• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
किरण दाहाल
२०७७ माघ ८ बिहीबार ०९:४४:००
दृष्टिकोण

प्रविधिप्रति उदासीन समाज 

अग्रलेख

२०७७ माघ ८ बिहीबार ०९:४४:००

विज्ञान, प्रविधिको विकास तथा प्रयोगमा सन् १७६० यता झन्डै २६० वर्षको अति महत्वपूर्ण समयावधि हामीले खेर फालेका छौँ

जनवरी ७ को ब्लुमबर्ग इन्डेक्सअनुसार एलेन मक्स १९५ अर्ब अमेरिकी डलर सम्पत्तिसहित संसारका सबैभन्दा धनी मानिसको सूचीमा पहिलो स्थानमा पर्न सफल भएका छन् । एलेन मक्स रकेट उत्पादक कम्पनी स्पेस एक्स र विद्युतीय कार उत्पादक कम्पनी टेस्लाका सिइओ हुन् । प्रविधि क्षेत्रका एक जबरदस्त प्रतिभा मक्सले आफ्ना अभूतपूर्व प्राविधिक आविष्कारको बलबुतामा सामान्य पृष्ठभूमिबाट आएर भए पनि यो उचाइ चुमेका छन् । अझ रोचक कुरा त के छ भने यस सूचीको उत्कृष्ट १० स्थानभित्र पर्न सफल धनाढ्यमध्ये सातजना प्रविधि क्षेत्रसँग सम्बन्धित छन् । धनाढ्यको सूचीमा दोस्रो नम्बरमा रहेका जेफ बेजोस अमेजन नामक इ–कमर्स कम्पनीका मालिक हुन् भने १०औँ स्थानमा पर्न सफल ल्यारी एलिसन ओर्‍याकल नामक सफ्टवेयर कम्पनीका सह–संस्थापक तथा अध्यक्ष हुन् । यसबाट हामी सहजै अनुमान लगाउन सक्छौँ कि आजको युगमा प्रविधि कति महत्वपूर्ण छ । आजको दिनमा कुनै राष्ट्रिय अर्थतन्त्रले आर्थिक विकास र समृद्धि हासिल गर्न चाहन्छ भने उसका लागि एउटा अनिवार्य सर्त भनेको प्रविधिलाई आत्मसात् गर्नु पनि हो । 

पछिल्लो समय नेपालको आर्थिक विकास र समृद्धिबारे विभिन्न कोणबाट डिस्कोर्स भइरहेको छ । यो डिस्कोर्समा एउटा छुटाउनै नहुने विषय प्रविधि पनि हो । नेपालको आर्थिक इतिहासमा प्रविधिको अवस्था कस्तो छ ? प्रविधिलाई बुझ्न नेपाली समाजले निर्माण गरेको भाष्य के हो ? हाम्रो उत्पादन प्रणालीमा प्रविधि कहाँनेर छ ? हामी कति प्रविधिमैत्री छौँ ? यी प्रश्नमाथि विमर्श हुनु जरुरी छ । 

नेपालको आर्थिक इतिहासको अध्ययन गर्दा उत्पादन प्रणालीले अँगालेको प्रविधिका मूलतः दुईवटा विशेषता देखिन्छन् । एउटा यो परम्परागत छ र अर्को श्रमप्रधान छ । हलो, ढिकी, जाँतो, ठेकी र मदानी, कोल, पानीघट्ट, आरन हामीले परम्परागत रूपमा प्रयोग गर्दै आएका श्रमप्रधान प्रविधि हुन् । त्यस्तै रक्सी पार्ने, गुन्द्री बुन्ने, तानमा कपडा बुन्ने र माटाका भाडा बनाउने प्रविधि पनि हाम्रा परम्परागत प्रविधिभित्रै पर्छन् । नेपाली समाज निर्वाहमुखी अर्थतन्त्रका लागि सहायक सिद्ध प्रविधिको विकास तथा प्रयोगमा मात्र सीमित भएको देखिन्छ । नेपाली समाजमा प्रविधिलाई उत्पादन प्रक्रियाको महत्वपूर्ण साधनका रूपमा भन्दा पनि श्रमलाई सहजीकरण गर्ने माध्यमका रूपमा मात्र लिइएको देखिन्छ । नयाँ प्राविधिक ज्ञान, सीप र यन्त्र उपकरणको विकास तथा प्रयोगका माध्यमबाट वस्तु तथा सेवाको उत्पादन बढाउन सकिन्छ, रोजगारी सिर्जना गर्न सकिन्छ र आर्थिक उन्नयन हासिल गर्न सकिन्छ भन्ने चेतनाको विकास र सञ्चार नेपाली समाजमा नभएको अवस्था छ । अझै पनि आधुनिक प्रविधिको आविष्कार, विकास र प्रयोगमा हाम्रो दिलचस्पी देखिँदैन । आज पनि हामी क्याम्पस तथा विश्वविद्यालयमा पुँजीप्रधान प्रविधिभन्दा श्रमप्रधान प्रविधि ठीक हुन्छ भनेर रटान लगाउँदै छौँ, जबकि विश्व हाइटेक प्रविधिमा गइसकेको छ । त्यसैले एलेन मक्सले मंगल ग्रहमा मानव बस्ती बसाउने सपना देख्दै गर्दा यता नेपालमा भने महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रका लागि आर्थिक स्रोतको जोहो गर्न दौडधुप गरिरहेका छन् र २१औँ शताब्दीमा आइपुग्दा पनि आविष्कार तथा आधुनिक प्रविधिको विकासमा नेपालको लगानी नगण्य छ ।

