• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असोज १६ आइतबार १२:३१:००
फ्रन्ट पेज

दसैँको मुखमा विदेश अध्ययनमा जानेको लर्को

२०७९ असोज १६ आइतबार १२:३१:००

भक्तपुर सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमति शाखाबाट घटस्थापनायता दैनिक तीनदेखि चार सय विद्यार्थीले विदेश अध्ययनको अनुमतिपत्र (एनओसी) लिइरहेका छन् । दसैँ नजिकिए पनि तीनदेखि चार सय विद्यार्थीको भिड लागेको थियो । नवमी तथा टीकाको दिनसमेत विदेश अध्ययनमा जाने टिकट रहेको भन्दै विद्यार्थीहरूले एनओसी लिएका छन्। 

वैदेशिक अध्ययन अनुमति शाखा प्रमुख वासुुदेव वस्तीका अनुसार दैनिक एनओसी लिन आउने विद्यार्थीको संख्या ठूलो छ । उनका अनुसार बिहीबार मात्र तीन सय ९४ जनाले एनओसी लगेका थिए । एक सय ३४ जनाको आवेदन अस्वीकृत र दुई सय ४३ जनाको रद्द भएको छ । दसैँअघि सेवा सञ्चालन हुने अन्तिम दिन शुक्रबार दुई सय १३ जनाले एनओसी लगेका छन् भने ४७ जनाको अस्वीकार र एक सय ७७ जनाको रद्द भएको छ। 

दसैँअगाडि शुक्रबार मात्रै कार्यालय सञ्चालन हुने भएकाले प्रक्रिया पूरा गरेका सबैलाई एकैदिनमा एनओसी जारी गरेको थियो। 

बुधबार तीन सय ५१ विद्यार्थीले एनओसी लगेका थिए । सो शाखाले २४ देखि ४८ घन्टामा सेवा प्रदान गरेको छ । शाखा प्रमुख वस्तीले दैनिक दुई सयभन्दा बढीले सोही दिन नै एनओसी लगेको बताए । कागजात मिलेका विद्यार्थीको बढीमा ४८ घन्टाभित्र एनओसी वितरण गरेको उनको भनाइ छ।

दसैँअगाडि पनि उस्तै भिड भएपछि विद्यार्थीलाई समस्या नहोस् भनेर बेलुकी ६ बजेसम्म शाखाका कर्मचारीले सेवा दिएका छन् । नवमी तथा टीकाको दिनसमेत विदेश जाने टिकट रहेको भन्दै एनओसी लिएको उनको भनाइ छ । चाडपर्व नजिकै रहेको र चाडपर्वकै वेला पनि बाहिर जान चाहनेको संख्या धेरै रहेको, युवाहरूले करिअरमा जोड दिने गरेको पाइएको बस्तीको भनाइ छ। 

जापान, अस्ट्रेलिया र क्यानडा अध्ययनका लागि एनओसी लिनेको संख्या धेरै छ । अस्ट्रेलिया अध्ययनका लागि भिसा प्राप्त गर्नेको संख्या निकै कम छ । टेक्निकल र भोकेसनल अध्ययनमा जानेको भिसा झन्डै ९० प्रतिशत रिजेक्ट छ । युनिभर्सिटी तथा उत्कृष्ट कलेजमा जानेको भिसा प्रतिशत बढी छ।

अस्ट्रेलियामा भिसा पाउनेको संख्या कम भएपछि जापानका लागि आवेदन गर्नेको संख्या सबैभन्दा धेरै छ । शिक्षा मन्त्रालयका अनुसार भदौमा जापानका लागि चार हजार नौ सय ५१ जनाले एनओसी लगेका छन् । अस्ट्रेलियाका लागि एक हजार दुई सय ६२ जनाले एनओसी लगेका छन्।

 क्यानडा अध्ययनका लागि भदौमा एनओसी लानेको संख्या नौ सय १५ छ । बेलायतका लागि तीन सय ५७ जनाले एनओसी लगेका छन् । 

श्रमको गन्व्यका रूपमा चिनिएका देशमा समेत अध्ययनमा जाने संख्या बढेको छ । युएईमा भदौमा मात्र एक सय ८१, कोरियाका लागि एक सय ४१, कतारका लागि ६ जनाले एनओसी लगेका छन् । अमेरिका जान ६२ जनाले एनओसी लगेका छन्। 

