मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कमल खत्री म्याग्दी
२०७९ मङ्सिर १ बिहीबार १६:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उम्मेदवारको पक्षमा मत माग्ने म्याग्दीका एक मतदान अधिकृत जिम्मेवारीमुक्त

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
२०७९ मङ्सिर १ बिहीबार १६:५४:००

म्याग्दीका एक मतदान अधिकृतलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिम्मेवारीमुक्त गरेको छ। धवलागिरि गाउँपालिका– ५ मलम्पारको महेन्द्र आधारभूत विद्यालयका मतदान अधिकृत नवीन कार्कीलाई बिहीबार जिम्मेवारीबाट हटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कार्कीले बिहीबार बिहान प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई मतदान गरेर जिताउन अपिल गरिएको डिजिटल पोस्टर आफ्नो फेसबुक पेजमा सेयर गरेका थिए।

कार्कीको फेसबुकको स्क्रिनसर्टसहित माओवादी केन्द्रका प्रतिनिधिले मुख्य निर्वाचन अधिकृतको कार्यालयअन्तर्गतको जिल्ला आचारसंहिता अनुगमन समितिलाई उजुरी दिएका थिए। उजुरीको आधारमा कार्कीलाई कार्यालयले लिखित स्पष्टीकरण मागेको थियो। कार्कीले मानवीय भुलका कारण सेयर, लाइक गरेको र तत्काल हटाएको स्वीकार गरेका थिए।

आचारसंहिता अनुगमन समितिको बैठकबाट कार्कीलाई मतदान अधिकृतबाट जिम्मेवारीमुक्त गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताए। कार्कीलाई हटाएपछि सोही केन्द्रका सहायक मतदान अधिकृत विष्णुप्रसाद पौडेललाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ। मालिका गाउँपालिका– ४ को ओखरबोट माविका प्रअ रहेका कार्कीले निर्वाचन र मतदान अधिकृतको आचारसंहिताविपरीतको कार्य गरेपछि जिम्मेवारीबाट हटाइएका हुन्।