• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
जीवन बस्नेत काठमाडौं
२०७८ कार्तिक ६ शनिबार ०८:४०:००
अर्थ

६ लेनमा विस्तारित कोटेश्वर–जडीबुटी सडकखण्डको कालोपत्रे गर्ने तयारी

जीवन बस्नेत काठमाडौं
२०७८ कार्तिक ६ शनिबार ०८:४०:००
  • असार मसान्तसम्ममा सम्पन्न गर्ने भनिएकोमा लगातारको मनसुनले कालोपत्रेमा ढिलाइ भएको काठमाडौं डिभिजनको भनाइ 
  • जडीबुटी चोकमा रहेको एउटा निजी घरका कारण अझै अवरोध

६ लेनमा विस्तारित कोटेश्वर–जडीबुटी सडकखण्ड कालोपत्रे गरिने भएको छ । गत असार मसान्तसम्म कालोपत्रे गर्ने काठमाडाैँ डिभिजनलले दाबी गरे पनि रोकिँदै आएको छ । ‘अघिल्लो हप्तासम्म पनि झरी रोकिएन, त्यसले गर्दा तोकिएकै समयमा कालोपत्रे गर्न सकिएन’ सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले भने । कालोपत्रे गर्ने दिन थोरै मात्र झरी परे पनि गुणस्तर नहुने भएकाले काम रोक्नुपर्ने प्राविधिकहरूको भनाइ छ । 

मौसम राम्रो भयो भने तिहारअघि नै कालोपत्रे हुने र कालोपत्रे गर्नुअघिका सबै काम सकिएको उनले बताए । साबिक चार लेनको कोटेश्वर–जडीबुटी सडकखण्डलाई दुई लेन थप विस्तार गरेर ६ लेनको बनाइएको हो ।

विस्तारित सडक कालोपत्रे गर्ने अवस्थामा पुगे पनि जडिबुटी मोडमा रहेको एउटा निजी घर प्राप्त गर्न भने अझै सकिएको छैन । त्यसमा छलफल भए पनि अझै टुंगो लागेको छैन । आयोजनाले कानुनी रूपमा घर प्राप्त गरे पनि घरधनीले आफ्नो ६ आना जग्गा रहेको र त्यसको मुआब्जा दिनुपर्ने जिकिर गरेको छ । तर, नापजाँच गर्दा त्यति जग्गा नै नभएको पाइएको छ । यसैकारण विवाद हुँदा अझै त्यो घर प्राप्त भएको छैन । यसका लागि सरकारले छुट्टै निर्णय गरेर घरधनीको चासोलाई सम्बोधन गर्नुपर्ने आयोजनामा संलग्न इन्जिनियरहरूको भनाइ छ । सडक विस्तार कोटेश्वर चोकदेखि काठमाडौं र भक्तपुर जोड्ने मनोहरा पुलसम्म गरिनेछ । 

यसअघि सडक विस्तारका लागि डिभिजन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले चर्चेको क्षेत्रमा नागरिक उड्डयन प्राधिकरणले जग्गा उपलब्ध गराएको थियो । प्राधिकरणले साढे सात रोपनी जग्गा उपलब्ध गराएको हो । त्यस्तै, सडकको दक्षिणी क्षेत्रमा पर्ने काठमाडौं महानगरपालिकाको जग्गा प्राप्त गरेको थियो । त्यस क्षेत्रमा सार्वजनिक शौचालय र अन्य केही कवलहरू रहेकोमा महानगरले हटाएर सडक विस्तारका लागि उपलब्ध गराएको हो । महानगरसँग १० वर्षको सम्झौता भएकोमा अझै ३ वर्ष सम्झौता बाँकी रहेकोमा महानगरपालिकाले शौचालय हटाउने निर्णय गरेको र त्यसका लागि अन्य ठाउँमा जग्गा उपलब्ध गराउने गरी सहमति भएको हो । 
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार कोटेश्वरदेखि जडीबुटी जाने सडकको बायाँतर्फ एक लेन र दायाँतर्फ दुई लेन सडक विस्तार गर्न पुग्ने जग्गा प्राप्ति भएको छ । तर, तत्काललाई दुवैतर्फ एक–एक लेन मात्र विस्तार गरिनेछ । सरकारको योजनाअनुसार अहिले तिनकुने–कोटेश्वर–जडीबुटी हुँदै पेप्सीकोलातर्फ जानेलाई मात्र एकतर्फी समर्पित (डेडिकेटेड) एउटा छुट्टै लेन तयार गरिनेछ । त्यस्तै, भक्तपुरतिरबाट कोटेश्वर चोक हुँदै बालकुमारी–ललितपुरतर्फ जानका लागि एकतर्फी दुईवटा डेडिकेटेड लेन तयार गरिनेछ । यसले अहिले कोटेश्वरको जाम गट्ठाघरसम्म पुग्ने र ‘पिक आवर’मा तीन घन्टासम्म जाममा बस्नुपर्ने अवस्था अन्त्य हुने विश्वास छ ।

यसअघि डिभिजन कार्यालयले असार मसान्तसम्ममा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । सडक विस्तारको ठेक्का निर्माण कम्पनीहरू टुंडी सुशन उपक्रम (ज्वाइन्ट भेन्चर)ले पाएका छन् । जेभीले सात करोड रुपैयाँमा सडक विस्तारको ठेक्का पाएका हुन् । 

सडक विस्तारका लागि सरकारले १२ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । देशको पूर्व क्षेत्रबाट राजधानी भित्रिने प्रमुख नाकामा दैनिक तीन घन्टासम्म जाम हुन थालेपछि सरकारले समाधानको उपायस्वरूप सडक विस्तार गर्ने योजना अघि सारेको हो । यसअघि बजेटमा समेत सरकारले जामको समस्या समाधान गर्न सुरुङमार्ग निर्माण गर्ने घोषणा गर्दै आइरहेको थियो ।