मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
प्रा. डा. राजकुमार पोखरेल
२०७५ पौष ९ सोमबार ०७:५०:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

इतिहास विषयमा विद्यार्थीको न्यून चासो किन ?

Read Time : > 2 मिनेट
प्रा. डा. राजकुमार पोखरेल
२०७५ पौष ९ सोमबार ०७:५०:००

विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र तहको अध्ययन विस्थापित भएपछि सो स्तरमा इतिहास विषयलाई जबर्जस्ती बन्ध्याकरण गरियो
अहिले नेपाली सञ्चार माध्यममा विश्वविद्यालयमा इतिहास विषयमा विद्यार्थी प्रायः शून्य रहेको विषयले चर्चा पाएको छ । तर, सो विषयमा विद्यार्थी न्यून हुनुको वास्तविक कारणतर्फ भने कसैको चासो गएको देखिन्न । ०४७ मा त्रिभुवन विश्वविद्यालयअन्तर्गत मेची बहुमुखी क्याम्पसमा इतिहास विषयमा प्राध्यापन गर्न प्रवेश गर्दा पंक्तिकारले दिनको ६ वटा कक्षा ३ सिफ्टमा गरेर लिने गरेको थियो । कालान्तरमा कक्षामा एक–दुई विद्यार्थी हुँदै पद्मकन्या क्याम्पसमा ०६४ देखि ०६९ सम्म एउटै कक्षा पनि नलिई बिताउनुप-यो । 

इतिहास अध्ययनमा रुचि घट्नु मुलुकका लागि शुभसंकेत होइन । आफ्नो देश र देशको विगतलाई चिनाउने विधा नै इतिहास हो । जसले देश बुझ्दैन वा देशबारे जानकारी राख्दैन, उसलाई देशको माया हुँदैन । मुलुकको सार्वभौम जनताबाट इतिहासको जानकारी अभावमा सार्वभौमिकता रक्षा र अखण्डतालाई मजबुत बनाइराख्न सम्भव छैन । यो दीर्घकालीन संवेदनालाई राज्यले बुझ्न नसक्दा मुलुक भड्खालोमा पर्ने प्रस्ट देखिन्छ । यस विषयप्रतिको उदासीनताका कारण केलाउँदा निम्न तत्व जिम्मेवार रहेको पाइन्छ :

राज्यको नेतृत्वलाई इतिहास विषयको महत्व र यसको क्षयीकरणमा राज्यले भविष्यमा भोग्नुपर्ने सम्भावनाका विषयमा विश्वविद्यालयले कहिल्यै सजग र सचेत गराएन

राज्यको नीति : इतिहास विषय अध्ययनको संवेदनशीलतालाई राज्यले स्विकार्न सकेन । कक्षा ११ तथा १२ मा इतिहास विषय राखिएकै छैन । सरकारीस्तरमा विश्वविद्यालयमा प्रवीणता प्रमाणपत्र तहको अध्यापन स्थगित भएपछि सो स्तरमा इतिहास विषयलाई जबर्जस्ती बन्ध्याकरण गरियो । त्यसेैले स्नातक तथा स्नातकोत्तर तहमा विद्यार्थीले इतिहास विषय चयन गर्नै भुल्न थाले । पहिले लोकसेवा आयोगमा इतिहास विषयको छुट्टै पेपरको परीक्षा दिनुपथ्र्यो । जसले गर्दा इतिहास विषयको आकर्षण बढी नै थियो । तर, अहिले त्यस्तो बाध्यकारी प्रावधान नहुँदा सो विषय पढ्न जरुरी नै ठानिएन । ०४७ को राजनीतिक परिवर्तनपछि देशमा देशभक्तिभन्दा पनि पार्टी र नेताभक्तिको विकासले पनि इतिहास विषयप्रतिको अरुचि बढ्दै गएको देखिन्छ ।

