• वि.सं २०८० चैत १६ शुक्रबार
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दिपेश शाही काठमाडौं
२०७८ बैशाख २४ शुक्रबार ०८:३३:००
मुख्य समाचार

राष्ट्रिय सभा उपनिर्वाचन : आज उम्मेदवारी दर्ता, संयुक्त गठबन्धनबाट उम्मेदवारी टुंगो लाग्यो, एमाले र नेमकिपा अझै अनिर्णीत

दिपेश शाही काठमाडौं
२०७८ बैशाख २४ शुक्रबार ०८:३३:००

बागमती प्रदेशमा हुन लागेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि आज (शुक्रबार) उम्मेदवारी दर्ता हुँदै छ । निर्वाचन आयोगले आगामी ६ जेठमा तोकिएको उपनिर्वाचनका लागि २१ वैशाखबाट लागू हुने गरी सार्वजनिक गरेको कार्यतालिकाअनुसार शुक्रबार उम्मेदवारी दर्ता हुन लागेको हो ।

बागमतीको प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने सातमध्ये पाँचवटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् । त्यसमध्ये बिहीबार अबेरसम्म दुई राजनीतिक दल र अन्य दुईवटा दलका असन्तुष्ट समूह मिलेर बनेको एउटा गठबन्धनका उम्मेदवार मात्रै टुंगो लागेको छ । एमाले र नेमकिपाले उम्मेदवारी टुंग्याएका छैनन् । 

देव गुरुङ प्रमुख सचेतक, माओवादी केन्द्र

कांग्रेस, माओवादी केन्द्र, माधव नेपालसहितको एउटा गठबन्धनबाट खिमलाल देवकोटालाई उम्मेदवार बनाउने सहमति भएको छ । 
 

उपनिर्वाचनका लागि आयोगमा दर्ता भएका दलमध्ये कांग्रेस, माओवादी केन्द्र र एमालेको झलनाथ खनाल तथा माधवकुमार नेपाल पक्षले संयुक्त गठबन्धन बनाएका छन् । उनीहरूले खनाल–नेपाल समूहका खिमलाल देवकोटालाई संयुक्त उम्मेदवार बनाउने निर्णय गरिसकेका छन् । यो गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा)को बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष पनि सामेल हुने भएको छ । 

माओवादी केन्द्रको संसदीय दलका प्रमुख सचेतक देव गुरुङले गठबन्धनका तर्फबाट देवकोटालाई उम्मेदवार बनाउने निश्चित भएको बताए । बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा एमाले अध्यक्ष केपी ओलीले गृहमन्त्री थापालाई उम्मेदवार बनाउने औपचारिक प्रस्ताव गरेका थिए । तर, थापाले जितको सुनिश्चित नहुने चुनावमा आफू नउठ्ने बताएपछि बैठकले निर्णय गर्न सकेन । माओवादीले कारबाही गरेपछि राष्ट्रिय सभामा थापाको सिट खाली भएको थियो । 

नेमकिपाले पनि शुक्रबार बिहान मात्रै उम्मेदवारको टुंगो लगाउने पार्टीका सचिव तथा प्रवक्ता प्रेम सुवालले नयाँ पत्रिकालाई जानकारी दिए । यस्तै दर्ता भएको अर्को दल राप्रपाले भने उम्मेदवारी नदिने निर्णय गरेको छ ।

प्रदेश सभाका सातमध्ये पाँच राजनीतिक दल दर्ता

उपनिर्वाचनका लागि पाँचवटा राजनीतिक पार्टीहरूले दल दर्ता गरेका छन् । आयोगले दर्ता भएका पाँचवटै राजनीतिक दलको नामावली राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ को उपदफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गरेर दल दर्ता गर्ने राजनीतिक दललाई निर्वाचन चिह्न निर्धारण गरी प्रदान गर्ने निर्णय गरिसकेको छ । आयोगको निर्णयअनुसार दर्ता भएका दलहरू एमालेलाई सूर्य चिह्न क्रम १, कांग्रेसलाई रूख चिह्न क्रम २, माओवादी केन्द्रलाई गोलाकारभित्र हँसिया हथौडा चिह्न क्रम ३, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो चिह्न क्रम ४ र नेपाल मजदुर किसान पार्टीलाई मादल चिह्न क्रम ५ को क्रममा मतपत्रमा समावेश भएका छन् । यद्यपि, दलहरूले उठाउने उम्मेदवारको निश्चित भएपछि मात्रै २९ वैशाखमा कुन उम्मेदवारको के चुनाव चिह्न हुने भन्ने अन्तिम टुंगो लाग्ने आयोगको भनाइ छ ।

निर्वाचन आयोगले आगामी ६ जेठमा हुने मतदानका लागि कार्यतालिका प्रकाशन गरी कार्यान्वयन गरिरहेको छ । जसअन्तर्गत २१ वैशाखमा मतदाता नामावली प्रकाशन तथा दाबी–विरोधको उजुर, २२ र २३ गते निवेदन तथा उजुरीउपर छानबिन र कारबाही गरी २३ गते अन्तिम मतदाता नामावली प्रकाशन गरेपछि २४ वैशाखमा उम्मेदवारी दर्ता गराउन लागेको हो । कार्यतालिकाअनुसार शुक्रबार उम्मेदवारी दर्ता भएसँगै २५ वैशाखमा उम्मेदवारको विरोधमा उजुरी दिने, २६ तथा २७ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय लिने तालिका रहेको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार २७ वैशाखमा उम्मेदवारको नामावली प्रकाशन गर्ने, २८ गते उम्मेदवारले नाम फिर्ता लिने र २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यसूची रहेको छ । निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा माओवादी केन्द्रबाट रिक्त रहेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको मिति तोकिसकेको छ । आयोगका अनुसार माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्कालाई कारबाही गरेपछि उनको स्थानमा उपनिर्वाचन गर्न लागेको हो ।

तीन सय ४८ मतदाताका लागि दुईवटा मतदान केन्द्र

राष्ट्रिय सभा उपनिर्वाचनमा बागमती प्रदेश सभाका एक सय १० र १३ जिल्लाका एक सय १९ स्थानीय तहका दुई सय ३८ गरी तीन सय ४८ जना मतदाता रहेका छन् । प्रदेश सभाका एकजना सदस्यबराबर ४८ र स्थानीय तहका प्रमुख वा उप्रमुखको १८ मतभार गणना हुन्छ । बागमती प्रदेशमा सबैभन्दा बढी मतदाता नेकपा एमालेका प्रदेश सभामा ५७ र स्थानीय तहमा एक सय ३३ जना, कांग्रेसका प्रदेश सभामा २२ र स्थानीय तहमा ६८ जना, माओवादी केन्द्रका प्रदेश सभामा २३ र स्थानीय तहमा ३३ जना मतदाता छन् । यस्तै, नेमकिपा र राप्रपाका प्रदेश सभामा दुई–दुईजना र स्थानीय तहमा पनि दुई–दुईजना छन् । जनता समाजवादी पार्टीका प्रदेश सभामा एकजना र स्थानीय तहमा पनि एकजना छन् भने विवेकशील साझा पार्टीका प्रदेश सभामा तीनजना मतदाता छन् ।

आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम (३) बमोजिम हेटौँडा उपमहानगरपालिका– ४ स्थित भुटनदेवी माविलाई मतदानस्थल तोकिएको छ । उक्त मतदानस्थलमा प्रदेश सभा सदस्य एक सय १० जनाका लागि केन्द्र (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख दुई सय ३८ जनाका लागि केन्द्र (ख) गरी छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ ।