१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ कार्तिक २९ मंगलबार १९:२६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नमुना निर्वाचन : विद्यार्थी नै उम्मेदवार, विद्यार्थी नै मतदाता

Read Time : > 1 मिनेट
२०७९ कार्तिक २९ मंगलबार १९:२६:००

मंगलबार बिहान ११ साढे ११ बजेको थियो। विद्यालयका प्रिन्सिपलले सम्पूर्ण मतदाताहरूलाई लाइनमा आउन आग्रह गरे। विद्यार्थीहरू सबै मतदाताको लाइनमा आए। एकतिर छात्राहरू र अर्कोतिर छात्रहरू मतदानका लागि लाइनमा बसे। आमनिर्वाचनमा मतदानस्थल जसरी व्यवस्थापन गरिएको हुन्छ, त्यसरी नै व्यवस्थापन गरियो। मतपत्र, स्वस्तिक छाप, मतपेटिकालगायतका सामग्री राखिएको थियो। 

प्रस्तुत दृश्य तुलसीपुर १८ स्थित न्यू स्टार माध्यमिक विद्यालयले गरेको नमुना मतदान थियो। कक्षा १० को सामाजिक किताबमा भएको निर्वाचन प्रक्रियासम्बन्धी पाठअनुसार विद्यार्थीहरूलाई निर्वाचनको शिक्षा दिन मतदानको कार्यक्रम नै आयोजना गरियो। कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरू त्यो मतदानको मतदाता थिए भने उनीहरूबाटै पार्टी बनाई उम्मेदवार बनाइएको थियो। 

चारवटा पार्टी त्यो चुनावमा सहभागी भए। त्यो प्रतिनिधिसभाको मात्रै निर्वाचन थियो। चारवटा पार्टीबाट ४ जना प्रत्यक्षका उम्मेदवार थिए भने चारवटै पार्टीबाट ७-७ जना समानुपातिक उम्मेदवार थिए। उनीहरूले सोमबार नै सबै मतदाता(विद्यार्थी)हरूसँग भोट मागे। उम्मेदवार अनिशा वली थिइन्। जम्मा खसेको ११७ मत मध्ये ११० मत मात्रै सदर भएको थियो। ७ मत भने बदर भए। सदर मतमध्ये वलीले ३७ मत ल्याएर विजयी भए। 

मतदान अधिकृतको जिम्मेवारीमा विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णुप्रसाद धिताल थिए। विद्यार्थीहरूलाई किताबी ज्ञान मात्रै प्रयोगात्मक ज्ञान आवश्यक पर्ने भन्दै आफूहरूले यसरी नमुना मतदान कार्य गरेको विद्यालयका प्रिन्सिपल शरण जिएमले बताए। 

‘विद्यार्थीहरूलाई किताबी ज्ञान मात्रैले पुग्दैन, प्रयोगात्मक ज्ञान पनि दिनुपर्छ,’ उनले भने, ‘निर्वाचन महत्वपूर्ण कुरा भएकाले हामीलाई यसलाई प्रयोगात्मक गरेका हौँ।’

अहिले मत बदर हुने समस्या धेरै भएकाले विद्यार्थी जीवनदेखि नै विद्यार्थीहरूलाई मतदान गर्न सिकाएमा मत बदर घट्न सक्ने भन्दै यो कार्य गरिएको उनको भनाइ छ। यसरी मतदान गर्न पाउँदा विद्यार्थीहरू पनि खुसी भएका छन्।

‘हामीले किताबमा घोक्ने मात्रै हुन्थ्यो,’ विद्यार्थी अनिशा रेग्मीले भनिन्, ‘तर, हामीले अहिले प्रयोगात्मक नै गर्दा धेरै कुरा बुझिएको छ, व्यवहारमा उतार्न सजिलो भएको छ।’