मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नगरपालिकाले जग्गा उपलब्ध गराउन नापी कार्यालयलाई दिएको सिफारिसपत्र देखाउँदै धमरु तिर्की ।
चिरञ्जीवी घिमिरे नयाँ पत्रिका
२०७९ कार्तिक २९ मंगलबार ०७:३८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चिया बगानका मजदुरले राजस्व तिरेको एक दशकमा पनि पाएनन् जग्गाधनी पुर्जा

Read Time : > 2 मिनेट
चिरञ्जीवी घिमिरे, नयाँ पत्रिका
२०७९ कार्तिक २९ मंगलबार ०७:३८:००

निर्वाचनको वेला मात्रै बन्ने एजेन्डा : पूर्वराजाको चिया बगानका मजदुरलाई जग्गा 

दमक–९ का ५५ वर्षीय धमरु तिर्कीको चार पुस्ताले पूर्वराजपरिवारको स्वामित्वमा रहेको हिमालय–महालक्ष्मी चियाबगानमा काम गर्‍यो । बुबा र हजुरबुबाले यही बगानमा हड्डी खियाउँदाखियाउँदै प्राण त्यागेको देखे । अहिले आफूसहित बुहारी सञ्चरिया पनि यही बगानमा मजदुर छन् ।

०१८ सालमा बगान स्थापना हुँदा उनको हजुरबुबालाई पूर्वराजपरिवारले काम गर्न ल्याएर राखे । धमरुको पुस्ताले जन्मसिद्ध नागरिकता पनि पायो । तर, उनीहरूको स्वामित्वमा भूमि भने छैन । भूमिहीन भएर उनको जीवन चलिरहेको छ । कैयौँपटक उनले निर्वाचनमा मत खसाले । ०६४ यताका सबै निर्वाचनमा बगानका मजदुरलाई जग्गा उपलब्ध गराउने भन्दै उम्मेदवारका एजेन्डा बनेका छन् । तर, निर्वाचनपछि उम्मेदवारले वाचा भुल्छन् । ‘चुनावमा सधैँ जग्गा दिन्छौँ भन्छन् । सकिएपछि त बिर्सिन्छन्, गाउँ नै छिर्दैनन्,’ धमरु भन्छन्, ‘अस्ति नगरपालिकाको चुनावमा पनि यस्तै भने । अहिले पनि जग्गाकै कुरा गर्दै आएका छन् ।’ 

जग्गै पाउने आश्वासन पाएका धमरुले प्रयोग गर्दै आएको जग्गाको नगरपालिकामा राजस्व पनि तिरे । चैत ०६९ मा जग्गा नापी हुने भन्दै उनलाई नगरपालिकाले दुई हजार र नापीले पाँच सय रुपैयाँ तिरायो । त्यो रसिद अहिले पनि धमरुसँग सुरक्षित छ । चैत ०६९ मा दमक नगरपालिकाले धमरुलाई भोग गरेको आधारमा दुई कठ्ठा जग्गा उपलब्ध गराउन नापीलाई सिफारिस पनि गर्‍यो । सिफारिसपत्र अहिले पनि उनले सुरक्षित राखेका छन् । तर, जग्गा भने पाएका छैनन् । ‘चुनावमा नारा बनाउनु छ । किन जग्गा दिन्छन् र !’ उनी भन्छन्, ‘जग्गा पाउने आस नै मरिसक्यो ।’ 

पूर्वराजपरिवारको यो बगानमा करिब ३१९ परिवार बस्छन् । बगानमा काम गर्ने मजदुरहरू बगानकै जग्गामा बस्दै आएका छन् । तर, उनीहरूसँग जग्गाको स्वामित्व छैन । आफैँ घर बनाएर बसे पनि उनीहरूसँग जग्गाधनी प्रमाणपुर्जा छैन । दलका नेता तथा कार्यकर्ता फेरि जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने आश्वासन दिएर भोट माग्दै बस्ती छिरेका छन् । 

धमरु तिर्की 

चुनावमा सधैँ जग्गा दिन्छौँ भन्छन् । सकिएपछि त बिर्सिन्छन्, गाउँ नै छिर्दैनन् । अस्ति नगरपालिकाको चुनावमा पनि यस्तै भने । अहिले पनि जग्गाकै कुरा गर्दै आएका छन् ।

