मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवीन गुरुङ
२०७५ असार ६ बुधबार ११:३३:००
Read Time : < 1 मिनेट
प्रदेश

बर्खामा सडक अवरोध हुन नदिन माग

Read Time : < 1 मिनेट
नवीन गुरुङ
२०७५ असार ६ बुधबार ११:३३:००

संखुवासभाको टुटेदेउरालीदेखि नुम फ्याक्सिन्दासम्मको मुख्य सडक बर्खामा पनि विनाअवरोध सञ्चालन हुनुपर्ने नागरिक अगुवाले माग गरेका छन् । यो सडक राष्ट्रिय गौरवको कोसी–ल्हासा राजमार्ग जोगबनी—किमाथांका सडकअन्तर्गत पर्छ । जिल्लाको प्रवेशद्वार टुटेदेउरालीदेखि नुमको फ्याक्सिन्दासम्म १ सय ६५ किलोमिटर सडकखण्ड बर्खामा अवरोध हुन नदिन स्थानीयको माग छ ।

केही दिनअघि जिल्ला प्रशासन कार्यालय संखुवासभामा बसेको सर्वपक्षीय भेलामा नागरिक अगुवाले यस्तो माग राखेका हुन् । सरकारका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा नै जोगबनी–किमाथांका नाका तत्काल खोलिने बताउँदै दुई लेनको सडक दुई वर्षभित्र खोल्ने आश्वासन दिएका थिए । तर, स्थानीयस्तरमा टुटेदेउरालीदेखि नुमको फ्याक्सिन्दासम्म नै बर्खामा गाडी चल्न मुस्किल छ । फ्याक्सिन्दादेखि वरुण दोभानसम्म ट्र्याक खोलिए पनि बर्खामा ट्र्याक्ट्ररसमेत जान सक्ने स्थिति नभएको खाँदबारीका शेरबहादुर वनले बताए ।

सो सडकखण्डमा तत्काल यातायातका साधन चल्न सक्ने बनाउन प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतमले आग्रह गरे । समयभित्र काम नभए कानुनी कारबाही अघि बढाइने उनले चेतावनी दिए ।
सो सडकखण्ड अत्यन्तै बिग्रिएको भन्दै सरोकारवालाको समेत ध्यानाकर्षण भइरहेको प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले बताए ।

अन्य ग्रामीण सडकको अवस्था झन् नाजुक रहेको भन्दै लापरबाही गरेको स्थानीयको आरोप छ । सडक विभागले सडक फराकिलो पार्ने, स्तरोन्नतिको काम गर्नेजस्ता काम बर्खामा गर्दा सडक हिलाम्मे भएर आवतजावतमा समस्या भएको स्थानीयको गुनासो छ । उत्तर–दक्षिण कोसी सडक आयोजनाले मानेभन्ज्याङदेखि सेकाहा क्षेत्रमा सडक फराकिलो बनाउने काम गरिरहेको छ ।

यसले गर्दा सडक नै हिलाम्मे भएको छ । सडक र खानेपानीको समन्वय नहँुदा कब्दानेदेखि खाँदबारीसम्म सडकमा यत्रतत्र पाइप लाइन गाडिएको र पाइप जमिनमा त्यतिकै रहँदा समस्या देखापरेको उनीहरूको भनाइ छ ।