• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
विजयराज खनाल काठमाडौं
२०७८ जेठ १२ बुधबार ०८:३२:००
अर्थ

बैंकहरूले सेयर किनेको  एक वर्षपछि मात्रै बेच्न पाउने   

विजयराज खनाल काठमाडौं
२०७८ जेठ १२ बुधबार ०८:३२:००

बैंक तथा वित्तीय संस्थाहरूले छोटो–छोटो समयमै सेयर किनबेच गर्न थालेपछि राष्ट्र बैंकले यसमा कडाइ गरेको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै गरेका संशोधनहरू कार्यान्वयन गर्ने क्रममा राष्ट्र बैंकले मंगलबार जारी गरेको परिपत्रमा यस्तो व्यवस्था थप गरेको हो । राष्ट्र बैंकले एक वर्षभन्दा बढी अवधिका लागि मात्र सूचीकृत संस्थाको सेयर तथा डिबेन्चरमा लगानी गर्न पाइने व्यवस्था गरेको हो ।

यसअघि यस्तो सीमा लगाइएको थिएन । बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको संगठित संस्थाको सेयरमा अल्पकालीन लगानी गर्न नपाउने स्पष्ट पारेको छ । वित्तीय संस्थाले समेत कारोबारीले जस्तै अल्पकालीन लगानी गर्न थालेपछि बजारमा केही दिनयता दैनिक १३ अर्ब रुपैयाँसम्मको कारोबार हुन थालेको छ । नयाँ निर्देशन आएसँगै मंगलबार सेयर बजार र कारोबार रकम दुवै घटेको छ । 

मंगलबार सेयर बजार परिसूचक नेप्से ६ अंकले घटेको छ भने कारोबार रकम १५ प्रतिशतले घटेर १३ अर्ब रुपैयाँमा सीमित भएको छ । बैंक तथा वित्तीय संस्थाहरूको गत चैतसम्ममा सेयरलगायतमा २ खर्ब ४५ अर्ब रुपैयाँ लगानी कायम रहेको थियो । अघिल्लो वर्ष सोही अवधिमा भने यस्तो लगानी १ खर्ब ८१ अर्ब थियो । 

बैंक तथा वित्तीय संस्थाहरूमा अधिकांशको गत चैतमा खुद ब्याज आम्दानीको वृद्धिदर खुम्चिएको वा घटेको भए पनि खुद नाफामा उल्लेख्य वृद्धि देखिएको थियो । सेयर बजारमा लगानी गरेरै बैंकहरूको अन्य आम्दानी बढेपछि नाफामा वृद्धि हुन सहयोग पुगेको थियो । बैंकरहरूले नै यसलाई स्वीकार गरेका छन् । 

सेयर बजारमा बैंकहरूको एक्सपोजर बढेको अनुभव राष्ट्र बैंकले गरेको हुन सक्ने नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले बताए । उनले भने, ‘बैंकहरूले सेयर बजारमा लगानी बढाइरहेको अवस्था थियो । तर, यसबाट सेयर बजारमा कस्तो प्रभाव पर्छ भन्नेचाहिँ यसै भन्न सकिन्न ।’

बैंकहरूको नाफामा समेत प्रभाव पर्ने देखिएपछि मंगलबार विकास बैंक र वाणिज्य बैंक समूहको परिसूचक सबैभन्दा धेरै करिब १ दशमलव ५ प्रतिशतसम्म घटेको छ । नयाँ व्यवस्थासँगै बैंक तथा वित्तीय संस्थाहरूले सेयर खरिद गरेको एक वर्ष पुगे पनि प्राथमिक पुँजीको १ प्रतिशत रकमबराबर मात्रै एक आर्थिक वर्षभित्र बिक्री गर्न पाउने भएका छन् । हाल सबै बैंक तथा वित्तीय संस्थाहरूको प्राथमिक पुँजी ५ खर्ब ५४ अर्ब रुपैयाँबराबर छ । नयाँ व्यवस्थाअनुसार संस्थाहरूले एक आर्थिक वर्षमा कुल ५ अर्ब ५४ करोड रुपैयाँबराबरको सेयर मात्र बिक्री गर्न पाउने भएका छन् । यद्यपि, हाललाई यही १० जेठसम्म लगानी गरेका सेयर सीमाभन्दा धेरै भए पनि असार २०७९ सम्ममा बिक्री गर्न पाउने सुविधा दिइएको छ । 

लघुवित्त संस्थाहरूको संस्थापक सेयरमा गरिएको लगानी विपन्न वर्ग कर्जाका रूपमा समेत बैंकहरूले देखाउन पाउने व्यवस्था छ । तर, यस प्रयोजनबाहेक लघुवित्तका सेयरमा लगानी गर्नसमेत राष्ट्र बैंकले बैंकहरूलाई रोक लगाएको छ । यदि लगानी गरेको भएमा पुस ०७८ सम्म बिक्री गरिसक्नसमेत बैंकहरूलाई समयावधि दिइएको छ ।    

राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षामा सेयर धितोमा दिइने कर्जामा समेत कडाइ गरेको थियो । यसअघि सेयर धितोमा कर्जा दिँदा १ सय २० दिनको औसत मूल्य लिन सकिने व्यवस्थालाई पुनः १ सय ८० दिन बनाइएको थियो । 

यो व्यवस्थाले लामो अवधिको मूल्य शृंखला समेटिने र औसत मूल्य पहिलेभन्दा कम आउन सक्ने अवस्था बनेको छ ।  साथै, राष्ट्र बैंकले वाणिज्य बैंकहरूबीच एक–आपसमा हुने मर्जर वा प्राप्तिमा प्रोत्साहन गर्दै दिइएको नीतिगत सहुलियतको समयावधि संशोधन गर्दै थपेको छ । मर्जर र वा प्राप्तिपछि असार ०७८ मसान्तभित्र एकीकृत कारोबार गरेमा त्यस्ता संस्थाले असार ०७९ सम्म ब्याजदर अन्तर ४ दशमलव ४ भित्र राख्न बाध्य हुनेछैनन् ।