मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १ बिहीबार ०८:२७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चुनावी हिंसा बढ्न थाल्यो : निर्वाचनविरोधीमाथि कठोर हुन सुरक्षाकर्मीलाई निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १ बिहीबार ०८:२७:००

मतदानको दिन नजिकिँदै गर्दा चुनावी हिंसाका घटना बढ्न थालेका छन् । चुनावविरोधी समूहले विस्फोटलगायत आपराधिक गतिविधि सुरु गरेका छन् भने दलहरूबीच समेत झडपको स्थिति बन्न थालेको छ । 

भोजपुर र नेपालगन्जमा बुधबार विस्फोट भएका छन् भने रामेछापका केही स्थानमा शंकास्पद वस्तु फेला परेको छ । यस्तै, चुनावी झडपका घटना पनि हुन थालेका छन् । बुधबार नै चितजवमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ । सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको गाडीमा तोडफोड भएको थियो । दार्चुला, गोरखालगायतका जिल्लामा प्रतिस्पर्धी दलका कार्यकर्ताबीच झडप भएका छन् । 

हिंसा बढेपछि प्रहरी प्रधान कार्यालयले चुनावविरोधी समूहमाथि कठोर रूपमा प्रस्तुत हुन निर्देशन दिएको छ । यसअघि प्रहरीले चुनावविरोधी गतिविधिमा संलग्नलाई पक्राउ गरी केही घन्टा थुनामा राखेर छाड्ने ‘नरम’ नीति लिएको थियो । विस्फोट नै गराउन थालेपछि उनीहरूमाथि अब कडा नीति लिन मातहतका प्रहरीलाई निर्देशन भएको छ । एक उच्च प्रहरी अधिकारीका अनुसार चुनावविरोधी दल तथा समूहमाथि नरम नबन्न निर्देशन दिइएको छ । 

प्रहरी प्रवक्ता टेकप्रसाद राई झडप र विस्फोटका फाट्टफुट्ट घटना मात्र भएको र सुरक्षा अवस्था सामान्य नै भएको बताउँछन् । तर, चुनावविरोधी गतिविधिविरुद्ध भने प्रहरीले आक्रामक शैली अपनाउने उनी बताउँछन् । त्यस्ता समूह र व्यक्तिमाथि प्रहरीको निगरानीसमेत रहेको उनी बताउँछन् । भयरहित वातावरणमा निर्वाचन गराउन प्रहरी योजनबद्ध रूपमा परिचालन भएको उनको भनाइ छ । 

यो समय प्रहरीको परीक्षाको घडी हो : प्रहरी महानिरीक्षक सिंह
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले निर्वाचनको सुरक्षा चुनौतीलाई औँल्याई त्यसको निराकरण गर्ने उपाय अवलम्बन गर्दै अझ बढी सक्रिय भई निर्वाचनअनुकूल वातावरण बनाउने गरी काम गर्न निर्देशन दिएका छन् । निर्वाचन नेपाल प्रहरीको परीक्षाको घडीको रूपमा रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीलाई अब्बल साबित गर्ने गरी काम गर्न कार्यालय प्रमुखहरूले मातहतका प्रहरी कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउन भर्चुअल ब्रिफिङमार्फत निर्देशन दिएका छन् । 

मौन अवधिमा निर्वाचन बिथोल्ने क्रियाकलाप अझ बढी हुन सक्ने उल्लेख गर्दै यस्ता चुनौतीको सामना गर्न प्रहरी कर्मचारीहरू उच्च सतर्कता र अझ बढी संवेदनशील भएर निर्वाचन सुरक्षामा केन्द्रित हुनुपर्ने उल्लेख गरे । 

तीन अवस्थामा आदेशविना नै गोली चलाउने अधिकार 
निर्वाचनमा खटिएका सुरक्षाकर्मीले तीन अवस्थामा माथिल्लो निकायबाट आदेशविना नै गोली चलाउन सक्ने अधिकार सरकारले दिएको छ । आफ्नो सुरक्षा, निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षा, मतपत्र र मतपेटिकाको सुरक्षामा खतरा उपन्न हुने अवस्थामा फिल्डमा खटिएका सुरक्षकर्मीले गोली चलाउन माथिल्लो निकायको आदेश नचाहिने परिपत्र भएको छ ।