• वि.सं २०८० चैत १५ बिहीबार
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ६ आइतबार ०८:३४:००
पालिका अपडेट

अहिलेसम्म आएकाे खोप (डोज) १,२६,६८,२३० :  प्रयोग भएकाे खोप (डोज) ८७,७०,६६४

नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ६ आइतबार ०८:३४:००

सात महिनामा नेपाललाई एक करोड २६ लाख ६८ हजार दुई सय ३० डोज खोप प्राप्त भएको छ । जसमध्ये ८७ लाख ७० हजार ६ सय ६४ डोज खोप प्रयोग भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको तथ्यांकअनुसार ३८ लाख ९७ हजार पाँच सय ७७ डोज खोप बाँकी हुनुपर्छ । तर, मन्त्रालयको व्यवस्थापन महाशाखा खरिद प्रमुख उपेन्द्र ढुंगाना संघ र प्रदेशका स्टोरहरूमा करिब २४ लाख खोप मौज्दात रहे पनि जिल्ला र स्थानीय तहका वडामा पठाइएको डोज कति बाँकी छ यकिन नभएको बताउँछन् । 

दुई करोड २० लाख नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको सरकारले उपलब्ध भएका खोप पनि पर्याप्त लगाउन सकेको छैन । दैनिक ६ लाख नागरिकलाई खोप लगाउने क्षमता भएको मन्त्रालय बताउँछ । तर, २४ दिनमा ६३ हजार नौ सय ६३ जनाले मात्रै खोप पाएको तथ्यांक छ । 

एस्ट्राजेनेकाको खोपको म्याद यही अगस्टमा सकिँदै छ । शनिबार मात्रै जापानले कोभ्याक्स सुविधामार्फत एस्ट्राजेनेकाकै दुई लाख आठ हजार ६० डोज उपलब्ध गराएको छ । पहिलेकै सबै प्रयोग भएको छैन । खोप थुप्रिँदा भण्डारणमै समस्या छ । स्थानीय तह र संघबीच आपसी समन्वय नहुँदा पनि ठूलो मात्रामा खोप खेर गएको अनुमान गरिएको छ । तर, कति खोप खेर गयो भन्ने पनि कुनै हिसाब नभएको अधिकारीहरू बताउँछन् । खोप खेर गइरहँदा र ठूलो मात्रामा मौज्दात हुँदासमेत सरकारले खोप अभियानलाई ‘मास क्याम्पेनिङ’मा अगाडि बढाएको छैन ।

नेपालमा पहिलोपटक ८ माघमा भारतले अनुदानमा दिएको १० लाख डोज कोभिसिल्ड भित्रिएसँगै खोप लगाउन सुरु गरिएको थियो । हालसम्म नेपालमा कोभिसिल्ड २४ लाख ४८ हजार, भेरोसेल ७४ लाख, जोन्सन १५ लाख ३४ हजार आठ सय ५० र एस्ट्राजेनेका १२ लाख ८५ हजार तीन सय ८० डोज आएको छ । चीनसँग खरिद गरेको ६० लाख भेरोसेलमध्ये १६ लाख मात्रै आएको छ । 

सक्रिय संक्रमित ३९ हजार नाघे
हाल सक्रिय संक्रमित ३९ हजार तीन सय २१ जना छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार उनीहरूमध्ये सामान्य अवस्थाका ३६ हजार १५ संक्रमित घरमै छन् भने तीन हजार तीन सय ६ जना अस्पताल भर्ना भएका छन् । अस्पताल भर्ना भएकामा निमोनिया र श्वासप्रश्वासमा समस्या छ । अस्पताल भर्ना भएकामध्ये सात सय १८ जना आइसियूमा छन् भने एक सय ६६ जना भेन्टिलेटरमा उपचाररत छन् । 

२४ घन्टाको कोरोना तथ्यांक
पछिल्लो २४ घन्टामा १३ हजार ७५ नमुना परीक्षण गर्दा दुई हजार ७५ जनामा संक्रमण पुष्टि भएको छ । यो अवधिमा ३० संक्रमितको मृत्यु भएको छ । त्यस्तै, दुई हजार तीन सय ८२ जना निको भएका छन् ।