• वि.सं २०८० चैत १५ बिहीबार
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
इसो म्याककोली
२०७८ बैशाख १० शुक्रबार ०९:२५:००
दृष्टिकोण

जर्ज फ्लोयडले पाएको न्यायको अर्थ

२०७८ बैशाख १० शुक्रबार ०९:२५:००

अल्पसंख्यक समुदायका सबैले आफ्नो सम्मानको घोषणा गर्न प्रतिरोध गर्नैपर्छ, अन्यायविरुद्धको प्रतिरोध तिनकै स्वत्वका लागि पनि आवश्यक छ

‘नौ मिनेटको भिडियो हुँदाहुँदै किन सुनुवाइ भइरहेको छ, मैले बुझ्न सकिरहेको छैन,’ मेरो १३ वर्षीय छोराले अघिल्लो साता मसँग प्रश्न गर्‍यो । उसले जर्ज फ्लोयडको हत्याको सम्बन्धमा भइरहेको डेरेक चोभिनको सुनुवाइबारे कुरा गरिरहेको थियो । अहिले अदालतले चोभिनलाई हत्यालगायत तिनै आरोपमा दोषी ठहर्‍याएको छ । अलग–अलग आरोप तथा सजायबारे फरक प्रकारका कानुनी प्रश्नहरू थिए । तर, संसारलाई दोष र निर्दोषको द्वैधतामा हेर्ने किशोरको नजरमा भने जवाफ स्पष्ट थियो । 

छोरालाई दिने सही जवाफ मसँग थिएन । चोभिनको सुनुवाइ अमेरिकाको गहिरो नश्लीय न्यायको एक प्रतिनिधि घटना हो । फ्लोयडपछि पनि धेरै अश्वेतले प्रहरी हिंसामा ज्यान गुमाइरहेका छन् । अमेरिका अश्वेत परिवारबाट उल्लेख्य विवेकको अपेक्षा गर्छ । पछिल्लो समय ब्रुकलिनमा डोन्टे राइट र सिकागोमा १३ वर्षीय एडाम टोलेडोको नाम थपिएको छ ।

एकजना अफ्रिकन–अमेरिकी अभिभावकले अमेरिका अश्वेतहरूप्रति कति क्रूर हुन सक्छ भन्ने सत्य र आफ्ना सन्तान आफ्नो पहिचानलाई लिएर सजग हुने दिन आउनेछ भन्ने आशाका बीच सन्तुलन कायम राख्नुपर्छ । आगामी दिनमा हामीले मानसिक आघातमा मलम लगाउँदै लाखौँ अफ्रिकन–अमेरिकनलाई शिक्षित गर्ने, कानुन अभ्यास गराउने र शासन गर्न सिकाउनुपर्छ । यो लामो प्रक्रिया हुनेछ । 

एट्लान्टामा एक हप्ताअघि भएको आक्रमणपछि मैले आफ्नो कक्षामा एसियालीलक्षित नश्लवादबारे छलफल चलाएँ । यो वर्षको सुरुमा हामीले अमेरिकी व्यवस्थापिकामा भएको हुलहुज्जतबारे कक्षामा बहस गर्‍यौँ । अहिले विद्यार्थीको ध्यान सिकागो र बु्रकलिन सेन्टरमा भएको घटनामा छ । यसबारे मैले मेरा विद्यार्थी र बालबालिकालाई के बताउनुपर्छ भन्ने प्रश्न होला । तर, मैले सत्य बताउने निधो गरेँ । विविध जाति र फरक राजनीतिक मत भएका कक्षामा जातीय विभाजनबारे छलफल गर्न त्यति सजिलो हुँदैन । मलाई थाहा छ, केही मान्छेले नश्ल र असमानतासम्बन्धी बहसलाई मन पराउँदैनन् ।

जर्ज फ्लोयडलाई हिरासतमा लिइएको स्थानमा बनेको फ्लोयडको भित्तेचित्रअघि एक बालक

र, मेरो पेसा शिक्षण हो, पण्डित्याइँ होइन भन्ने पनि मलाई थाहा छ । विद्यार्थीलाई सोच्ने तरिका प्रदान गर्ने हो, निष्कर्षको शृंखला होइन । विद्यार्थीसामु सतर्कतापूर्वक सत्यको उजागर गर्नुपर्छ । यो मुद्दालाई बेवास्ता गर्ने सुबिस्ता कम्तीमा अश्वेत र ल्याटिन अमेरिकीलाई छैन । म तिनलाई जातीय विभेदको यथार्थबाट भाग्न नसकिने बताउँछु । आखिरमा आफू बाँच्ने संसारको यथार्थबाट कोही अछुतो रहन सक्दैन । उनीहरूले आफू बाँचेको संसारको वास्तविकता थाहा पाउनुपर्छ । 

यो मुद्दालाई बेवास्ता गर्ने सुबिस्ता कम्तीमा अश्वेत र ल्याटिन अमेरिकीलाई छैन । आखिर आफू बाँच्ने संसारको यथार्थबाट कोही अछुतो रहन सक्दैन । सबैले आफू बाँचेको संसारको वास्तविकता थाहा पाउनुपर्छ ।

