• वि.सं २०८१ बैशाख १२ बुधबार
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ बैशाख २९ बुधबार १५:५९:००
समाचार

हाट–बजार बन्द भएपछि बारीमै कुहिन थाल्यो तरकारी

२०७८ बैशाख २९ बुधबार १५:५९:००

कोरोनाका कारण जिल्लाका हाट–बजार बन्द भएपछि रौतहटका किसानले लगाएको तरकारी बारीमै कुहिन थालेको छ । स्थानीय प्रशासनले हाट–बजार बन्द गरेको र गाउँमा तरकारी बेच्नसमेत समस्या भएपछि किसानको तरकारी बारीमै कुहिन थालेको हो । 

यसअघि जिल्लाका किसानले आफूले उत्पादन गरेका तरकारी काठमाडौं उपत्यका तथा अन्य जिल्लामा बेच्ने गर्थे । तर, कोरोना कहर र निषेधाज्ञाका कारण सहज ढुवानी हुन नसक्दा तरकारी बारीमै कुहिन थालेपछि किसान चिन्तित देखिएका छन् । 

निषेधाज्ञासँगै बजार बन्द रहेकाले तरकारीको माग पनि घटेको र पहिला घरमै आएर तरकारी लैजाने व्यापारीले पनि नलगेको किसानको भनाइ छ । जिल्लाका स्थानीय हाट–बजारमा लगेर तरकारी बेच्न नपाएपछि किसान थप मर्कामा परेका चन्द्रपुर नगरपालिका– १० की स्थानीय किसान मञ्जुदेवीको गुनासो छ ।

किसानको बारीमा अहिले काँक्रो, फर्सी, लौका, बोडी, करेला, खुर्सानी, भन्टा, गोलभेंडा, सागलगायतका तरकारी लटरम्मै फलेका छन् । गत वर्ष पनि यसै सिजनमा लकडाउन भएपछि जिल्लाका अधिकांश किसानले तरकारी बजारसम्म पु¥याउन पाएका थिएनन् । 

अन्य बालीजस्तो तरकारी भण्डारण गर्न नसकिने भएकाले समयमै बजारमा लगेर बिक्री नगरे कुहिन दिनु वा पशुहरूलाई खुवाउनुको विकल्प नरहेको चन्द्रपुर– १० का वडाध्यक्ष जयराम चौधरी बताउँछन् । 

लकडाउन, निषेधाज्ञालगायतका अप्ठ्यारो वेलामा तीनै तहको सरकारले किसानको कृषिउपज नष्ट नहुने व्यवस्था मिलाउन ध्यान दिनुपर्ने किसान अगुवा तथा संविधानसभा सदस्य देवेन्द्र पटेल बताउँछन् ।