मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ मङ्सिर ५ सोमबार १०:४३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बैतडीमा जिप दुर्घटना हुँदा चार प्रहरीको मृत्यु, नौ जना घाइते (अपडेट) 

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर ५ सोमबार १०:४३:००

बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेका छन् । मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेश साउँद र विर्खबहादुर विष्ट रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । लोकबहादुर, रमेश र विर्खबहादुरको घटनास्थलमै मुत्यु भएको हो भने अर्जुनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।

दुर्घटनामा परेर आठ जना प्रहरी र एक चालक घाइते भएका छन् । घाइते हुनेमा प्रहरी हवल्दार गणेश खड्का, प्रहरी सहायक हवल्दार गोपालबहादुर पाल, प्रहरी जवान पुतली खड्का, प्रहरी जवान नरेश कठरिया, आशा धामी, भानु विष्ट, टीकेन्द्र ऐरी, चन्द्रसिंह ठगुन्ना र चालक देवराम महर रहेका छन् ।

घाइतेमध्ये गणेश र पुतलीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर पठाइएको प्रजिअ पन्थीले जानकारी दिए । अन्य घाइतेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।  

उपचाररत नरेश, आशा र देवरामको अवस्था पनि गम्भीर रहेकाले उनीहरूलाई पनि थप उपचारका लागि हेलिकप्टरमार्फत पठाउने तयारी भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । प्रहरी बोकेको से१ज ८५४ नम्बरको जिप आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–४ निङ्लाडी खोला भन्ने स्थानमा दुर्घटनामा परेको थियो । जिपमा १२ प्रहरी र एक चालक गरी १३ जना सवार थिए ।  

जिल्ला सदरमुकाममा मतपेटिका पुर्‍याएर पाटन फर्कंदै गरेको प्रहरी टोली सवार जिप बिहान ७ बजे दुर्घटनामा परेको हो । जिप सडकबाट करिब तीन सय मिटर तल खोलामा खसेको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ । घटनाकोबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।