• वि.सं २०८१ बैशाख ५ बुधबार
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असार २ बुधबार १३:५२:००
मुख्य समाचार

दिल्ली जानुपूर्व पार्टी एकता जोगाउन खनालको अपिल

नयाँ पत्रिका काठमाडाैं
२०७८ असार २ बुधबार १३:५२:००

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता जोगाउन अपिल गरेका छन् । उनको स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारका लागि  दिल्ली जाने क्रममा नर्भिक अस्पतालबाट विज्ञप्तिमार्फत पार्टी जोगाउन अपिल गरेका हुन् ।   स्वास्थ्यमा समस्या देखिएपछि सोमबार नर्भिक अस्पताल भर्ना भएका खनालको स्वास्थ्यमा थप समस्या भएपछि उनलाई दिल्ली लैजान लागिएको हो । 

स्वास्थ्यलाभको कामना गर्नेहरूलाई धन्यवाद दिँदै खनालले भनेका छन्, ‘उपचारको क्रममा आएका एकपछि अर्को स्वास्थ्य समस्याका कारण डाक्टरहरूको सल्लाहमा म आज केहि दिनका लागि देशबाहिर जाँदै छु । मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पूर्णलाई आभार व्यक्त गर्न चाहन्छु । सफल उपचारपछि म स्वदेश फर्केर यहाँहरूमाझ पुनः हुनेछु भन्ने विश्वास लिएको छु ।’

देशमा विथोलिएको वर्तमान राजनीतिक अवस्थाले आफूलाइर् चिन्तित बनाएको विज्ञप्तिमा जनाएका छन् । राजनीतिक दलहरू विवाद र ध्रुवीकरणले विभाजनउन्मुख भएको भन्दै खनालले त्यही अन्तर्संघर्षको परकम्पन तत्कालीन नेकपामा परेको र अहिले एमालेमा परेको बताए ।

राष्ट्रिय एकता–अखण्डता लोकतन्त्र र स्थायित्वको खम्बाकाे रूपमा रहेका दलहरूभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ति दुर्भाग्यपूर्ण भएको भन्दै खनालले देशका प्रमुख दलहरू र तिनका नेताहरूबीचको अनावश्यक टकराव, महत्त्वाकांक्षा र व्यक्तिगत इगो साँध्ने कार्य यथाशीघ्र अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । सबै एकजुट भएर मुलुकका मूलभुत समस्याहरू हल गर्न सबैलाई आग्रह गरे ।  

 सयौँ सहिदहरुको बलिदान, हजारौं योद्धाहरुको रगत पसिना, कैयौँको प्रवास, जेल, भुमिगत जिवनको संघर्ष, त्याग र तपस्याको कारण एमाले सफलताको यो विन्दु सम्म आइपुगेको भन्दै उनले एमाले देशको नेतृत्वदायी पार्टी , राष्ट्र र जनताको हित तथा विकास र समृद्धिको बाहक बन्नुपर्नेमा जोड दिएका छन् ।

जनताको चाहना र अपेक्षा विपरित आफूआफूमा  देखिएको अनेकौं गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक इगोका कारण पार्टी जीवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको उल्लेख गरे ।  

 उनले लेखेका छन् ‘देश, लोकतन्त्र र पार्टीको यो अवस्थाले मलाई अत्यन्तै चिन्तित बनाएको छ । विगतमा हामी सबै मिलेर ठुलाठुला सफलताहरु प्राप्त गरेको स्मरण गरौं । एकता सफलताको बाटो हो भने फुट बिनासको । त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टिका वैधानिक प्रकृया अन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरुलाई विशेष आह्वान गर्न चाहान्छु । पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्यौ भने मात्र हामि सफल हुन सक्छौँ र सिंगो राष्ट्रको नेतृत्व गर्न सक्छौं । त्यसैले टुटफुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडि बढौं भन्ने सबैमा आह्वान गर्न चाहान्छु । ’