• वि.सं २०७९ असोज १४ शुक्रबार
  • वि.सं २०७९ असोज १४ शुक्रबार
  • Friday, 30 September, 2022
छोराहरू र छोरीसँग सखिना मियाँ, जसका श्रीमान्को जन्मको आधारमा नागरिकता छ । तर, सन्तान नागरिकताविहीन छन् ।
२०७९ असोज ७ शुक्रबार ०७:०८:००
मुख्य समाचार

जन्मसिद्धका सन्तान नागरिकता पाउन वञ्चित

संविधानमै जन्मसिद्धका सन्तानले वंशज नागरिकता पाउने लेखियो तर यसलाई कार्यान्वयन गर्ने कानुन सात वर्षसम्म बनेन

२०७९ असोज ७ शुक्रबार ०७:०८:००

गौरीगन्ज– ६ कन्चिराकी सखिना मियाँको वंशजका आधारमै नेपाली नागरिकता छ । श्रीमान् महोम्मद इसलाम मियाँको जन्मसिद्धको नागरिकता छ । उनीहरूका तीन सन्तानमध्ये दुईजना नागरिकता पाउनयोग्य भइसकेका छन् । जेठो छोरा सानमाज मियाँ २२ वर्ष पुगे । छोरी सायना खातुन २० वर्षकी भइन् । सखिना छोराछोरीको नागरिकताका लागि पटकपटक गाउँपालिका पुगिन् । तर, कर्मचारीले बुबाको नागरिकता जन्मसिद्धका आधारमा भएको भन्दै फर्काइदिए । ‘नागरिकता नहुँदा केही पनि हुँदैन । नानीहरूको नागरिकता बनाइदिनुपर्‍यो भनेर गाउँपालिका र इलाका प्रशासन कार्यालय गौरीगन्ज गएँ,’ उनले भनिन्, ‘तर, अहिले मिल्दैन । बुबाको जन्मसिद्धको नागरिकता छ भन्छन् ।’ 

सखिनाका जेठा छोरा सानमाजले नागरिकता नभएकै कारण पढ्न छाडे । ‘पढ्दै थिएँ । नागरिकता बनाउन जाँदा बन्दैन भने । पढेर पनि जागिर खान नमिल्ने रहेछ भनेर छाडेँ,’ सानमाज भन्छन्, ‘पढाइ छाडेर सीप सिक्न गएँ । एक्स्काभेटर चलाउन सिकेँ, तर नागरिकता त त्यहाँ पनि चाहिने रहेछ । नागरिकता नहुँदा लाइसेन्स बनेन ।’ 

गौरीगन्ज– ६ का रामवृक्ष महतोका हजुरबुबा पनि नेपालमै जन्मेका हुन् । उनका बुबा सुमनले पनि जन्मका आधारमा नागरिकता पाएका छन् । रामवृक्षले पनि जन्मकै आधारमा नागरिकता लिएका छन् । उनका छोरा सञ्जयकुमार महतो २० वर्षका छन् । उनी पनि नागरिकता लिन खोजिरहेका छन् । रामवृक्षकी श्रीमती सीतादेवीको वंशजकै नागरिकता छ । तर, रामवृक्षको जन्मका आधारमा भएका कारण सञ्जयकुमारले नागरिकता पाएकै छैनन् ।

राष्ट्रपति, संसद् र सरकारको टकरावका कारण नागरिकता विधेयक प्रमाणीकरण हुन नसकेपछि जन्मसिद्धको नागरिकता पाएकाहरूका सन्तान नागरिकताबाट  वञ्चित छन् । विधेयक प्रमाणीकरण नभएपछि नागरिकता पाउने आशामा रहेका जन्मसिद्धका सन्तानले ‘अनागरिक’ भएरै बस्नु परेको छ  ।

‘हाम्रो हजुरबुबा पनि यहीँ जन्मेको, तर हामीलाई त राज्यले विदेशीजस्तो गर्‍यो । अनुहार कालो भयो कि भारतीय ठान्छन् । हामी यही देशका नागरिक हौँ,’ सञ्जयकुमार भन्छन्, ‘तर, नागरिक हुन दिएनन् । अहिलेसम्म कुनै पनि देशको नागरिक भएका छैनौँ । देशविहीन भएर बसेका छौँ । कति पीडा छ त आफैँलाई थाहा छ ।’ 