अधिकांश मजदुरको तीन पुस्ता यही बगानमा बित्यो । बगानको स्वामित्वमा करिब ६१६ बिघा जग्गा छ । जसमध्ये ५७६ बिघाको जग्गाधनी प्रमाण पुर्जा छ । दमक वडा नम्बर ४ र ९ मा बगान फैलिएको छ । बगानले पनि उनीहरूलाई जग्गा दिने पटक–पटक आश्वासन दिँदै आएको छ । ०६९ सालमा दमक नगरपालिकाको बोर्ड बैठकले प्रत्येक परिवारलाई दुई कठ्ठाका दरले जग्गा उपलब्ध गराउन नापीलाई सिफारिस गरेको छ । बगान व्यवस्थापन पक्षले पनि प्रत्येक परिवारलाई दुई कठ्ठा जमिन दिने सहमति जनाएको छ । यद्यपि, एक दशकसम्म निर्णय कार्यान्वयन नहुँदा बगानका मजदुरले जग्गा पाउने विषय चुनावी मुद्दा मात्र बन्दै आएको छ । ‘पाँच वर्षअघिको चुनावमा केपी ओलीले यहीँ आएर छाती पिटीपिटी, अम्ला ठड्याएर एक वर्षभित्र जग्गा उपलब्ध गराउँछु भनेका थिए । जितेर प्रधानमन्त्री पनि भए । हाम्रो मुद्दा नै बिर्सिए,’ बगानकी मजदुर गायत्रा घिमिरेले भनिन्, ‘फेरि चुनाव आएको छ । नेताहरू फेरि जग्गाकै कुरा लिएर आएका छन् । मलाई केपी ओलीलाई भेटेर त्यो वेला बोलेको किन बिर्सनुभयो भनेर सोध्न मन छ ।’ 

मिलियानी उराँव र उनका श्रीमान् सुजित पनि यही बगानका मजदुर हुन् । मिलियानीका श्रीमान्को तीन पुस्ताले यही बगानमा काम गरे । तर, अहिले पनि उनीहरू भूमिहीन भएर बसिरहेका छन् । बगानले जग्गा दिन्छ कि भन्ने आसमा उनको परिवार बसेको छ । ‘आफ्नो जग्गा नहुँदा निकै गाह्रो पर्ने रहेछ । केही गर्नका लागि ऋण निकाल्न धितो राख्नुपर्छ । यो जग्गा धितो राख्न मिल्दैन,’ उनी भन्छिन्, ‘आफ्नो जग्गा नहुँदा त धेरै गाह्रो हुँदोरहेछ । चुनावमा त भोट माग्न आउनेले सबै गर्दिन्छौँ भन्छन् । जितेर गएपछि बिर्सन्छन् ।’

चियाबगानकी मजदुर बबिता श्रेष्ठलाई प्रत्येक निर्वाचनमा उम्मेदवारले जग्गाको धनीपुर्जा उपलब्ध गराउने आश्वासन दिन्छन् । उनले पनि ०६९ मा नगरपालिका र नापी कार्यालयलाई जग्गा पाउने आसमा राजस्व तिरिन् । तर, जग्गा भने अझैसम्म पाएकी छैनन् । ‘दुःख गरेर कमाएको २५ सय तिरेको पनि दश वर्ष भयो । त्यो वेलामा जग्गा धनीपुर्जाको थाक लागेको छ भन्दै धनीपुर्जा देखाउँथे । पछि दिएनन्,’ बबिता भन्छिन्, ‘त्यसपछि पनि पटक–पटक सुकुमबासीको फारम पनि भराए । तिमीहरू अरू सुकुमबासीजस्तो हैन, जग्गा पाउँछौ भन्थे । खोइ दिएनन् ।’ 

मजदुरले जसोतसो बगानको जग्गाकै स्वामित्वमा रहेको जग्गामा घर बनाएका छन् । तर, जग्गा नदिएर यहाँबाट खेदाउने हो कि भन्ने चिन्ता पनि छ । ‘यत्रो वर्ष बगानमा काम गरियो । अब त जग्गा पाइएला कि भन्ने लाग्छ । तर, जग्गा पाइएन । बगानमा काम नगर्दा पनि यो ठाउँबाट निकाल्छन् भन्ने चिन्ता छ । बगानमा काम नगर्नेलाई यहाँ बस्न नदिने हल्ला छ,’ बबिताले भनिन्, ‘त्यही भएर वचन खाएर पनि काम गरिरहेका छौँ ।’

चुनावका वेलामा उम्मेदवारले घर–घरमा पुगेर जग्गा दिने भन्दै आश्वासन मात्र दिने गरेको बगानका विनोद उराँव बताउँछन् । यसपटकको निर्वाचनमा पनि उम्मेदवारहरू यही एजेन्डा लिएर बस्ती पसिरहेको उनको भनाइ छ । ‘यो ठाउँमा त हाम्रा बाजेहरूले झोडा फाँडेर बसेका हुन् । अहिलेसम्म जग्गाको धनीपुर्जा पाएका छैनौँ । यत्रो बस्दा त भोगचलन गरेकै आधारमा पाउनुपर्ने हो । दुई कठ्ठा त दिने भन्थे, अहिलेसम्म दिएका छैनन्,’ उनी भन्छन्, ‘चुनावका वेला आस देखाउँछन् । स्वार्थ पूरा गरेपछि गाउँ फर्किएर आउँदैनन् । यहाँ धेरै जन्मसिद्ध नागरिकता पाएका छोराछोरीले नागरिकता पाएका छैनन् । चुनावमा त नागरिकता र जग्गाको कुरा सधैँ उठाउँछन् ।’