विश्वमा औद्योगिक क्रान्तिको समयदेखि प्रविधिको विकास र विस्तारले तीव्रता पाएको देखिन्छ । पहिलो औद्योगिक क्रान्ति (सन् १७६०–१८४०) का समय कपडा उद्योग, फलाम उद्योग, खानी, नहर, सडक, रेलमार्गलगायत क्षेत्रमा आधुनिक प्रविधिको विकास तथा प्रयोग भएको देखिन्छ भने वाष्प इन्जिन, रसायन, सिमेन्ट, पेपर मसिन, फ्याक्ट्री सिस्टम, आदिको आविष्कार भएको देखिन्छ । यी आधुनिक उत्पादन प्रविधि र आविष्कारबाट बेलायत विश्व शक्ति राष्ट्रको रूपमा उदाएको देखिन्छ । त्यस्तै अमेरिका र पश्चिमी युरोपका देशले तीव्र औद्योगिक विकाससँगै आर्थिक समृद्धि पनि हासिल गर्न सकेको देखिन्छ । दोस्रो औद्योगिक क्रान्ति (जसलाई प्रौद्योगिक क्रान्ति पनि भनिन्छ) को चरण सन् १८७० मा सुरु भएर सन् १९१४ मा प्रथम विश्व युद्ध सुरु हुनुअघिको समयसम्म रहेको पाइन्छ । टेलिफोनको व्यापक प्रयोग, पेट्रोलियम पदार्थको प्रयोग, विद्युतीकरणको सुरुवात, साइकल र अटोमोबाइलको व्यावसायिक उत्पादन, रबर उद्योगको स्थापना, प्रयोगात्मक विज्ञानको विकास र वैज्ञानिक व्यवस्थापन अवधारणाको विकास दोस्रो औद्योगिक क्रान्तिका मुख्य घटनाका रूपमा रहेका छन् । त्यस्तै, सन् १९८० को दशकयता विश्वमा सूचना तथा सञ्चार प्रविधिको युग सुरु भएको छ र यससँगै विकसित देशका अर्थतन्त्रहरू सूचना प्रविधिमा आधारित अर्थतन्त्रका रूपमा रूपान्तरण भएका छन् । यसप्रकार सयौँ वैज्ञानिक, इन्जिनियर, अन्वेषक, डिजाइनर, उद्योगपति र सफ्टवेयर डेभलपर्सका अनेकन् अध्ययन, अनुसन्धान र भगीरथ प्रयत्नको बलबुतामा यो विश्वजगत्ले पछिल्लो २६० वर्षमा प्रथम औद्योगिक क्रान्तिदेखि सूचना तथा सञ्चार प्रविधिको युगसम्मकोे यात्रा तय गर्न सफल भएको छ । 

प्रविधिको विकासमा सार्वजनिक क्षेत्र, निजी क्षेत्र वा व्यक्ति–विशेष, जोकोहीले पनि उल्लेखनीय भूमिका खेल्न सक्छ । विश्वमा कति आविष्कार व्यक्तिगत प्रयत्नका भरमा भएका छन्, कति आविष्कार कर्पोरेट कम्पनीका रिसर्च युनिटले गरिरहेका छन् ।

