• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
विजयराज खनाल काठमाडौं
२०७७ असोज १० शनिबार ०७:२३:००
अर्थ

करिब तीन वर्षपछि चालू खाता नाफामा

विजयराज खनाल काठमाडौं
२०७७ असोज १० शनिबार ०७:२३:००

आयात घट्दा र रेमिट्यान्स, पेन्सन आप्रवाह बढेपछि चालू खातामा सुधार, भुक्तानी सन्तुलन पनि सकारात्मक

विदेशबाट मुलुक भित्रने रेमिट्यान्स र पेन्सन रकम बढ्दा करिब तीन वर्षपछि पहिलोपटक मुलुकको चालू खाता धनात्मक भएको छ । पछिल्लो तीन वर्षको अवधिमा हरेक महिना यो खाता ऋणात्मक रहने गरेको थियो । चालू खातामा वस्तु तथा सेवाको आयात–निर्यात, रेमिट्यान्स, पेन्सन, अनुदानको आप्रवाह–बहिर्वाह हेरिएको हुन्छ । मुलुकको आयात उच्चदरमा घटेको तथा रेमिट्यान्स र पेन्सन रकम भित्रने दर बढेकाले पनि चालू खाता धनात्मक भएको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको पहिलो महिनाको तुलनामा रेमिट्यान्स रकम १७ अर्ब (२३ प्रतिशत)ले वृद्धि भएर ९२ अर्ब ७१ करोड पुगेको छ । गत वर्षको साउनमा ७५ अर्ब ४० करोड रेमिट्यान्स भित्रिएको थियो । 

चालू आवको पहिलो महिनामा आयात २० प्रतिशतले घटेर ८५ अर्ब ८१ करोडमा सीमित भएको छ । गत सालको साउनमा १ खर्ब ६ अर्ब ७२ करोडको आयात भएको थियो । त्यस्तै, पेन्सन आप्रवाह ३८ करोड अर्थात् ७ प्रतिशतले बढेर ५ अर्ब ६० करोड पुगेको छ । गत वर्ष विदेश भ्रमण जाने नेपालीहरू बढ्दासमेत सेवा क्षेत्र ऋणात्मक हुँदा चालू खातामा घाटा बढ्ने गरेको थियो । तर, चालू वर्ष यो क्षेत्रमा समेत सुधार देखिएको छ । 

लकडाउनमा औद्योगिक वस्तुकै आयात २ खर्बले घट्यो 

कोभिड–१९ का कारण चैतदेखि भएको लकडाउन, निषेधाज्ञाले औद्योगिक वस्तु, यातायात क्षेत्रका सामग्री, इन्धनको आयातबापत हुने खर्च २ खर्ब रुपैयाँले घटेको छ । चैत ०७५ देखि साउन ०७६ सम्मको ५ महिनामा यी वस्तुको आयात ४ खर्ब ४७ अर्ब रुपैयाँबराबरको भएको थियो । तर, चैत ०७६ देखि साउन ०७७ सम्म अवधिमा २ खर्ब ३६ अर्ब रुपैयाँको वस्तु मात्रै आयात भएको छ । अघिल्लो वर्षको तुलनामा यो अवधिमा करिब ४७ प्रतिशत (२ खर्ब ११ अर्ब रुपैयाँ)ले यस्तो आयात घटेको हो । ‘भदौबाट यसमा सुधार देखिएको छ, निषेधाज्ञा खुकुलो भएकाले आर्थिक गतिविधि बढ्न थालेको छ र यसले माग पनि बढाउँदै छ,’ राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले भने, ‘आर्थिक गतिविधिले गति लिने देखिन्छ, तर कोभिडको अनिश्चितता उच्च छ । यसबाट बचेरै आर्थिक गतिविधि जारी राख्नुपर्ने देखिन्छ ।’ 

खाद्यान्न तथा पेय पद्धार्थको आयात पनि १० प्रतिशत (८ अर्ब रुपैयाँ)ले घटेर ८७ अर्ब रुपैयाँमा सीमित भएको छ । समग्र आयात २० प्रतिशतले घटे पनि व्यापार घाटा ७६ अर्ब देखिएको छ । साउनमा ९ अर्ब ६२ करोडको निर्यात हुँदा ८५ अर्ब ८० करोडको घाटा भएको हो । राष्ट्र बैंकको तथ्यांकले साउनमा समग्र आयातमा औद्योगिक सामग्रीकै आयात उच्च (३२ प्रतिशत हिस्सा) रहेको देखाएको छ ।  

आर्थिक गतिविधिमा आएको सुस्तपनले बैंकहरूको निजी क्षेत्रतर्फ कर्जा प्रवाहसमेत घटेको छ । असारको तुलनामा साउनमा १७ अर्ब रुपैयाँले निजी क्षेत्रतर्फको कर्जा घटेको तथ्यांक छ । बैंकहरूले कर्जा विस्तार गर्न नसक्दा अन्य बैंकबाट सापटी (अन्तरबैंक कारोबार) लिनै छाडेका छन् । साउनमा वाणिज्य बैंकहरूले १ अर्ब रुपैयाँ मात्र अन्तरबैंक कारोबार गरेका छन् । जबकि, गत वर्षको यही अवधिमा १ खर्ब ४६ अर्ब अन्तरबैंक कारोबार गरेका थिए । शोधनान्तर बचत (भुक्तानी सन्तुलन) भने ५१ अर्ब ४६ करोड रुपैयाँले सकारात्मक छ । गत वर्षको यही महिनामा ६ अर्ब रुपैयाँले बचतमा थियो । 

आयात घट्दा विदेशी मुद्राको सञ्चितिमा पनि वृद्धि हुन थालेको छ । राष्ट्र बैंकसँग १४ खर्ब ३६ अर्ब रुपैयाँबराबर विदेशी मुद्रा सञ्चितिमा छ । यसले १५ महिना ६ दिनको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्थामा आएको छ । आर्थिक गतिविधि ठप्पजस्तै हुँदा सरकारले खर्च गर्न सकिरहेको छैन । सोही कारण साउनमा सरकारी ढुकुटी (प्रदेश र स्थानीय तहको समेत)मा १ खर्ब ९६ अर्ब रुपैयाँ सञ्चिति रहेको छ । 

साउनमा मूल्यवृद्धि घट्यो
साउन महिनामा वार्षिक रूपमा मात्रै होइन, गत असारको तुलनामा समेत मूल्यवृद्धिदर घटेको छ । गत वर्षको साउनमा मूल्यवृद्धिदर ६ दशमलव ९५ प्रतिशत रहेकोमा चालू वर्षको साउनमा ३ दशमलव ४९ प्रतिशत छ । त्यस्तै, असारको तुलनामा साउनमा मूल्यवृद्धि १ दशमलव ०९ प्रतिशत बिन्दुले कम छ । असारमा मूल्यवृद्धिदर ४ दशमलव ५४ प्रतिशत थियो । 

अझ तरकारीको मूल्यमा असारको तुलनामा साउनमा २८ प्रतिशतले वृद्धि भएको छ । साउनमा सबैभन्दा धेरै तराई र हिमाल क्षेत्रमा महँगीको मार परेको छ । काठमाडौंमा ३ दशमलव ३१ प्रतिशत हुँदा तराई र हिमाली क्षेत्रमा क्रमशः ४ दशमलव शून्य २ र ४ दशमलव शून्य ७ प्रतिशत मूल्यवृद्धि छ ।