• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत २९ आइतबार ११:०९:००
स्वास्थ्य र जीवनशैली

दैनिकी सहज बनाउने मोबाइल एप्स

नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत २९ आइतबार ११:०९:००

स्मार्टफोन अहिले हरेक व्यक्तिको आवश्यकता बनिसकेको छ । अफिसियल कामका लागि होस् वा फुर्सदको समय सदुपयोग, जुनसुकै अवस्थाका लागि स्मार्टफोन निकै सहयोगी र उपयोगी पनि छ । स्मार्टफोनको बजारमा एन्ड्रोइड र आइफोनको दबदबा छ ।

स्मार्टफोनले दैनिक जीवनयापनलाई सहज बनाइरहेको हामी सबैले अनुभव गरेकै विषय हो । तर, स्मार्टफोन आफैँले यी कार्य भने गर्दैनन् । यसमा प्रयोग हुने विभिन्न एप्लिकेसनमार्फत तपाईं–हाम्रो दैनिकी सहज बनिरहेका छन् । एप्सले ल्याउने नयाँ फिचर प्रयोगकर्तामाझ बहसको विषय पनि बन्ने गर्छ । स्मार्टफोनका लागि हजारौँ एप्स बनेका छन्, जसमध्ये केही पैसा तिरेर त केही निःशुल्क प्रयोग गर्न पाइन्छ । यीमध्ये केही एप्स हरेकको स्मार्टफोनमा हुन्छन् ।

गुगल म्याप : प्रविधिको विकासले विश्वलाई सानो घेरामा समेटिदिएको छ । अहिलेको युगमा स्मार्टफोनको प्रयोगबाट मानिसले आधा सेकेन्डमा हरेक वस्तुको जानकारी लिन सक्छ । जसमध्ये अत्यधिक प्रयोगमा आउने एपमध्ये गुगल म्याप पनि हो । हरेक स्मार्टफोनमा जिपिएस सेट गरिएको हुन्छ । गुगल म्यापको सहयोगबाट रुचिको स्थानमा सजिलै पुग्न सकिन्छ । जिपिएसले गन्तव्यसम्म पुग्न लाग्ने समयसमेत देखाउँछ । 

गुगल सर्च : खोजी इन्जिनका लागि गुगल सर्च सबैभन्दा पहिला आउने नाम हो । विश्वभर हरेक मिनेट लाखौँ मानिस एकसाथ गुगल सर्च प्रयोग गरिरहेका हुन्छन् । गुगलले लगभग विश्वमा रहेका हरेक विषयवस्तुको जानकारी राखेको छ । जसले सर्च गरेको ३० सेकेन्डमा एकै विषयवस्तुमा सयौँ जानकारी उपलब्ध गराउन सक्छ । मानिसको दिमागले भ्याएसम्म हरेक विषय गुगलमा भेट्न सकिन्छ ।

युट्युब : पछिल्लो समय ल्यापटप र डेस्कटपभन्दा स्मार्टफोन बढी प्रयोगमा आउने गर्छन् । स्मार्टफोनमा प्रयोग हुने अर्को लोकप्रिय एपमा युट्युब पनि पर्ने गर्छ । कुनै एउटै विषयमा हजारौँ कन्टेन्ट सजिलै भेट्न सकिने र घन्टौँसम्म हेर्न वा सुन्न सकिने हुँदा युट्युब अत्यधिक प्रयोगमा आउने एपमा परेको हो । 

गुगल प्लेस्टोर : स्मार्टफोनमा अन्य एप डाउनलोड गर्नका लागि गुगल प्लेस्टोर अति आवश्यकजस्तै भइसकेको छ । एपहरूका नयाँ भर्सन र नयाँ अपडेटका लागि गुगल प्लेस्टोर प्रयोगमा ल्याउने गरिन्छ । गुगलबाट डाउनलोड गर्नका लागि अन्य एप्स पनि इन्टरनेटमा उपलब्ध छन् । तर, गुगल प्लेस्टोरले यति सजिलो बनाइदिएको छ कि जुनसुकै प्रयोगकर्ताले स्मार्टफोनको लेभलअनुसार एप डाउनलोड गर्न सक्छन् । 

जिमेल : इन्टरनेटमा सहज पहुँचका लागि जिमेल एकाउन्ट आवश्यक हुन्छ । सुरुवातीमा चिठीपत्र वा फ्याक्सको सट्टामा आएको जिमेल डाटा संकलनका लागि उपयुक्त स्थानसमेत हो । 

फेसबुक : अत्यधिक प्रयोग हुने एप्समा फेसबुक पनि एक हो । फेसबुकमा हालसम्म नौ सय मिलियन सक्रिय प्रयोगकर्ता छन् । सञ्चारका लागि बनाइएका एप्समध्ये फेसबुक सबैभन्दा सफल एप हो । जसले जुनसुकै स्थानमा रहेका व्यक्तिहरूसँग पनि सजिलै जोड्न सक्छ । यसबाहेक प्यान्डोरा रेडियो, इन्स्टाग्राम, एप्पल म्याप, याहु स्टक आदि पनि अत्यधिक प्रयोगमा आउने एप हुन् । 

– एजेन्सीको सहयोगमा