मेरा बालबालिका र विद्यार्थी यही संसारमा बाँच्ने भएकाले यसका समस्याहरू भोग्ने नै छन्, तर उनीहरूले यसलाई परिवर्तन नै गर्न सकिँदैन भनेर स्विकार्न आवश्यक छैन । उदासीनताको सिकार हुनुहुँदैन । पर्दा बरु उनीहरू आँसु झारून्, शोक मानून्, तर उनीहरूले आवश्यक पर्दा प्रतिरोध पनि गर्न सक्छन् । उनीहरूले योजना बनाउने, संगठित हुने, प्रतिरोध गर्ने र र्‍याली आयोजना गर्ने जस्ता कार्य गर्न सक्छन् । कुनै एक घटनाले तिनले चाहेको परिवर्तन नल्याउने भएकाले उनीहरूले प्रतिरोध जारी राख्नुपर्छ । 

अल्पसंख्यक समुदायका सबैले आफ्नो सम्मान र मानवताको घोषणा गर्न पनि प्रतिरोध गर्नैपर्छ । अन्यायविरुद्धको प्रतिरोध देशका लागि मात्र होइन, तिनकै स्वत्वका लागि पनि आवश्यक छ । अश्वेतहरूको एउटा हिस्सामा एक खालको गम्भीर निराशा बढ्दै छ । यो हिस्सामा जति गरे पनि केही हुँदैन, परिवर्तन असम्भव छ भन्ने विश्वास बलियो हुँदै गएको छ । अर्को एक हिस्सामा भगवान्ले एक दिन सबै कुरा ठीक गर्छन् भन्ने विश्वास छ । तेस्रो हिस्सा पनि छ, जसले हाम्रो कुनै प्रयास पनि खेर नजाने विश्वास गर्छ । 

हामीले जर्ज फ्लोयडको घाँटीमा नौ मिनेटसम्म घुँडा राख्ने संसारको कुरा लुकाउनु हुँदैन । जहाँ डोन्टे राइट नियमित ट्राफिक जाँचमा निहत्था हुँदाहुँदै पनि गोली खाएर मारिन्छन् । फ्लोयडको हत्यामा चोभिनलाई सजाय भएकोमा मलाई राहत अनुभव भएको छ । जीवनको गुमेको घटनामा ‘खुसी’ शब्द जोड्नु सही हुँदैन । ज्युरीको निर्णयले मरेको मान्छे फर्किंदैन । एउटा अदालती मुद्दाले धेरै अश्वेत र ल्याटिन अमेरिकीको मनमा गढेको अविश्वास पखालिँदैन । एउटा निर्णय पनि महत्वपूर्ण हुन्छ, तर यसले सम्पूर्ण प्रणालीलाई सुधार्न सक्दैन । अझै धेरै काम गर्न बाँकी नै छ । 

फ्लोयडको परिवारले चोभिनको सजायपछि केही शान्तिको महसुस गरेको हुनुपर्छ, तर पनि परिवारले उनलाई गुमाइसकेको छ । बेसबल अभ्यासमा जाँदैगर्दा मैले छोरासँग एडम टोलेडोको मृत्युको घटनाबारे कुरा गरेँ । १३ वर्षका टोलेडोलाई रातको समयमा प्रहरीले छातीमा गोली हानेर मारे । अनायास नै यो घटनाबारे मेरो मुखबाट निस्कियो । गाडीमा किर्क फ्य्राङ्कलिनको गीत बजिरहेको थियो । हामी मौन रूपमा भगवान्को महिमागान गाइएको उक्त गीत सुनिरह्यौँ । त्यस क्षणमा हामी पिता र छोरा मात्र रहेनौँ, आफूअघि तेर्सिएको जीवनका काम कर्तव्यबारे सोचिरहेका अश्वेत युवक र अश्वेत पुरुषमा पनि बदलिएका थियौँ । 

लामो मौनता तोड्ने प्रयासमा मैले छोरासँग प्रश्न गरेँ, ‘तिमी के सोचिरहेका छौ ?’ उसको जवाफ केही उदास र वृद्धको जस्तो थियो, ‘म यो संसारमा केही असल काम गर्न चाहन्छु, जसले यसलाई थप राम्रो बनाओस् ।’ उसको सोचले मलाई केही पीडाको महसुस गरायो । त्यस पीडाले हामीलाई कमजोर बनायो । हामीले अगाडि बढ्नु नै छ । कुनै समय छोरासँगको बसाइमा चोभिनको मुद्दामा न्याय हासिल भएको बताउनेछु । मलाई थाहा छैन, उसको बोलीमा उत्साह तत्कालै फर्किन्छ कि फर्किंदैन । उसले आफ्नो समस्या र लडाइँको स्तर बोध गरेको छ । सबै अश्वेत युवा र युवतीले जीवनको कुनै न कुनै क्षणमा यो बोध गर्छन् । बेसबल अभ्यासमा जाँदैगर्दा उसले देखाएको कर्मठता कायम रहोस् भन्ने मेरो कामना छ । 

इसो म्याककोली ह्विटन कलेजका प्राध्यापक हुन् । 
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य