• वि.सं २०८० चैत १६ शुक्रबार
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज २२ बिहीबार १४:४२:००
प्रदेश

वैतेश्वर जग्गा प्रकरण : छानबिन समितिले गर्‍यो प्रतिवेदन सार्वजनिक 

२०७७ असोज २२ बिहीबार १४:४२:००

स्थानीयले जग्गा दान गरेपछि स्थायी केन्द्र निर्माण भएको दोलखाको वैतेश्वर गाउँपालिकामा जग्गा अपचलन भएको भन्दै विवाद भएकाे छ । विवाद भएपछि गाउँपालिकाद्वारा छानबिन समिति गठन भएकाे थियाे । समितिले विवादित जग्गाबारे प्रतिवेदन सार्वजनिक गरेको छ । 

स्थानीयले दान गरेको जग्गा अपचलन भएको भन्दै सार्वजनिक रूपमा इस्यु उठेपछि वैतेश्वरले भदौ २३ गते गठन गरेको समितिले बुधबार आफ्नो अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । 

गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ६ का वडाध्यक्ष शमशेर घिसिङ नेतृत्वको छानबिन समितिले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ । 

प्रतिवेदनमा गाउँपालिकाको स्थायी केन्द्र निर्माणका लागि २८ जना जग्गादाताबाट दान प्राप्त भएको १३ हजार दुई सय ५१ वर्गमिटरमध्ये ११ हजार तीन सय ९३ वर्गमिटर जग्गा कार्यालय निर्माण हुने क्षेत्रमा ठूलो परिमाणमा दान गर्ने दाताहरूलाई शाेधभर्ना गरिएको उल्लेख छ ।

बाँकी रहेको एक हजार नौ वर्गमिटर जग्गा भने रजिष्ट्रेसन र नामसारीजस्ता शीर्षकमा गाउँपालिकाको बजेट खर्चिन नमिल्ने भएपछि बिक्री गरी खर्च गरिएको उल्लेख गरिएको छ । 

समितिका अनुसार जग्गादाताबाट प्राप्त भएको जग्गा गाउँपालिकाको नाममा ल्याउन र बाँकी शाेधभर्ना गरी पुनः जग्गादाताकै नाममा  रजिष्ट्रेसन पास गर्न झन्डै १० लाख रकम खर्च भएको संयोजक घिसिङले बताए ।

उनका अनुसार उल्लेखित सबै निर्णय गाउँकार्यपालिकाद्वारा गठित जग्गा व्यवस्थापन समितिले प्रचलित नियमअनुसार नै गरेको जनाए ।  उनका अनुसार त्यसरी बिक्री गरिएको एक हजार नौ वर्गमिटर जग्गा स्थानीय सीता आचार्य र निर्मला घिसिङलाई ६ सय वर्गमिटर र मनमाया दाहाल, लालकुमारी तामाङ र कमला तमाङलाई चार सय नाै वर्गमिटर बिक्री गरी प्राप्त रकमले जग्गासम्बन्धी भएका खर्चहरू व्यवस्थापन गरिएको हो ।

उल्लेखित व्यक्तिहरू वैतेश्वर गाउँपालिकाका जनप्रतिनिधिका आफन्त रहेको स्थानीयले जनाएका छन् । छानबिन समितिले जारी गरेको विज्ञप्तिमा जग्गा व्यवस्थापन समितिका सदस्यहरू बालकुमार दाहाल र पदमबहादुर दाहालको नाममा नपुग जग्गादाताहरूलाई उपलब्ध गराउन आठ सय ४९ वर्गमिटर जग्गा बाँकी रहेको जनाइएको छ । 

उक्त जग्गा पहिलो घेरामा ठूलो परिमाणमा दान दिने दाताहरूलाई शाेधभर्ना गर्न राखिएको भए पनि दाताहरूबीच सहमति भइनसकेकाले बाँकी रहेको जनाइएको छ । 

शाेधभर्नामा स्वार्थ राखिएको स्थानीयको आरोप 

पत्रकार सम्मेलनमा उपस्थित केही जग्गादाताले भने शाेधभर्ना गर्ने भनिएको जग्गा व्यवस्थापन समितिका सदस्यहरूले स्वार्थ राख्दै वितरण गरिएको आरोप लगाएका छन् । 

जग्गादाता पदमबहादुर दाहालले शाेधभर्ना गरिनुपर्ने जग्गामा समितिका सदस्य बालकुमार दाहालले स्वार्थ राखेर वितरण गरेको आरोप लगाए । उनले आफूहरूको एउटै परिवारबाट ठूलो परिमाणमा जग्गा दान गरे पनि कमजोर जग्गा दिन खोजेकाले अहिलेसम्म जग्गा लिन नसकिएको गुनासो गरे । उनले भने, ‘हामीले यति फराकिला पाटाहरू दियौँ, तर त्यसको सट्टा पाखो आकारको जग्गा दिन खोजियो ।’ 

अर्का दाता हरिबहादुर दाहालले व्यवस्थापन समितिका सदस्यहरूकै कारण यो समस्या आएको बताउदै गाउँपालिकाले उचित सम्मान हुने गरी जग्गा वितरण गर्नुपर्ने बताए । जग्गा व्यवस्थापन समितिका सदस्य बालकुमार दाहालले भने गाउँपालिकामा प्राप्त भएको जग्गा समानुपातिक रूपमै वितरण गरिएको दाबी गरेका छन् । 

सबै मिलेर पाँडुलाई नमुना क्षेत्र बनाऊँ : अध्यक्ष लामा 

वैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले अत्यन्तै कडा मिहिनेतका साथ पाँडुडाँडालाई स्थायी केन्द्रको रूपमा विकास गरिएको बताउँदै सबै मिलेर उक्त क्षेत्रलाई नमुना बनाउन अनुरोध गरे । 

अध्यक्ष लामाले पाँडु क्षेत्रको विकासका लागि आफूहरू निरन्तर प्रयत्नरत रहेको भन्दै जग्गा दान दिने दाताहरूलाई उच्च सम्मान हुने गरी गाउँपालिका अघि बढ्ने बताएका छन् । उनले सामान्य विवाद आपसी छलफलबाटै समाधान गर्न सबैलाई आग्रह गरे । 

अध्यक्ष लामाले जग्गा व्यवस्थापनसम्बन्धी खर्च गाउँपालिकाको बजेटबाट गर्न नमिल्ने भएपछि खर्च व्यवस्थापनकै लागि पनि जनप्रतिनिधिका आफन्तहरूले पैसा तिरेर जग्गा खरिद गर्नु कुनै नौलो काम नभएको भन्दै यो विषयलाई सामान्य लिन अनुरोधसमेत गरेका छन् । उनले सामाजिक सञ्जालमा आएका अनेकौँ प्रतिक्रियाका पछि नलागी वास्तविकता बुझ्न सबै सरोकारवालालाई अनुरोध गरेका छन् । 

नेकपाको छानबिन प्रतिवेदन केही दिनमै सार्वजनिक हुने 

वैतेश्वर जग्गा प्रकरणसम्बन्धी छानबिन गर्न नेकपा वैतेश्वर गाउँपालिका कमिटीले पनि छानबिन समिति गठन गरेको थियो । सात सदस्यीय समितिले आवश्यक अध्ययन गरी जिल्ला पार्टी कमिटीलाई प्रतिवेदन बुझाइसकेको समितिका एक सदस्यले बताए । उनका अनुसार जिल्ला कमिटीले केही दिनभित्रै प्रतिवेदन सार्वजनिक गर्नेछ ।