• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ श्रावण २१ शनिबार ०७:४६:००
खेलकुद

नवौँ राष्ट्रिय खेलकुद : ३६ खेलमा ३९३ स्वर्णका लागि प्रतिस्पर्धा

२०७९ श्रावण २१ शनिबार ०७:४६:००

गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेलमा खेलाडीहरूले तीन सय ९३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । गण्डकी प्रदेशमा असोजको अन्तिम सातामा नवौँ राष्ट्रिय खेलकुद हुँदै छ । खेलाडीहरू तीन सय ९३ रजत तथा ६ सय एक कांस्यका लागि भिड्नेछन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को गत साता भएको बोर्ड बैठकले चार सय सात खेल इभेन्ट्स समावेश गर्ने निर्णय गरेको थियो । 

सोहीअनुसार प्रत्येक टोलीलाई तीन सय ३९ महिला र तीन सय ६९ पुरुष खेलाडीको कोटासमेत निर्धारण गर्ने निर्णय भएको थियो । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एक एनआरएन टोलीले भाग लिने राखेपले जनाएको छ । सहभागी टोलीमध्ये सर्वाधिक स्वर्ण जित्नेले नवौँ राष्ट्रिय खेलकुदको उपाधि उचाल्नेछ । राखेपले १५ भदौभित्र खेलाडी संख्या र २५ भदौसम्म नाम दर्ता गराइसक्नुपर्ने सहभागी टोलीहरूलाई पत्राचार गरिसकेको छ ।

३६ खेलमध्ये प्याराग्लाइडिङबाहेक अन्य सबै ३५ खेलमा महिला र पुरुषतर्फका खेलहरू हुनेछन् । नौ खेलमा एक–एक विधामा मात्र प्रतिस्पर्धा हुनेछ । यसबाहेक अन्य खेलमा विभिन्न विधामा तौल, उमेर समूह र दूरीका खेल हुनेछन् ।

एक विधामा हुने खेल
प्याराग्लाइडिङमा पुरुषतर्फ दुई विधाका खेल हुने आयोजकले जनाएको छ । यस खेलमा खेलाडी कोटा दुईजना रहनेछ । महिला र पुरुष फुटबलमा खेलाडीको कोटा समान २० जना राखिएको छ । भलिबलमा महिला र पुरुषतर्फ १२–१२ खेलाडी रहनेछन् । महिला र पुरुष कबड्डीमा एक–एक विधामा १२–१२ खेलाडी रहनेछन् । ह्यान्डबलमा महिला र पुरुषतर्फ खेलाडीको कोटा १४–१४ जनाको रहनेछ । क्रिकेटतर्फ महिला र पुरुषका खेल हुनेछन् । यसमा खेलाडी कोटा १४–१४ जनाको रहनेछ । यसैगरी, खो–खोतर्फ महिला र पुरुषमा एक–एक विधामा प्रतिस्पर्धा हुनेछ । हक्कीमा महिला र पुरुष खेल हुँदा खेलाडी कोटा १८–१८ जनाको रहनेछ । 

धेरै विधाका खेल 
३६ खेलहरूमध्ये सबैभन्दा धेरै विधा एथ्लेटिक्स र पौडीमा रहेका छन् । प्रतियोगिताअन्तर्गत एथ्लेटिक्समा महिला १८ र पुरुषतर्फ १९ विधामा प्रतिस्पर्धा हुनेछ । खेलाडी कोटा २०–२० जनाको रहेको आयोजकले जनाएको छ । पौडीतर्फ महिला र पुरुषतर्फ समान १८ विधामा विभिन्न दूरीमा प्रतिस्पर्धा हुनेछन् । यसैगरी, एकभन्दा बढी विधामा हुने खेलमा बक्सिङ, तेक्वान्दो, कराते र भारोत्तोलन रहेका छन् । बक्सिङमा महिलामा १० र पुरुषतर्फ १३ विधाका तौल समूहमा खेल हुनेछन् । खेलाडी कोटा महिलातर्फ १० र पुरुषतर्फ १३ जनाको रहनेछ । तेक्वान्दोमा महिला र पुरुषतर्फ ११–११ तौल समूहमा खेल हुनेछ । करातेमा महिलातर्फ नौ र पुरुषतर्फ १० तौल समूहमा खेल समावेश गरिएको छ । खेलाडी कोटा महिलातर्फ १३ र पुरुषमा १६ जना रहनेछन् । भारोत्तोलनमा महिलामा र पुरुषतर्फ १०–१० तौल समूहमा प्रतिस्पर्धा हुनेछ । 

छनोट हुने खेलस्थल 
प्रतियोगितामा निर्धारण भएका ३६ खेलमध्ये कास्कीमा २५ वटा छनोट खेल हुने आयोजकले जनाएको छ । नवलपुरमा तीन, स्याङ्जामा दुई र बाँकी आठ खेल प्रदेशमा हुनेछन् । थप आठ जिल्लामा एक–एक खेल खेलाउने प्रस्ताव भएको छ । प्रतियोगिताका अधिकांश खेल कास्कीको पोखरामा सञ्चालन हुनेछन् । पहिलो चरणमा कास्कीमा फुटबल, एथ्लेटिक्स, बक्सिङ, तेक्वान्दो, कराते, भारोत्तोलन, भलिबल, ब्याडमिन्टन, उसु, जुडो, ह्यान्डबल, हक्की, स्क्वास, सुटिङ, जिम्न्यास्टिक, लनटेनिस, सफ्टटेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, पौडी, गल्फ, प्याराग्लाइडिङ, ट्रायथलन र रग्बी सेभेन ‘ए’ साइडका खेल हुने प्रस्ताव भएको छ ।  नवलपुरमा कबड्डी, कुस्ती र खो–खो खेलका खेलस्थलका लागि प्रस्ताव गरिएको छ । यसैगरी, स्याङ्जामा फुटबल र फुलकन्ट्याक्ट कराते खेलका लागि खेलस्थल हुन सक्छन् । यसैगरी म्याग्दीमा भलिबल, मनाङमा टेबलटेनिस, तनहुँमा बास्केटबल, मुस्ताङमा बुद्धिचाल, बाग्लुङमा आइटिएफ तेक्वान्दो, गोरखामा सेपाकताक्रो, पर्वतमा फेन्सिङ र लमजुङमा शारीरिक सुगठन खेलका लागि खेलस्थलका रूपमा प्रस्ताव गरिएका छन् ।