सामान्य मजदुरी गरेर खान उनको परिवार सञ्जयकुमारको नागरिकता पाए कतै जीवनस्तर उस्कन्थ्यो कि भन्ने आसमा छ । ‘नागरिकता पाए त विदेश गएर कमाउन पनि सकिन्थ्यो । केही रोजागरी पनि हुन्थ्यो,’ आमा सीतादेवी भन्छिन्, ‘नागरिकता नहुँदा धेरै नै समस्या छ ।’ सञ्जयकुमार सामाजिक सञ्जाल चलाउँछन् । उनले नागरिकता ऐन आउँछ भन्ने सुनेका थिए । ऐनअनुसार नागरिकता पाइन्छ कि भन्ने आसमा थिए । तर, राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेपछि उनी निराश छन् । ‘ऐन आउँदै छ रे भन्ने सुनेको थिएँ, तर फेरि नआउने भयो रे,’ उनी भन्छन्, ‘अब त नागरिकता बन्छ कि भन्ने लागेको थियो । आस नै मर्‍यो ।’

 तीन पुस्तादेखि नेपालमै, तर नागरिकताविहीन
दमक– ९ उराँव बस्तीका २५ वर्षीय रोहित तिर्कीको तीन पुस्ताले नेपालमा बितायो । हिमालय–महालक्ष्मी चिया बगानमा काम गर्न उनको हजुरबुबालाई राजपरिवारले नेपाल ल्याएको थियो । उनका बुबा यहीँ जन्मे । उनी पनि यहीँ जन्मे, तैपनि नागरिकता छैन । बुबा नागरिकता नलिई बिते । आमासँग जन्मका आधारमा बनाइएको नागरिकता छ । उनका दाइले पनि जन्मकै आधारमा नागरिकता बनाए । दुई दिदी ध्रुवा र पुष्पाको पनि नागरिकता छैन । उनको तीन वर्षको छोरा छ । तर, उनीसँग नागरिकता नभएका कारण रोहितले छोराको जन्मदर्तासमेत गर्न सकेका छैनन् । 

 रामवृक्ष र सीतादेवीका छोरा सञ्जयकुमार महतो । उनी पनि नागरिकताविहीन छन्  ।

‘अब त नानी बिस्तारै स्कुल जाने हुन्छ,’ उनी भन्छन्, ‘मेरो नागरिकता नभई उसको जन्मदर्ता बन्दैन । अब कसरी पढाउने ?’ प्रत्येक चुनावमा नागरिकता बनाइदिने मुद्दा लिएर नेताहरू बस्ती छिर्छन् । नागरिकताविहीनको अभिभावकको मत पनि लिन्छन् । तर, चुनाव जितेर गएपछि नेताहरूले नागरिकताविहीनको मुद्दा बिर्सन्छन् । ‘म मजदुरी गर्छु । नागरिकता भए विदेश गएर आर्थिक अवस्था सुधार्ने थिएँ,’ उनी भन्छन्, ‘सधैँ नागरिकता बनाइदिने भन्दै नेता आउँछन् । तर, कहिल्यै बनाइदिएनन् । प्रशासन गएर खोज्दा बुबाआमाको वंशजको नागरिकता ल्याउनु भन्छन् । हामीले कहाँबाट ल्याउने ?’ 

नेपालको संविधानको धारा ११ (३) मा संविधान प्रारम्भ हुनुअघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज वालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता बन्ने उल्लेख छ । तर, संविधान बनेको सात वर्षसम्म संविधानअनुसार ऐन नबन्दा जन्मका आधारमा नागरिकता पाएकाका सन्तान नागरिकताविहीन छन् । 

०७२ मा असोजमा संविधान जारी भएयता जन्मका आधारमा नागरिकता लिएकाका सन्तानले नागरिकता पाएका छैनन् । जसकारण राज्यको आधारभूत सुविधाबाट पनि उनीहरू वञ्चित भएका छन् । ‘देशविहीन भएर बस्नुको पीडा हामीले देखेका छौँ । जन्मसिद्धका सन्तानहरू अहिले नागरिकताका लागि भौँतारिएका छन् । काठमाडौंमा बस्ने नेताले देशभक्त नागरिकलाई भारतीय देख्छ,’ गौरीगन्ज– ६ का वडासदस्य आशामुद्दिन मियाँ भन्छन्, ‘नागरिकता नबन्दा रोजगारी पाएका छैनन् । पढ्नबाट पनि वञ्चित भएका छन् ।’