विश्वविद्यालयको भूमिका : राज्यको नेतृत्वलाई इतिहास विषयको महŒव र यसको क्षयीकरणमा राज्यले भविष्यमा भोग्नुपर्ने सम्भावनाका विषयमा विश्वविद्यालयले पनि कहिल्यै सजग र सचेत गराएन । विषयप्रतिको अरुचिलाई हटाउन विश्वविद्यालयले गर्नुपर्ने पहल कहिल्यै र कुनै नेतृत्वले पनि गरेन । विषयको विकास र अध्ययन अध्यापनलाई महŒवसाथ हेरेर उठाउन ऊर्जा प्रदान गर्नुभन्दा विद्यार्थी घटेको प्रचार गरी सम्बन्धित पक्षलाई अध्ययनमा जान निरुत्साहित गर्ने काम गरियो । इतिहासजस्तो विश्वविद्यालयको आदिकालीन विषयमा विद्यार्थी संख्या काम हुन थालेपछि मातहतका डिन र विज्ञसँग बसेर कहिल्यै छलफल गरिएन । हिजोआज त उपकुलपतिबाटै इतिहासमा विद्यार्थी नभएका कारण अर्को विषयमा गाभिदिने प्रचार हुन थालेको छ । इतिहास कुन विषयमा गाभिने हो ? इतिहासका प्राध्यापकले सम्हाल्ने अर्को विषय कुन हुने हो ? यसको विनाशले राष्ट्र र समाजमा के प्रभाव पार्छ भन्ने कतै नसोची विषय गाभ्ने चर्चा गर्नु कति सान्दर्भिक र बुद्धिमत्तापूर्ण होला ? 

सम्बन्धित अध्यापक तथा डिनको भूमिका : विषयप्रति अरुचि बढ्दै गएकोमा सम्बन्धित डिन, विभागीय प्रमुख वा विषयविज्ञ प्राध्यापक, कसैले पनि आजका दिनसम्म चासो र चिन्ता जाहेर गरेको पाइँदैन । यसै विषयका प्राध्यापक लामो समयसम्म डिनको कुर्सीमा बसेर जाँदा पनि विषयको अधोगतिबारे चासो राखेर त्यसको उन्नतिका निम्ति ठोस प्रयत्न गरेको भेटिएन । सम्बन्धित विषय समिति वा केन्द्रीय विभागले पनि ठोस प्रयत्न गरेको देखिएन । बरु कक्षा नहुँदा नपढाई विश्वविद्यालयबाट तलब खानुमै हाम्रो प्रयत्न रह्यो । अध्यापनको बाटोबाट बरालिँदा अनुसन्धानतिर चासो राख्न पनि हामीले छाड्यौँ । अन्य विषयमा जति मिहिनेत गर्दा परीक्षामा अंक पाइन्छ, इतिहासमा त्योभन्दा धेरै घटाएर अंक दिनुलाई हाम्रा अग्रजले गर्व ठाने । आजको विश्व प्रतिस्पर्धामा जानुपर्ने समयमा हाम्रा अग्रजले परीक्षामा गरेको कन्जुस्याइँको परिणाम पनि हो आजको विद्यार्थीको उदासीनता । 

उल्लिखित घटना त प्रतिनिधिमूलक मात्र हुन् । यस्ता अन्य धेरै कारण छन्, जसले विद्यार्थीलाई इतिहास विषयप्रतिको मोहबाट टाढा पु-यायो । अहिलेको वर्षमा आएर त्रिभुवन विश्वविद्यालय इतिहास केन्द्रीय विभागले विद्यार्थीको संख्या वृद्धिमा केही चासो राखेको छ । विभागले इतिहास विषय अध्ययन गर्र्नुको अर्थ केवल राजा–महाराजाको जीवनी पढ्नु मात्र हो भन्ने भ्रमबाट मुक्त पार्न आफूमा भएको कूटनीतिक तथा अन्तर्राष्ट्रिय इतिहास, मौखिक, जनजातीय, प्रशासनिक, कानुनी, आर्थिक, सामाजिक, संग्राहलयीय, सैनिक इतिहासजस्ता विषयका साथै जनता र भूगोलकोसमेत इतिहास यस विषयमैे पढ्नुपर्छ भन्ने जानकारी सबैमा दिने प्रयास गरिरहेको छ । रोजगार विद्यार्थीको समस्यालाई मध्यनजर राखी प्रातकालीन कक्षाको व्यवस्थापन गरिएको छ । विभागको यो सानो प्रयत्नमा विश्वविद्यालय प्रशासन तथा राज्य सरकारबाट कत्तिको प्रोत्साहन मिल्ला, यो भने हेर्न बाँकी नै छ । विषयको आवश्यकता र गाम्भीर्यलाई ध्यानमा राखी उल्लिखित मूल कमजोरी र गल्तीमा सुधार ल्याउने गरी काम गर्ने हो भने न्यून विद्यार्थीको प्रचार फेरि गर्नुपर्ने अवस्था आउँदैन ।
(प्रा.डा. पोखरेल त्रिवि इतिहास केन्द्रीय विभागका प्राध्यापक हुन्)