँपालिका–३ किम्लिङको निवर्तमान वडाध्यक्ष रहेका गुरुङ गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा पराजित भएका थिए । उनी कांग्रेसका जिल्ला सदस्यसमेत हुन् ।

, मुस्ताङ (ख)बाट कांग्रेसकै विकल शेरचनले एमालेका चन्द्रमोहन गौचनलाई पराजित गरे । एमालेबाट समानुपातिकतर्फ प्रदेश सभा सदस्य भइसकेका गौचनलाई कांग्रेस जिल्ला सचिवसमेत रहेका शेरचनले एक सय ५८ मतान्तरले पराजित गरेका हुन् । घरपझोङ गाउँपालिका–४ जोमसोम घर भएका शेरचनले दुई हजार सात सय २३ मत ल्याउँदा गौचनले दुई हजार पाँच सय ६५ मत पाए । तरुण दलबाट राजनीति सुरु गरेका शेरचनले करिब १० वर्ष कोरिया बसाइका क्रममा जनसम्पर्क समितिमार्फत कांग्रेसको राजनीतिलाई निरन्तरता दिएका थिए । 

मनाङ ‘क’ मा पनि कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित भएका छन् । प्रदेश सभा ‘ख’ मा भने स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दिपक मनाङे) निर्विरोध भएका थिए । कुल मतदाता ६ हजार सात सय ७९ रहेको  मनाङमा चार हजार आठ सय ४५ मत खसेको थियोे ।

गुरुङ स्वतः निलम्बनमा पर्ने 
मनाङबाट प्रतिनिधिसभामा विजयी टेकबहादुर गुरुङ संसद् छिर्न भने पाउनेछैनन् । उनीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा विशेष अदालतमा विचाराधीन छ । भ्रष्टाचार निवारण ऐनमा सार्वजनिक पद धारण गरेका व्यक्तिमाथि भ्रष्टाचार मुद्दा परेमा स्वतः निलम्बित हुने प्रावधान छ । सोहीअनुसार उनी निलम्बनमा पर्नेछन् । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ मा मुद्दा दायर भएको अवस्थामा कुनै पनि राष्ट्रसेवक स्वतः निलम्बनमा पर्ने उल्लेख छ । सोही प्रावधानअनुसार गुरुङ स्वतः निलम्बनमा पर्ने अख्तियारका एक अधिकारी बताउँछन् । भ्रष्टाचार मुद्दा खेपिरहेका व्यक्ति उम्मेदवार हुन पाउने तर जिम्मेवारी सम्हाल्न नपाउने कानुनी व्यवस्था छ । 

भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को जग्गा मिलेमतोमा लिजमा लिएर अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ माघ ०७५ मा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । सो मुद्दा दायर भएसँगै उनको कम्पनी काठमाडौं फनपार्कसँगको लिज सम्झौता रद्द गर्ने निर्णय भए पनि अहिलेसम्म उनले नै सञ्चालन गर्दै आएका छन् । अदालतको आदेशका आधारमा उनले फनपार्क चलाउँदै आएका छन् । ६५ रोपनी जग्गा रोपनीको मासिक १० हजारका दरले लिजमा लिएर चलाउँदै आएका छन् । सोे भ्रष्टाचार मुद्दा अझै फैसला हुन सकेको छैन । फैसलापछि सफाइ पाएमा मात्र उनले सांसदको जिम्मेवारी सम्हाल्न पाउनेछन् । 

यसअघि मुद्दा खेपिरहेका व्यक्तिहरू स्थानीय तहमा निर्वाचित हुँदा पनि उनीहरूले कार्यभार सम्हाल्न पाएका छैनन् । मुद्दा खेपिरहेका व्यक्तिलाई कार्यभार सम्हाल्नबाट रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै पत्राचार गरेको थियो ।

युवा माननीयको स्थानीयदेखि राष्ट्रिय मुद्दामा सशक्त भूमिका खेल्ने प्रतिबद्धता
निर्वाचित तीनैजना ४० वर्षमुनिका युवा भएकाले पनि यसपटकको निर्वाचनमा मुस्ताङले देशभरको ध्यान तानेको छ । नवनिर्वाचित सांसदहरूले मुस्ताङको विकास र समृद्धिसँगै समग्र मुलुकका विद्यमान समस्याको निराकरण गर्न संसद्मा सशक्त भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनालाई पूर्णता दिने, कोरला नाकालाई नियमित सञ्चालनमा ल्याउनेदेखि मुस्ताङलाई पर्यटनको हब बनाउने एजेन्डालाई प्राथमिकता दिने उनीहरूको भनाइ छ । 

प्रतिनिधिसभा सदस्यमा निर्वाचित गौचनले कोरला नाका सञ्चालनका लागि कूटनीतिक पहल गर्ने, आवश्यक पर्ने पूर्वाधार निर्माण गर्ने, छुसाङदेखि नाकासम्म ग्राभेल सडकलाई स्तरोन्नति गर्दै कालोपत्रे गर्ने, जिल्लाभित्र आमनागरिकको मागबमोजिमको सडक, पुल, खानेपानी, शिक्षा, स्वास्थ्यका पूर्वाधार र सुविधाको पहुँच विस्तार गर्दै मुस्ताङलाई देशकै प्रमुख पर्यटकीय गन्तव्य बनाउने विषय आफ्नो प्राथमिकतामा पर्ने बताए ।

ललितपुर २ मा २१ घन्टामै सकियो मतगणना

देशैभर मतगणनामा ढिलाइ भइरहेका वेला ललितपुर २ मा भने प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २१ घन्टाभित्रै नतिजा सार्वजनिक गरिएको छ । सोमबार बिहान १ बजेदेखि प्रतिनिधि सभाको प्रत्यक्षतर्फ गणना सुरु भएकोमा बेलुका १० बजे अन्तिम नजिता आएको हो । सो क्षेत्रकी निर्वाचन अधिकृत दीपशिखा मुनकमीका अनुसार छिटो नजिता ल्याउने लक्ष्यसहित चार ठाउँमा मतगणना गरिएको थियो । ‘आइतबार बिहानदेखि निरन्तर हामी खटिएर छिट्टै निर्वाचन नजिता ल्याउन सफल भयौँ,’ उनले भनिन् । यो क्षेत्रमा ५२ हजार नौ सय २५ मत खसेकोमा ५१ हजार तीन सय ५५ मत सदर भएको निर्वाचन अधिकृत मुनकमीले बताइन् । 

ललितपुर २ मा एमाले उम्मेदवार महर्जनले १५ हजार २५ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले आठ हजार आठ सय ८६ मत प्राप्त गरे । यो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका कृष्णलाल महर्जन चौथो भएका छन् । उनले आठ हजार दुई सय ६४ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले आठ हजार ६ सय ८६ मत ल्याएर तेस्रो भए । ललितपुर २ मा नयाँ दलका र स्वतन्त्र उम्मेदवारमा मत बाँडिँदा एमाले उम्मेदवारलाई फाइदा भएको देखिन्छ । हाम्रो नेपाली पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका दुई प्रभावशाली उम्मेदवारले आठ हजार धेरै मत कटाएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार दीपेशकुमार केसीले एक हजार तीन सय ९२ मत प्राप्त गरे । एमालेबाट विजयी महर्जन पार्टी विभाजन हुँदा नेकपा एकीकृत समाजवादीतर्फ लागेकोमा पछि एमालेमै फर्किएका थिए ।