• वि.सं २०८१ बैशाख ८ शनिबार
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ १५ आइतबार १३:३३:००
मुख्य समाचार

न्यायालयको अवस्था सुधारोन्मुख छ : कामु प्रधानन्यायाधीश कार्की 

नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ १५ आइतबार १३:३३:००

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायालयको अवस्था सुधारोन्मुख रहेको बताएका छन् । आइतबार नेपाल कानुन व्यवसायी परिषद्को लयर्स एकेडेमी व्यवस्थापन समितिद्वारा आयोजित सातदिने तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले न्यायालयको अवस्थामा पहिलेभन्दा सुधार भएको बताएका हुन् । उनले आफूले सर्वोच्च अदालतको नेतृत्व लिएपछि मुद्दाको फर्स्याेट बढेको बताए । आफू नेतृत्वमा आउँदा मुद्दाको फर्स्याेट आठ प्रतिशत रहेकोमा अहिले बढेर १५ प्रतिशत पुगेको उनले बताए । 

‘न्यायपालिका अहिले सुधारोन्मुख छ । हामीले विभिन्न अवरोधहरू, विभिन्न प्रवृत्तिहरू, विकृतिहरू, विसंगतिहरू बेहोर्‍याैँ , भोग्यौँ ।  त्यो सुधार गर्नको निमित्त कानुन व्यवसायीको क्षेत्रबाट, न्यायाधीशको क्षेत्रबाट हामीले भोगेर यसलाई सुधार गर्नुपर्छ भनेर प्रतिबद्धताको साथ अहिले हामी आएका छौँ । म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु, न्यायपालिकालाई अब हामीले यसभन्दा पहिलेको स्थितिभन्दा फरक ढंगबाट हेर्नुपर्छ । यसलाई समृद्ध रूपमा अगाडि बढाउनुपर्छ,’ कायममुकायम प्रधानन्यायाधीश कार्कीले भने, ‘मैले आफूले नेतृत्व लिँदाखेरि हाम्रो सर्वोच्च अदालतको मुद्दाको फर्स्याेट प्रतिशत आठ  थियो । आठ प्रतिशतबाट मैले विभिन्न ढंगबाट त्यसलाई फोकस गरेर अहिले प्रत्येक महिनाजसो दुई प्रतिशतको दरले बढाएर अहिले हिजोसम्मको स्थितिमा १५ प्रतिशत मुद्दा फैसला भएको छ । त्यसमा उल्लेखनीय रूपमा पुराना मुद्दाहरू फैसला भएका छन् ।’ 

कायममुकायम प्रधानन्यायाधीश कार्कीले विशेषगरी उच्च अदालत र जिल्ला अदालतभन्दा पनि सर्वोच्च अदालतप्रति धेरै गुनासो रहेको बताए । पुराना मुद्दाहरू धेरै रहे भनेर त्यसमा सुधार गर्न खोजिएको उनको भनाइ छ । कायममुकायम प्रधानन्यायाधीश कार्कीले तत्कालका लागि गोलाप्रथाको विकल्पमा जान नसकिने बताए । अटोमेसनमा जाने प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै अटोमेसनमा जानु अघिसम्म गोलाप्रथाबाटै मुद्दा हेरिने उनले बताए ।