Skip This
Skip This
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ फाल्गुण २० बिहीबार ०८:२२:००
प्रदेश

ताप्लेजुङको दोभानमा आगलागी : एक अर्बबराबरको क्षति भएको अनुमान,  श्रीसम्पत्ति खरानी भएपछि पीडितको बिचल्ली

२०७७ फाल्गुण २० बिहीबार ०८:२२:००

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजारमा मंगलबार आगलागी हुँदा एक अर्बबराबरको क्षति भएको प्रारम्भिक रिपोर्ट आएको छ । तर, क्षतिको यकिन विवरण भने आइसकेको छैन । बुधबारदेखि मात्र क्षतिको विवरण संकलन गर्न सुरु गरिएको मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले जानकारी दिए । आगलागीबाट करिब एक अर्ब रुपैयाँबराबरको क्षति हुन सक्ने अनुमान गरिएको जिल्ला विपद् व्यवस्थापन समिति सदस्यसमेत रहेका ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेले जानकारी दिए । 

सदरमुकाम फुङ्लिङपछि जिल्लाकै दोस्रो ठूलो बजारका रूपमा रहेको दोभान बजारमा आगलागीबाट ३३ घरधनीका ५० घर जलेको तथा डेरा बस्ने ३० परिवारसहित ६३ परिवारको धनसम्पत्ति जलेर खरानी भएको छ । २५ वर्षअगाडि गाउँबाट दोभानको सानो बस्तीमा आएका लोकेन्द्र अधिकारी पहिलाकै अवस्थामा पुगेका छन् । ‘आगोले घर र भएजति सम्पत्ति सबै खरानी भयो, पहिलेकै अवस्थामा आइपुगेँ, उमेर पनि ढल्कँदै गयो अब कसरी गुजार गर्ने ?’ गहभरि आँसु पार्दै उनले भने, ‘भएका काठका तीनवटा घर आँखाअगाडि खरानी भए, तर कसैगरी बचाउन सकिएन ।’

तीन दिनअगाडि ल्याएका तीन ट्रक चामल (करिब पाँच सय क्विन्टल), किराना साथै गाउँलेबाट ल्याइएको दुई सय मन अलैँचीसमेत सबै खरानी भएको उनले दुःखेसो पोखे । ‘धान्नै नसक्ने ऋण छ, गाउँबाट ल्याइएका किसानका अलैँचीसमेत बचाउन सकिएन, अब ऋण तिर्ने उपाय केही बचेन,’ उनले भने, ‘मेरो मात्रै तीन करोड बढीको क्षति भएको छ । सरकारले सबै क्षतिपूर्ति दिन नसक्ला, तर थोरै ब्याजमा ऋण उपलब्ध गराए हुने थियो ।’

आगोले २०६२ सालमा ढुंगेसाँघुबाट आएका जयप्रसाद भट्टराईको सबै धनसम्पत्ति सकिएको छ । एक सय मन अलैँची तथा चामल, जुत्ताचप्पल पसल, किराना पसल सबै जलेर खरानी भएको छ । बाकसमा राखेको नगद चार लाखसमेत झिक्न नपाएको उनले गुनासो गरे । एक करोड ५० लाखभन्दा बढीको क्षति भएको उनको भनाइ छ । बैंक ब्याज मिनाहा तथा सहुलियत ब्याजमा ऋण उपलब्ध गराउन सरकारसँग उनले माग गरे ।

मिक्वाखोला, मेरिङ्देन, आठराई त्रिवेणी र मैवाखोला गाउँपालिकाको व्यापारिक केन्द्र दोभान बजारमा आगलागीबाट एक अर्बभन्दा बढीको क्षति भएको स्थानीय व्यापारी बताउँछन् । बजारमा होलसेल व्यापार गर्दै आएका गुरु पौडेल आगोले आफ्नो दुई करोडभन्दा बढीको क्षति भएको बताउँछन् । ११ लाख नगद जलेको, चामल, बिस्कुट, चिउरा, अलैँचीलगायतका सामग्री सबै नष्ट भएको उनले बताए । 

स्थानीय भोला पौडेलको घरमा बिजुली सर्ट भई आगो बजारभरि फैलिएको बताइन्छ । बजारतिर आगो फैलिएपछि पनि उनी घरबाटै बाहिर निस्कन नमानेको उनका छिमेकी अमृत पालुङवाले बताए । ‘मेरो घरको बिजुलीबाट आगलागी भयो, बजार सबै ध्वस्त हुने भयो, यही आगोमा मर्छु’ भन्दै घरभित्रै बसेका वेला पौडेललाई आफूले तानेर बचाएको उनले बताए । पौडेलको अनुहार जलेको छ । हाल उनको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी प्रमुख डिएसपी बालनरसिंह राणाले जानकारी दिए ।

सरकारले तत्काल राहत उपलब्ध गराउनसमेत सकेन
जिल्ला विपद् व्यवस्थापन समितिले दैवीप्रकोपमा परी घरबारविहीन भएका आगलागीपीडित परिवारलाई तत्काल उपलब्ध गराउने राहतसम्म उपलब्ध गराउन सकेन । पीडित परिवारलाई तत्काल राहतस्वरूप पाउने राहत दिन नसकेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । समितिको कोषमा चार लाख मात्र भएका कारणले तत्काल राहत उपलब्ध गराउन नसकेको उनको भनाइ छ । दोभान बजारका अग्निपीडित परिवारलाई तत्काल १२ लाख रुपैयाँ चाहिने भएकाले राहत तथा आर्थिक सहायताका लागि केन्द्र र प्रदेश विपद् व्यवस्थापन समितिसँग अनुरोध गर्ने निर्णय भएको उनले बताए । आगलागीबाट पीडित परिवारका पाँचजना भएका परिवारलाई विपद् व्यवस्थापन कोषबाट नगद १५ हजार र पाँचजना भन्दा बढी परिवार भएकालाई २० हजार रुपैयाँका दरले आर्थिक सहायता प्रदान गर्ने पाण्डेले जानकारी दिए । मेरिङ्देन गाउँपालिकाका अध्यक्ष गणेश चोङबाङले आगलागीपीडितलाई आवश्यकताअनुसार सहयोग उपलब्ध गराएर पुनस्र्थापनाका लागि तत्काल कदम चाल्ने बताए । 

आगलागीपीडित प्रतिपरिवारलाई पाँच लाख दिइने
गृहमन्त्री रामबहादुर थापा बादलले आगलागीपीडितलाई प्रतिपरिवार पाँच लाख रुपैयाँ दिइने बताएका छन् । गृह मन्त्रालयमा बुधबार ताप्लेजुङका प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीलाई कार्यविधि संशोधन गरेर हिमाली भेगमा दिइने आवास निर्माणका लागि भूकम्पपीडित तथा बाढीपीडितसरह पाँच लाख प्रतिपरिवार दिइने गृहमन्त्री थापाले बताएका हुन् । मन्त्री थापाले आगलागीपीडितका लागि तत्काल प्रतिपरिवार १५ हजार, ८० थान कम्बल र ५० थान पाल उपलब्ध गराउने बताए ।

अग्निपीडितलाई राहत वितरण र संकलन सुरु
आफूले जिन्दगीभरि कमाएको सम्पत्ति आगोले सखाप पारेपछि पीडितहरू बिचल्लीमा परेका छन् । घरबार गुमाउनेमध्ये केही छिमेकी तथा आफन्तको सहारामा बसेका छन् । तर, सधैँ अर्काकै भरमा कतिन्जेल बस्ने भन्दै पीडितहरू के गर्ने कसो गर्ने भन्ने समस्यामा परेका छन् । ‘भएको सबै सम्पत्ति जलेर खरानी भएकाले तत्कालै घर बनाउने अवस्था पनि छैन,’ पीडित अमृत पालुङवाले भने, ‘अबको दिन कसरी वासको व्यास्था गर्ने भन्ने समस्या छ । के गर्ने कसरी अघि बढ्ने दिमागमा केही छैन ।’ 

अर्का अग्निपीडित भीम लङवा प्रश्न गर्छन्, ‘अग्निपीडित सबैको बिचल्ली भएको छ । के गर्ने, के नगर्ने भन्ने अन्योलमा छन् । आफन्त तथा छिमेकमा बसेर कसरी हुन्छ र ? अब कसरी घर बनाएर बस्ने ?’

दोभान बजारका अग्निपीडितलाई राहत वितरण गर्न सुरु गरिएको छ । मेरिङ्देन गाउँपालिकाले अग्निपीडितलाई प्रतिपरिवार नगद १५ हजार रुपैयाँका दरले आपत्कालीन राहत उपलब्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बूले ३३ घरधनी, डेरा गरी बस्ने ३० सहित ६३ परिवारलाई राहत उपलब्ध गराएको जानकारी दिए ।