अब प्रश्न उठ्छ– विभिन्न चरण पार गर्दै युरोप र अमेरिकाले आधुनिक विज्ञान र प्रविधिको क्षेत्रमा अभूतपूर्व विकास र प्रगति हासिल गदै गर्दा नेपाल के गर्दै थियो ? पहिलो औद्योगिक क्रान्तिका समय हामी पृथ्वीनारायण शाहले सुरु गरेको राष्ट्र एकीकरणको अभियानलाई निरन्तरता दिइरहेका थियौँ र त्यसबखत विश्वमा भइरहेको आधुनिक प्रविधिको विकासप्रति हाम्रो राज्यसत्ताको कुनै विशेष चासो र चिन्ता देखिँदैन । दोस्रो औद्योगिक क्रान्ति सुरु हुँदै गर्दा नेपालमा जंगबहादुर राणा प्रधानमन्त्री थिए भने सन् १९१४ मा प्रथम विश्वयुद्ध सुरु हुनुअघि जब दोस्रो औद्योगिक क्रान्ति समापनको चरणमा थियो, त्यसवेला नेपालमा चन्द्रशमशेरको शासन चलिरहेको थियो । यही कालखण्डमा फोर्ड कार पहिलोपटक नेपालमा भित्रिएको थियो । साथै नेपालको पहिलो वैज्ञानिकका रूपमा गेहेन्द्रशमशेरको उदय र अवसान भएको थियो । त्यसवेला उनले वीर गन, धीर गन र गे–राइफल बनाएका थिए । तर, ३५ वर्षको उमेरमा उनको हत्या भयो । यसप्रकार दोस्रो औद्योगिक क्रान्तिको समय राणा प्रधानमन्त्रीले युरोपको भ्रमण गर्ने क्रममा आफ्नो सोखका लागि केही प्रविधि नेपाल भित्र्याएको देखिए पनि आधुनिक प्रविधिको विकास र प्रयोगलाई त्यति गम्भीरतापूर्वक लिएको देखिँदैन । त्यस्तै, सन् १९८० को दशकमा सूचना र प्रविधिको युग सुरु हुँदै गर्दा नेपाल भने पञ्चायती व्यवस्था ढालेर बहुदलीय प्रजातन्त्र ल्याउन संघर्षरत थियौँ । र, आज सन् २०२१ मा पनि हाम्रो राष्ट्रिय बहस सत्ताकै वरिपरि केन्द्रित छ । सत्य के हो भने सन् १९८० को दशकयता नेपाल बन्द अर्थव्यवस्थाबाट खुला अर्थव्यवस्थामा प्रवेश गरेको छ । नेपाली समाजमा विभिन्न यन्त्र उपकरण तथा रेडियो, टेलिभिजन, टेलिफोन, मोबाइल, इन्टरनेटलगायतका सूचना प्रविधिको उपभोग बढेर गएको छ । 

