• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १० शुक्रबार ०९:४८:००
अर्थ

सगरमाथा आरोहणमा कोटा प्रणाली

नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १० शुक्रबार ०९:४८:००

एकपटकमा १७० जनाभन्दा बढीले आरोहण गर्न नपाउने

पर्यटन विभागले सर्वोच्च शिखर सगरमाथाको आरोहणलाई व्यवस्थित गर्न भन्दै पहिलोपटक कोटा प्रणाली लागू गरेको छ । सगरमाथा आरोहणको मुख्य सिजनमा गत वर्ष कोरोनाका कारण आरोहण रोकिएको भए पनि यस वर्ष त्यस्तो निर्णय गरिएको छैन । विभागका महानिर्देशक रुद्रसिंह तामाङले भिडभाड कम गर्दै आरोहणमा व्यवस्थित गर्नका लागि कोटा तोकिएको जानकारी दिए । विभागले सन् २०२१ को वसन्त ऋतुको आरोहण व्यवस्थित गर्न र आरोहण मार्गमा हुने जोखिम कम गर्न यस्तो व्यवस्था गरेको महानिर्देशक तामाङले बताए ।  

यस वर्ष सगरमाथा आरोहण गर्न ३९ समूहका ३ सय ७१ जनाले अनुमति लिएका छन् । यसमध्ये ८७ जना महिला छन् । यो सिजनमा १६ हिमाल चढ्न ७४ समूहका ६ सय ५९ जना पर्वतारोहीले स्विकृति लिएका छन् । यस आरोहण सिजनमा सरकारले रोयल्टी मात्र ४९ करोड ४२ लाख रुपैयाँ संकलन गरेको छ । 

सन् २०१९ को आरोहण मौसममा सगरमाथासहितका हिमालमा आरोहीले लामबद्ध भएर आरोहण गर्नुपरेको थियो । यसले सुरक्षामा चुनौती थपिएको भन्दै नेपालको विदेशी संघ–संस्थाहरूले आलोचना गरेका थिए । पछिल्लो व्यवस्थापनबाट एकपटकमा बढीमा १ सय ७० जना मात्र आरोहण मार्गमा हुने हुँदा जोखिम कम हुने विश्वास विभागको छ ।

सगरमाथा आरोहण अनुमति लिएका व्यक्तिले सगरमाथा चुचुरोमा आइसफल डाक्टरले डोरी पु¥याएको मितिबाट अनुकूल मौसम हेरेर आरोहण थाल्न सक्ने व्यवस्था गरिएको छ । 

विभागले पहिलो चरणमा आरोहण अनुमतिपत्र नम्बर ६, ७, ९, १४, १७, १९, २०, २२, २३, २४, २५, २६, २७, ३२, ३४, ३६, ३७ र ३८ मार्फत अनुमति लिएका आरोही र दलले चुचुरो जान पाउने भएका छन् । 

पहिलो चरणको समूह फर्किसकेपछि आरोहण अनुमतिपत्र नम्बर  ४०, ४१, ४३, ४५, ४६, ४७, ४९, ५०, ५१, ५२, ५५, ५७, ५९, ६२, ६३, ६७ र ६८ मार्फत अनुमति लिएका आरोहीले चुचुरोमा जान पाउने भएका छन् । ‘सबै आरोही एकैपटक आरोहणमार्गमा लामबद्ध हुँदा हुने जाम र जोखिम कम गर्न सहयोग पुग्नेछ,’ महानिर्देशक तामाङले भने । 

आरोहण अनुमतिपत्र नम्बर ७२ देखि पछि अनुमति लिएका आरोहीले भने त्यसपछिको अनुकूल मौसम हेरेर आरोहणमा जानुपर्नेछ । यसरी हुने व्यवस्थापनले समेत आरोहणमा असहज परिस्थिति उत्पन्न हुने देखिएमा सम्बन्धित एजेन्सीले आपसी सहमति र समन्वयमा एकपटकमा १ सय ५० देखि १ सय ७० जनाको संख्या नबढ्ने गरी आरोहण व्यवस्थापन गर्न सक्ने भएका छन् ।  यसरी योजना परिवर्तन गर्दा स्थानीय आरोहण व्यवस्थापन गर्ने एजेन्सीले नै आरोहीको सुरक्षित आरोहणको प्रबन्ध गर्नुपर्ने भएको छ । 

यो वर्ष एउटै सिजनमा दुई हिमालको आरोहणमा जान चाहने पर्यटकले एक हिमालबाट फर्केपछि पिसिआर परीक्षण गर्नुपर्ने भएको छ । पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएमा मात्र पर्यटकले अर्को हिमाल आरोहणको अनुमति पाउनेछन् । आरोहणका क्रममा कुनै पनि पर्यटकको खोजी तथा उद्धार गर्नुपरेमा पर्यटन विभाग र पर्यटन प्रहरी इकाइमा अनिवार्य जानकारी गराउनुपर्ने प्रावधानसमेत तोकिएको छ । यसका लागि विभागले हटलाइन नम्बरसमेत दिएको छ ।