• वि.सं २०८१ बैशाख ५ बुधबार
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७७ फाल्गुण २३ आइतबार ०७:४७:००
प्रदेश

उद्घाटन नहुँदै आठ करोड लगानीको फर्निचर उद्योग आगोले नष्ट

२०७७ फाल्गुण २३ आइतबार ०७:४७:००

धनगढी चटकपुरस्थित धनगढी–अत्तरिया ६ लेन सडकको छेउमा हालै स्थापना भएको फर्निचरको ठूलो उद्योग र सोरुममा भीषण आगलागी भएको छ । आगलागीबाट आलोक मल्टी ट्रेड कन्सर्न प्रालिले स्थापना गरेको सोरुम र उद्योगभित्रका सबै सामान जलेर नष्ट भएका छन् । 

आगलागीबाट करिब आठ करोड रुपैयाँबराबरको क्षति भएको सञ्चालकले बताएका छन् । मध्याह्न सवा १२ बजेतिर भएको आगलागी करिब साढे दुई घन्टापछि नियन्त्रणमा आएको थियो । आगलागीको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने उनको भनाइ छ ।

आगोको लप्काले आलोक उद्योग र सोरुमभित्रका फर्निचर तथा कच्चा पदार्थ जलाइरहँदा धनगढीको आकाश कालो मुस्लोले ढाकिएको थियो । हालै स्थापना भएको उद्योग र सोरुम उद्घाटन नहुँदै आगलागीले खरानी बनेको हो । सुदूरपश्चिमका नौवटै जिल्लामा अत्याधुनिक र सुविधायुक्त फर्निचरसम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यले भोजराज भट्ट र पदम भण्डारीले मिलेर यसको सुरुवात गरेका थिए ।     

उद्योगको केही दिनमा उद्घाटन गर्ने तयारी रहे पनि नसोचेको घटना भएको सञ्चालक भण्डारीले बताए । उद्घाटनअघि आवश्यक फर्निचर तथा सामग्री लिन अर्का सञ्चालक भट्ट दिल्ली गएका छन् । ‘नयाँ भएकाले सामान पनि धेरै राखेका थियौँ । उद्घाटनका वेला ग्राहकलाई छुट दिने भनेर पनि सामान धेरै ल्याएका थियौँ । ८–१० दिनमा उद्घाटन गर्ने तयारी थियो,’ भण्डारीले भने, ‘नसोचेको घटना भयो । सबै जलेर नष्ट भए ।’

माथिल्लो तलामा रहेको फमबाट आगो सल्किएको उनले बताए । फममा पेट्रोलमा जस्तै एकैपटक आगो फैलिएकाले सामान जोगाउन नसकिएको भण्डारीको भनाइ छ । विद्युत् सट भएको हुन सक्ने उनको अनुमान छ । ६ कट्ठा क्षेत्रमा अगाडि सडकतिर सोरुम र पछाडि उद्योग थियो । जग्गा लिजमा लिएर सोरुमको स्थापना गरिएको हो । यो सुदूरपश्चिमकै सबैभन्दा ठूलो फर्निचर तथा फर्निसिङ सेन्टर थियो । जहाँ पाँचतारे होटेलमा उपलब्ध हुने सकरसहितको बेडसमेत उपलब्ध थिए । 

दमकल समयमै नपुग्दा बढी क्षति
धनगढी, गोदावरी, पुनर्वास नगरपालिकाका तीनवटा दमकल, नेपाल आयल निगमको पानीको पाइप, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको प्रयासले आगो नियन्त्रणमा आएको थियो । आगलागी सुरु हुनेबित्तिकै धनगढी उपमहानगरपालिकाको दमकललाई खबर गरिए पनि समयमै नपुगेको उद्योगका कर्मचारीले बताएका छन् । खबर गरेको करिब एक घन्टापछि मात्र उपमहानगरको दमकल आएको उनीहरूको भनाइ छ ।

‘समयमै दमकल आइदिएको भए मेसिनरी सामान जोगाउन सकिन्थ्यो,’ त्यहाँ कार्यरत आरिफ अहमद रायले भने, ‘खबर गर्‍यौँ, तर ढिलो आयो ।’ आगलागीस्थलबाट धनगढी उपमहानगरपालिका करिब साढे दुई किलोमिटरको दूरीमा पर्छ । ढिलो गरी पुगेको दमकल पनि पानी नलिएरै आएको स्थानीयले बताएका छन् । थोरै पानी लिएर पुगेको दमकल पुनः पानी लिन गएको थियो ।