• वि.सं २०८० चैत १६ शुक्रबार
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असोज १० आइतबार २१:३३:००
समाचार

पर्यटन दिवस मनाउन ११ देशका राजदूत पोखरामा

२०७८ असोज १० आइतबार २१:३३:००

४९औँ विश्व पर्यटन दिवस सोमबार मनाइँदै छ । प्रत्येक वर्ष २७ सेप्टेम्बरका दिन यो दिवस मनाइन्छ । यस वर्षको पर्यटन दिवस विशेष कार्यक्रम गरी पोखरामा मनाइँदै छ । 

पर्यटन दिवसलाई लक्षित गर्दै नेपालस्थित राजदूत तथा विकास साझेदार संस्थाका प्रमुखका लागि गरेको विशेष कार्यक्रममा सहभागी हुन आइतबार ११ देशका राजदूत पोखरामा भेला भएका छन् । उनीहरू मंगलबारसम्म पोखरामा रहनेछन् ।

गण्डकी प्रदेश सरकारको निमन्त्रणा र परराष्ट्र मन्त्रालयको संयोजनमा राजदूतसहित कूटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधि गरी २८ जनाको टोली पोखरा आएको हो । टोलीलाई प्रदेश सरकारका प्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, पर्यटन बोर्ड पोखरा कार्यालय, पर्यटनसँग सम्बन्धित संघसंस्था, नागरिक समाजलगायतले पोखरा विमानस्थलमा स्वागत गरेका थिए ।

टोलीमा संंयुक्त राष्ट्र संघका लागि नेपाल प्रमुख सारा बेसोलो नान्ती, सार्कका महासचिव, संयुक्त राष्ट्रसंघकी रेसिडेन्ट कोअर्डिनेटर, युरोपियनका तर्फबाट नेपालका लागि राजदूत नोना डेप्रेबी, इजिप्ट, युएई, साउदी अरब, कतार, दक्षिण कोरिया, फिनल्यान्ड, जर्मनी, उत्तर कोरिया, श्रीलंका, थाइल्यान्ड, बंगलादेश र मलेसियाका राजदूत सहभागी छन् ।

यसैगरी युएनडिपीका प्रतिनिधि, इसिमोडका महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कन्ट्री डाइरेक्टर, अन्तर्राष्ट्रिय आप्रवासी संगठनकी चिफ अफ मिसन, युनेस्कोका प्रतिनिधिलगायतको सहभागिता रहेको छ ।

टोलीमा सहभागीहरू सोमबार बिहान पोखराको कास्कीकोटमा हाइकिङ गर्नेछन् । उनीहरूले कास्कीकोट दरबारको अवलोकन, कश्यपताल हुँदै सराङकोटसम्म हाइकिङ गर्नेछन्, टोलीले पोखराका मुख्य पर्यटकीय गन्तव्यको अवलोकन भ्रमण, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, फेवातालमा ढुङा सयर सँगै तालवाराही मन्दिरमा गरिने आरती हेर्नेलगायत विभिन्न विषयमा छलफलसमेत गर्नेछन् । 

सोमबार साँझ ५ बजेदेखि पोखराको प्रमुख पर्यटकीय स्थल लेकसाइडमा रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेबान) पोखराले आयोजना गर्ने मिनी सडक महोत्सवमा सहभागी हुने पर्यटन बोर्ड प्रदेश कार्यालय पोखराका प्रमुख काशीराम भण्डारीले जानकारी दिए । कोभिडले थला परेको पर्यटन क्षेत्र सँगै आर्थिक अवस्थालाई पुनरुत्थान गर्न तथा पोखरा सुरक्षित छ भन्ने सन्देश दिनका लागि कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।