मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २ शुक्रबार ०७:४२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मौन अवधिमा हुने चलखेल रोक्न मोबाइल अफिसर परिचालन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २ शुक्रबार ०७:४२:००

संवेदनशील मतदानस्थलमा सेनाले हवाई गस्ती गर्ने, सीमादेखि निर्वाचन कार्यालयसम्मको सुरक्षामा सशस्त्र प्रहरी

मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन र मतदातालाई प्रभावित पार्ने गतिविधि रोक्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत मोबाइल अफिसर खटाएको छ । अनुगमनस्थलमै कारबाही गर्न सक्ने अधिकारसहित मोबाइल अफिसर खटिएका हुन् । 

प्रमुख जिल्ला अधिकारी (सिडिओ) सबै ठाउँमा पुग्न नसक्ने भएकाले सिडिओबाट अधिकार प्रत्यायोजन भई मोबाइल अफिसर खटाइएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए । ‘प्रमुख जिल्ला अधिकारीहरूले आवश्यकताअनुसार निजामती कर्मचारीलाई मोबाइल अफिसरका रूपमा खटाउन सक्छन्,’ उनले भने, ‘यसरी खटिनेले अन द स्पट कारबाही गर्न सक्ने अधिकार छ ।’ एक निर्वाचन क्षेत्रमा एक मोबाइल अफिसर खटिने उनको भनाइ छ । 

मौन अवधिमा चुनाव प्रचारप्रसार गर्न पाइन्न । तर, कतिपय उम्मेदवारले गोप्य रूपमा प्रचार गर्ने र मतदाता प्रभावित पार्ने गतिविधि विगतमा भएका छन् । यसलाई दोहोरिन नदिन मौन अवधिको आचारसंहिता पूर्ण रूपमा पालना गर्न निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ । 

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले मौन अवधिमा अझ बढी संवेदनशील र तटस्थ भई खटिन मातहतलाई बुधबार निर्देशन दिएका थिए । मौन अवधिमा हुन सक्ने चुनावविरोधी गतिविधिमा कडाइ गरी निष्पक्ष चुनाव हुने वातावरण बनाउन उनले देशभरका प्रहरीलाई निर्देशन दिएका छन् । सुरक्षाका दृष्टिकोणले मौन अवधिलाई संवेदनशील मानिन्छ । चुनावविरोधी समूहले पनि गतिविधि गर्न सक्ने भएकाले उनीहरूमाथि प्रहरीले निगरानी बढाएको छ । 

निर्वाचनलाई निष्पक्ष गराउन मौन अवधिमा प्रहरीको महत्वपूर्ण भूमिका हुने पूर्वएआइजी राजेन्द्रसिंह भण्डारी बताउँछन् । ‘मौन अवधि भनिए पनि यो सक्रिय अवधि हो, यसमा अनेक हथकण्डा हुन्छन्,’ उनले भने, ‘यो अवधिमा राज्यशक्तिको दुरुपयोग हुन सक्छ । प्रहरी प्रशासनलाई आफ्नो पक्षमा पार्न सक्छन् । सरकारबाट गोप्य निर्देशनहरू जारी हुन सक्छ । त्यसकारण खासगरी प्रहरीले निष्पक्ष भूमिका भूमिका खेल्नुपर्छ ।’ यो अवधिमा आममतदाता पनि सचेत हुनुपर्ने उनको भनाइ छ । 

सुरक्षाका दृष्टिकोणले अति संवेदनशील मतदानस्थलमा निर्वाचनको दिन नेपाली सेनाले हवाई गस्ती गर्ने भएको छ । सरकारले बनाएको निर्वाचन सुरक्षा योजनाअनुसार त्यसका लागि सरकारले नेपाली सेनालाई जिम्मेवारी दिएको छ । 

निर्वाचनमा ३४ हजार ८३८ सशस्त्र प्रहरी खटिए

निर्वाचनमा ३४ हजार ८३८ सशस्त्र प्रहरी खटिएका छन् । निर्वाचनमा जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयको सुरक्षा विशेष जिम्मेवारी छ । यसबाहेक सीमा सुरक्षा पनि सशस्त्रकै जिम्मेवारीमा छ ।

बिहीबार रातिदेखि भारतसँगका सबै नाका बन्द भएकाले नाकामा निगरानीको जिम्मेवारी सशस्त्र प्रहरीको काँधमा छ । यो जिम्मेवारीका लागि सबै नाकामा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी)बाट परिचालन भएको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी पुरुषोत्तम थापाले बताए ।

निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरीले रिजर्भ फोर्स र क्युआरटी पनि खटाउने योजना बनाएको छ । ‘निर्वाचनलाई शान्तिपूवर्क सम्पन्न गराउन सशस्त्र प्रहरी योजनाबद्ध रूपमा परिचालित छ,’ प्रवक्ता थापा भन्छन्, ‘सीमा सुरक्षादेखि मतपेटिका सुरक्षासम्मको जिम्मेवारीमा हामी खटिएका छौँ ।’

७४ हजार ८४९ सैनिक परिचालन

सेनाले तीन ठाउँमा हवाईजहाज चौबिसै घन्टा तयारी अवस्थामा राखेर निर्वाचनको सुरक्षामा सघाइरहेको छ । सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार इटहरी, पोखरा र सुर्खेतमा निर्वाचनको सुरक्षालगायत कामका लागि हेलिकोप्टर राखिएको छ । आवश्यकअनुसार काठमाडौं, बर्दिबास, धनगढीलगायत क्षेत्रमा पनि राखिने उनको भनाइ छ । 

सहायक रथी नारायण सिलवाल प्रवक्ता, नेपाली सेना
सेनाले इटहरी, पोखरा र सुर्खेतमा निर्वाचनको सुरक्षालगायत कामका लागि चौबीसै घन्टा तयारी अवस्थामा हेलिकोप्टर राखेको छ । आवश्यकअनुसार काठमाडौं, बर्दिबास, धनगढीलगायत क्षेत्रमा पनि राखिने छ । 

सरकारले दिएको म्यान्डेटअनुसार निर्वाचनको दिन सेनाले अति संवेदनशील रहेका मतदानस्थलमा हवाई गस्ती गर्ने प्रवक्ता सिलवालले बताए ।  निर्वाचनमा ७४ हजार ८४९ सैनिक खटिएका छन् । कुनै पनि मतदानस्थलमा ३० मिनेटभित्र पुग्न सक्ने गरी सेनालाई निर्वाचनमा परिचालन गरिएको सैनिक प्रवक्ता सिलवालले बताए । कुनै स्थानको सुरक्षा अवस्था प्रहरीको नियन्त्रणबाहिर गएको अवस्थामा सेना मतदानस्थलको सुरक्षामा खटिनेछ । 

अन्य अवस्थामा सेनाको भूमिका निर्वाचनमा ब्याकफोर्सका रूपमा हुनेछ । सेनाले निर्वाचनलक्षित सुरक्षा गस्ती भने ४ कात्तिकदेखि नै गर्दै आएको छ । साथै यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएको विमानस्थल, कारागार तथा महत्वपूर्ण संरचनाको सुरक्षामा पनि सेना खटिएको छ । यस्ता एक सय ११ स्थानमा सेनाले सुरक्षा जिम्मेवारी लिएको छ । विगतमा गस्ती तथा पेट्रोलिङ गर्दा सशस्त्र र सेनाको एकै ठाउँमा हुने गरेकोमा यसपटक गृह मन्त्रालयले दोहोरोपन नहुने गरी सुरक्षा योजना बनाएको छ ।