यसरी विज्ञान, प्रविधिको विकास तथा प्रयोगका सन्दर्भमा सन् १७६० यता झन्डै २६० वर्षको अति महत्वपूर्ण समयावधि हामीले खेर फालेका छौँ । सायद हामीले यसबीच धेरै प्राविधिक, वैज्ञानिक र अन्वेषक जन्माउन सक्थ्यौँ होला । आज राजनीति, साहित्य, संगीत, खेलकुद, कूटनीति, इतिहास, अर्थशास्त्र, चिकित्सा, कानुनलगायत क्षेत्रमा गरेको योगदानका आधारमा राज्यले नै गर्व गर्न मिल्ने अवस्था छ, तर विज्ञान, प्रविधि र आविष्कारको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका कोही व्यक्ति हाम्रा सामुन्ने छैनन् भन्दा फरक पर्दैन । यसले हामी विज्ञान, प्रविधि र आविष्कारमा कति पछाडि छौँ भन्ने छर्लंग पार्छ । ज्ञान र विज्ञानलाई अलग्याएर हेर्ने हाम्रो चिन्तन प्रणाली कस्तो हो ? ज्ञान र विज्ञान त एक–अर्काका परिपूरक पो हुनुपर्ने होइन र ? भावनात्मक कुरा गरेर देश बन्दैन, देश बन्न वस्तुगत आधार चाहिन्छ । र, त्यो वस्तुगत आधार तयार गर्ने विज्ञान, प्रविधि र आविष्कारले नै हो । 
अहिले हामी जुन देशलाई विकसित देश भनिरहेका छौँ, ती देशको आर्थिक समृद्धिको जग विज्ञानको विकास र प्रयोगमा अडिएको छ । आधुनिक प्रविधिको प्रयोग र विकासमा जोड दिएकै कारण आज चीन विश्वमञ्चमा प्रमुख आर्थिक शक्तिका रूपमा उदाएको छ । सन् १९७८ मा चीनको राजनीतिक नेतृत्व सम्हालेका देङ सियाओपिङले प्रविधिको महत्व बुझेका थिए । उनले चिनियाँ अर्थतन्त्रको आधुनिकीकरणका लागि चारवटा लक्ष्य तय गरेका थिए– कृषि, उद्योग, विज्ञान/प्रविधि, र राष्ट्रिय सुरक्षा । यी चार क्षेत्रको विकासबाट आधुनिक चीनको विकास हुने विश्वास उनले लिएका थिए । नभन्दै उनको नीतिअनुरूप चीनले चामत्कारिक आर्थिक विकास हासिल गर्‍यो । सन् १९७८ देखि सन् २०१८ सम्ममा चीनले औसतमा ९.५ प्रतिशतको अभूतपूर्व आर्थिक वृद्धि हासिल गरेको देखिन्छ । ‘एसियन टाइगर नेसन्स’का नामले परिचित चार देश– ताइवान, दक्षिण कोरिया, सिंगापुर र हङकङले पनि औद्योगिकीकरण र प्रविधिको प्रयोगमा दिएको जोडकै कारण सन् १९६० देखि सन् १९९० का बीचमा सात प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल गर्न सफल भए । नेपालमा भने सरकारको नेतृत्वमा आउने अधिकांशले प्रविधिको महत्व नै बुझेनन् । नेपालको राज्यसत्ताले कहिल्यै पनि विज्ञान र प्रविधिको विकास गर्नुपर्छ तथा यसको प्रयोगमा जोड दिनुपर्छ भनेर मनन गरेनन् । 

आर्थिक वृद्धिका पछिल्ला मोडेल (सोलो ग्रोथ मोडेल, इन्डोजिनस ग्रोथ मोडेल) ले टेक्नोलोजी र टेक्नोलजिकल प्रोगेसलाई आर्थिक वृद्धिको एउटा मुख्य शक्तिको रूपमा स्विकारेका छन् । सन् २०१८ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार विजेता अर्थशास्त्री पल रोमरले आर्थिक वृद्धि र प्रौद्योगिकीय नवप्रवर्तन (टेक्नोलोजिकल इनोभेसन) बीच दीर्घकालमा सीधा र गहिरो सम्बन्ध रहने बताएका छन् । नवीनतम् प्रविधिको प्रयोगले तत्काललाई उत्पादन लागत बढेको देखाए पनि दीर्घकालमा यसले वस्तु तथा सेवाको उत्पादन लागत घटाइरहेको हुन्छ । यसले वस्तु तथा सेवाको गुणस्तरमा सुधार गरेर उत्पादकलाई मूल्य लाभ दिइरहेको हुन्छ । प्रविधिको उपयोगले वस्तुको उत्पादन र सेवा प्रवाहमा समयको बचत हुनुका साथै वस्तु उत्पादन र सेवा प्रवाहको क्षमतालाई बढाइरहेको हुन्छ । 

नेपालको प्रमुख आर्थिक क्षेत्र भनेको कृषि, पर्यटन, ऊर्जा, उद्योग र सेवा क्षेत्र नै हो । यी क्षेत्रमा आवश्यकताअनुसारका प्रविधिको विकास र प्रयोग गर्न सक्यौँ भने यसले नेपालको आर्थिक उन्नयनमा अवश्य पनि ठूलो भूमिका खेल्न सक्नेछ । नेपालको आर्थिक विकासका लागि कृषिको विकास अपरिहार्य छ । ठूलो जनसंख्या आज पनि कृषिमा आश्रित छ । कृषिको रणनीतिक महत्व पनि हाम्रा लागि धेरै छ । तर, नेपालमा कृषि वस्तुको उत्पादन र कृषिको उत्पादकत्व अपेक्षाकृत रूपले बढ्न सकिरहेको छैन । कृषि उत्पादकत्व बढाउने एउटा प्रभावकारी उपाय कृषि प्रविधिको विकास र प्रयोगलाई सघन र व्यापक बनाएरै हो । नेपालमा कृषि उत्पादनलाई विनाप्रशोधन बजारमा पठाउने गरिन्छ, जबकि त्यसलाई प्रशोधन गरेर बजारमा पठाउँदा किसानले पहिलेको भन्दा ३०–४० प्रतिशत बढी मूल्य पाउन सक्छन् । प्रशोधन प्रविधिलाई भित्र्याउन नसक्दा किसानले ठूलो लाभ गुमाउनु परिरहेको छ । आज कृषि क्षेत्रको अनुसन्धान र विकासमा इजरायल विश्वमै अग्रणी मानिन्छ । नवीनतम् कृषि प्रविधिको अन्वेषण र त्यसको प्रयोगबाट इजरायल खाद्यवस्तुको उत्पादन र गुणस्तर दुवै बढाउन सफल भएको छ । इजरायलको अनुभवबाट सिक्न जरुरी छ । नेपालको हकमा कृषिमा प्रविधिको प्रयोगलाई सर्वसुलभ बनाउन सरकार तथा निजी क्षेत्र दुवैको प्रभावकारी हस्तक्षेप आवश्यक छ ।