अस्ट्रेलियामा भेट कोर्समा आवेदन गर्नेको भिसा अस्वीकृत उच्च

केही महिनाअघि अध्ययनका लागि सबैभन्दा धेरैले आवेदन गरेको र भिसासमेत प्राप्त गरेको अस्ट्रेलियामा अहिले सबैभन्दा धेरै रिजेक्सन भएको छ । उच्च शिक्षाका लागि आवेदन गर्नेको भिसा प्रतिशत केही बढी भए पनि भोकेसन एजुकेसन एन्ड ट्रेनिङ (भेट)मा आवेदन गर्नेको झन्डै ९० प्रतिशतको भिसा रिजेक्सन भएको छ। 

शैक्षिक परामर्श व्यवसायीका अनुसार अहिले अस्ट्रेलियामा भेटका कोर्स अध्ययन गर्न आवेदन दिनेको करिब १० प्रतिशत र उच्च शिक्षामा ५०–६० प्रतिशतको भिसा लागेको छ । भेट कोर्सका लागि भिसा लाग्ने दरमा निकै कम भएको छ भने उच्च शिक्षामा केही कमी देखिएको छ । कोभिडका कारण अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनका लागि जान रोकिएको अस्ट्रेलियामा खुलेसँगै ठूलो संख्यामा भिसा लागेको थियो। 

अस्ट्रेलियामा विद्यार्थीको भिसा लाग्ने दर कम भएपछि शिक्षा मन्त्रालयबाट एनओसी लिनेको संख्यासमेत घटेको छ । संख्या घटे पनि समग्रमा अस्ट्रेलिया अध्ययनका लागि एनओसी लिनेको संख्या धेरै छ । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार गत साउनमा सबैभन्दा बढी झन्डै चार हजारले अस्ट्रेलिया अध्ययनका लागि एनओसी लगेका छन् । अस्ट्रेलिया अध्ययनका लागि एउटा विद्यार्थीले एकभन्दा बढी एनओसीसमेत लिने गरेका छन्। 

गत साउनमा अस्ट्रेलियाका लागि चार हजार एक सय तीन, बेलायत नौ सय २६, अमेरिका सात सय ४३, क्यानडा ६ सय ४५, कोरियाका लागि दुई सय ६३ ले एनओसी लगेका छन् । अस्ट्रेलियाको बोर्डर खुलेपछि एकै दिन झन्डै १२ सयले एनओसी लगेका थिए । अहिले दैनिक तीन सयको हाराहारीमा एनओसी जारी भएका छन् । 

अघिल्लो आर्थिक वर्षमा एक लाख १४ हजार एनओसी जारी

आर्थिक वर्ष ०७८÷७९ मा शिक्षा मन्त्रालयबाट एक लाख १४ हजार चार सय २९ जनाले एनओसी लगेका थिए । गत आवमा वैदेशिक अध्ययनमा जाने विद्यार्थी संख्या र बिदेसिएको रकमले नयाँ रेकर्ड बनाएको थियो । दुई वर्ष कोभिडका कारण प्रभावित बनेको वैदेशिक अध्ययन सहज भएपछि चालू आर्थिक वर्षमा तेब्बरभन्दा बढीले एनओसी लगेका छन्। 

शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार चालू आवमा ६४ देशमा विद्यार्थीले अध्ययनका लागि अनुमतिपत्र लगेका छन् । १ साउन ०७८ देखि असार मसान्त ०७९ सम्म एक लाख १४ हजार चार सय २९ एनओसी जारी भएका छन्।

 ०७७/७८ मा २९ हजार चार सय ३२ एनओसी जारी भएका थिए । कुल एनओसी जारी भएकामध्ये आधाभन्दा बढी अस्ट्रेलियामा अध्ययनका लागि छन् । गत आवमा ६७ हजार बढीले एनओसी जारी भएका छन् । आव ०७७/७८ मा आकर्षक गन्तव्य जापान बनेको थियो । जापानका लागि आठ हजार एक सय ४६ र दोस्रो गन्तव्य अस्ट्रेलियाका लागि चार हजार आठ सय ४९ विद्यार्थीले एनओसी लिएका थिए । 

कुन वर्ष कतिले लगे नो अब्जेक्सन लेटर ?

आर्थिक वर्ष     विद्यार्थी संख्या
०६५/०६६            २४,८२४
०६६/०६७            २६,९१९
०६७/०६८             ११,९१२
०६८/०६९            १०,२५८
०६९/०७०            १६,४९९
०७०/०७१            २८,०२५
०७१/०७२            ३०,६९६
०७२/०७३            ३२,४८९
०७३/०७४            ५०,६५९
०७४/०७५            ५८,७५८
०७५/०७६            ६३,२५९
०७६/०७७            ३,३०,०३७
०७७/०७८            २९,४३२