• वि.सं २०८१ बैशाख ८ शनिबार
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १३ बिहीबार १२:०५:००
मुख्य समाचार

सहिद धर्मभक्तको नाममा मानवसेवा आश्रम बनाउँदै काठमाडौं महानगर

नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १३ बिहीबार १२:०५:००

काठमाडौं महानगरपालिकाले सहिद धर्मभक्त माथेमाको सम्मानमा ‘धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ निर्माण गर्ने भएको छ। नागार्जुन नगरपालिकाले उपलब्ध गराउने वडा नं. ६ सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको करिब १८ रोपनी जग्गामा आश्रम निर्माण हुने महानगरले जनाएको छ। यसका लागि महानगरपालिकाले नगरपालिकालाई विस्तृत परियोजना प्रतिवेदन बुझाइसकेको छ।

प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको दिनको स्मरण गर्दै महानगरले बिहीबार यस्तो घोषणा गरेको हो। आजकै दिन माथेमा जन्मिएको ठाउँ काठमाडौंको ओमबहाल र अमरत्व प्राप्त गरेको ठाउँ सिफल उकालोमा उनको पूर्ण कदको सालिक प्रतिस्थापनसमेत गरिएको महानगरले जानकारी दिएको छ।

यस अवसरमा महानगरका मेयर विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोल तथा वडा सदस्यहरू र सीमित कर्मचारी सहभागी भएर शालिकमा पुष्पगुच्छा अर्पण गरी उनको योगदानको स्मरण गरेका थिए।

वि.सं. १९९७ साल माघ १३ गते धर्मभक्त माथेमालाई काठमाडौंको सिफलमा रहेको बकाइनोको रूखमा झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो । माथेमा तत्कालीन राजा त्रिभुवनका व्यायाम शिक्षकसमेत रहेका थिए। उनले प्रजातन्त्रका पक्षमा काम गर्न राजालाई प्रजा परिषद्को सदस्यसमेत बनाएको इतिहासमा उल्लेख छ।