नेपालको अर्थतन्त्रको मूलभूत समस्या भनेको बजारमा बिचौलियाको बाक्लो उपस्थिति पनि हो । जसले गर्दा बिचौलिया मोटाइरहने अनि उत्पादक र उपभोक्ता मारमा परिरहने अवस्था छ । आर्थिक गतिविधि र कारोबारमा सूचना प्रविधिको प्रयोगलाई बढावा दिन सक्ने हो भने बजारमा उत्पादक र उपभोक्ता सोझै जोडिन पुग्छन् र बिचौलियाको शृंखला स्वतः ध्वस्त हुन सक्छ । अन्य क्षेत्रमा प्रविधिको प्रयोग निराशाजनक देखिए पनि आज सेवाक्षेत्रअन्तर्गतको बैंकिङ क्षेत्रले सूचना प्रविधिको प्रयोगलाई राम्रोसँग आत्मसात् गर्दै लगिरहेकोे छ, जसले गर्दा बैंकिङ क्षेत्र तथा समग्र भुक्तानी प्रणाली थप सहज र आधुनिक बन्दै गइरहेको छ । यो सफल अभ्यासलाई हामीले सरकारी सेवाक्षेत्र र अन्य क्षेत्रमा पनि लान सक्छौँ । 

प्रविधि भनेको कहिल्यै पनि निरपेक्ष हुँदैन । यो समयसापेक्ष हुन्छ । हिजो युरोप, अमेरिकाले जुन प्रविधि प्रयोग ग¥यो, त्यसैको प्रयोग आजको समयमा असान्दर्भिक पनि हुन सक्छ । प्रविधि भनेको परिष्कृत भइरहने क्षेत्र हो । कुनै वेला थोमस एल्बा एडिसनले साधारण बल्बको आविष्कार गरे । त्यसपछि क्रमशः ट्युबलाइट, सिएफएल र एलइडी बल्बको आविष्कार भयो । कुनैवेला कोइलाबाट चल्ने रेल आज म्यागनेटिक लेभिटेसन प्रविधिबाट चल्ने भएको छ । त्यस्तै, समयको आवश्यकता र परिस्थितिका आधारमा हामीले प्रविधिको छनोट गर्ने हो । पर्यावरणमैत्री प्रविधि आजको आवश्यकता हो । 

प्रविधिको विकासमा सार्वजनिक क्षेत्र, निजी क्षेत्र वा एउटा व्यक्ति–विशेष जोकोहीले पनि उल्लेखनीय भूमिका खेल्न सक्छ । विश्वमा कति आविष्कार व्यक्तिगत प्रयत्नमा भएका छन्, कति आविष्कार कर्पोरेट कम्पनीका रिसर्च युनिटले गरिरहेका छन्, कति आविष्कार सरकारी पहल र लगानीमा भइरहेका छन् । जस्तो कि रेडियो, टेलिफोन, टेलिभिजन र बल्बको आविष्कार व्यक्तिले गरेका हुन् । म्याक कम्प्युटर, आइप्याड र आइफोनको आविष्कार एप्पल कम्पनीले गरेको हो । त्यसैले नेपालमा पनि व्यक्ति, विश्वविद्यालय, सार्वजनिक क्षेत्र र निजी क्षेत्रले एकल प्रयास वा सहकार्यमा प्रविधिको विकासतर्फ आफूलाई केन्द्रित गर्न जरुरी छ ।