• वि.सं २०८० चैत १६ शुक्रबार
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २ शुक्रबार १९:२९:००
मुख्य समाचार

प्रचण्ड–नेपाल समूहको निर्णय : ओलीलाई अनुशासनको कारबाही गर्न स्पष्टीकरण, पौडेल महासचिवबाट हटाइए (भिडियोसहित)

नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २ शुक्रबार १९:२९:००

नेकपाको प्रचण्ड–नेपाल समूहले अर्को समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई पार्टी सदस्यतासमेत नरहने गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समिति बैठकले कारबाहीको प्रक्रिया अगाडि बढाउनका लागि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । 

स्थायी कमिटी सदस्य बेदुराम भुसालले संसद् विघटन गरेर संविधान र लोकतन्त्रलाई नै संकटमा पु¥याएका कारण कारबाही प्रक्रिया अगाडि बढाउन स्पष्टीकरण सोध्ने निर्णय भएको जानकारी दिए । नेकपाको विधानअनुसार कुनै पनि पार्टी सदस्यलाई कारबाही गर्नुअघि स्पष्टीकरण सोध्ने र सफाइको मौका दिने व्यवस्था छ । त्यही व्यवस्थाअनुसार प्रक्रिया अगाडि बढाइएको भुसालले बताए । 

त्यस्तै, बैठकले अर्को समूहमा रहेका महासचिव विष्णु पौडेललाई महासचिवको जिम्मेवारीबाट हटाउने निर्णय पनि गरेको छ ।

बैठकले १६ माघमा सहिद दिवसको अवसरमा काठमाडौंमा बृहत् विरोध प्रदर्शन र आमसभा गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, प्रदेश १ को अध्यक्षमा घनेन्द्र बस्नेत तथा सहइन्चार्जहरूमा जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई, जयन्ती राई, राम कार्की, पदम राई र पेसल खतिवडालाई स्थायी कमिटी बैठकले जिम्मेवारी तोकेको छ । प्रदेश १ को इन्चार्ज भीम आचार्य छन् ।