• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ कार्तिक २२ शनिबार ०८:१२:००
खेलकुद

आर्थिक संकटमा बार्सिलोना

नयाँ पत्रिका काठमाडाैं
२०७७ कार्तिक २२ शनिबार ०८:१२:००

युरोपकै शक्तिशाली क्लब बार्सिलोनाले आर्थिक संकट परेको जनाउँदै खेलाडीको पारिश्रमिक कटौती गर्ने प्रस्वाव राख्यो, बार्सिलोनाबाट लियोनल मेसीले प्रतिसाता पाँच लाख पाउन्ड थाप्छन्

गत वर्ष बार्सिलोना उपाधिविहीन रह्यो । एक दशकपछि कुनै पनि उपाधि जित्न नसक्दा बार्सिलोनाको मार्केट भ्यालु तुलनात्मक रूपमा घटेको छ । अर्कोतिर कोरोना भाइरस महामारी सामना गरिरहेको बार्सिलोनाले बिहीबार क्लब आर्थिक संकटमा रहेको बताउँदै खेलाडीहरूको पारिश्रमिक कटौती गर्ने घोषणा गरेको छ । अन्तरिम अध्यक्ष कार्लेस टुस्विटेसले क्लब अति नै जोखिमपूर्ण रहेको जनाउँदै ७ सय २० मिलियन पाउन्ड ऋणमा रहेको खुलासा गरेका छन् । राम्रो अवस्थामा आउन क्लबलाई कम्तीमा एक अर्ब पाउन्ड आवश्यक रहेको कार्लेसले बताए । 

निवर्तमान अध्यक्ष जोआन लोपार्टाको कमजोरीकै कारण अहिले बार्सिलोना ऋणमा रहेको दाबी कार्लेसले गरेका छन् । यसैगरी क्लब आर्थिक रूपमै कमजोर हुनुको पछाडि खेलाडीलाई दिइने पारिश्रमिक नै रहेको उनको भनाइ छ । युरोपमा खेलाडीलाई धेरै पारिश्रमिक दिने क्लबमा बार्सिलोना अगाडि पर्छ । क्लबले वार्षिक आफ्नो बजेटको ७० प्रतिशत हिस्सा खेलाडीलाई पारिश्रमिककै रूपमा बाँड्ने गरेको छ ।

‘युरोपमा हेर्‍यौँ भने बार्सिलोनाले खेलाडीलाई दिइने पारिश्रमिक उच्च छ, हामीले आफ्नो बजेटको ७० प्रतिशत रकम खेलाडीलाई बाँड्छौँ,’ खेलाडीको खर्चविवरण देखाउँदै कार्लेसले भने । खेलाडीको बजेट थोरै घटाउँदा पनि क्लबको अवस्था सुधार आउन सक्ने उनी मान्छन् । सबै खेलाडीको प्रदर्शन र सम्झौताअनुसार पारिश्रमिक कटौती हुन सक्ने उनको भनाइ छ । भन्छन्, ‘हामीले खेलाडीसँग यसबारेमा कुरा राखेका छौँ, सम्भवत उनीहरू पनि क्लबको दयनीय अवस्थाबाट अनभिज्ञ छैनन् ।’

बार्सिलोनाले प्रत्येक वर्ष खेलाडीको वार्षिक पारिश्रमिकमा मात्र १ अर्ब ४० लाख पाउन्ड खर्च गर्छ । यो गत वर्षको आर्थिक विवरण हो । कोभिड–१९ को प्रभावले गत जनवरीदेखि बार्सिलोनाले खेलाडीलाई तलब खुवाउन समस्या भोगिरहेको छ । क्लब आर्थिक संकटमा पर्नुपछाडि कोभिड–१९ नै मुख्य कारण रहेको अन्तरिम अध्यक्ष कार्लेसले दाबी गरेका छन् । बार्सिलोना पर्यटकीय सहर भएकाले यहाँ वार्षिक कराडौँ विदेशी नागरिक घुमफिर गर्न आउँछन् । कोभिड–१९ को प्रभावले पर्यटक शून्यझैँ रहेको छ । उनी भन्छन्, ‘बार्सिलोनाको बलियो आम्दानी पक्ष नै पर्यटकीय फुटबल समर्थक हो, अहिले रंगशाला खाली नै छ, क्लबमा रहेको संग्रहालयको पनि आम्दानीको प्रमुख स्रोत हो, रंगशाला र संग्रहालयको कोही पर्यटक नआउँदा कहाँबाट हामीले आम्दानी गर्न सक्छौँ ।’ 

बार्सिलोनाको प्ले ११ मध्ये ६ जना खेलाडीले प्रतिशाता धेरै कमाउँछन् । अर्जेन्टिनी तथा बार्सिलोनाका कप्तान लियोनल मेसी धेरै पारिश्रमिक थाप्ने खेलाडीमा पर्छन् । उनले बार्सिलोनाबाट प्रतिसाता ५ लाख पाउन्ड लिन्छन् । समग्रमा बार्सिलोनाले प्रतिवर्ष मेसीलाई पारिश्रमिक मात्र २ करोड ६० लाख पाउन्ड बुझाउँछ । त्यसपछि फ्रेन्च स्ट्राइकर एन्टोनियो ग्रिजम्यान दोस्रो महँगा खेलाडीमा पर्छन् । उनले प्रतिसाता २ करोड ९४ लाख पाउन्ड बुझ्छन् । क्लबका सियनर खेलाडी जेरार्ड पिकेले प्रतिवर्ष १ करोड १४ लाख पाउन्ड लिँदा उनको प्रतिसाता पारिश्रमिक २ लाख २० हजार पाउन्ड रहेको छ । 

टिकेट तथा संग्रहालयमा रहेको सामग्री बिक्रीबाट नै खेलाडीको वार्षिक पारिश्रमिक बजेट निर्धारण हुने अन्तरिक अध्यक्ष कार्लेसले बताए । संकटमै परेका कारण बार्सिलोना खेलाडीलाई दीर्घकालीन योजना लागू गर्ने तयारीमा छ । यो योजनाअनुसार खेलाडीसँग एकै रकममा लामो समय सम्झौता गर्नु हो । यद्यपि क्लब आम्दानीमा रहेको अवस्थामा सम्झौताअनुसारै खेलाडीले पारिश्रमिक लिनुपर्ने हुन्छ ।

‘हामीले खेलाडीसँग एउटा सम्झौता तयारीमा छौँ, यसमा सबै खेलाडीलाई लामो समयकै लागि सम्झौता गछौँ, तर त्यसमा रकम थप हुँदैन, एकै स्केलमा उनीहरूले पारिश्रमिक पाउनेछन्,’ कार्लेसले भने । यता करार सम्झौता गरेका स्टाफहरूको तीन प्रतिशत बजेट कटौतीको तयारीमा क्लब लागेको छ । आउने जनवरीमा नयाँ अध्यक्षको निर्वाचन हुनेछ । क्लबले पनि जनवरीसम्म कोभिड–१९ को अवस्थामा सुधार आउने अपेक्षा राखेको छ । निर्वाचित हुने नयाँ अध्यक्षको योजना कस्तो रहनेछ, त्यसमा क्लबको भविष्य निर्भर हुने कार्लेसले जनाए ।