• वि.सं २०८० चैत १५ बिहीबार
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
पूर्णिमा श्रेष्ठ
२०७७ असोज १० शनिबार ०६:१०:००
फिचर

एकपटक फेरि मनास्लु चढ्ने रहर छ 

२०७७ असोज १० शनिबार ०६:१०:००

गोर्खामा जन्मिएकी म सानो हुँदा हिमाल भनेको गणेश हिमाल मात्रै हो भन्ने सोच्थेँ । आरुघाट गाउँपालिका–९ आरुटारस्थित हाम्रो घरबाट प्रस्ट देखिने यो हिमाल पनि मेरा लागि जुनताराजस्तो मात्र थियो (सधैँ देखिने तर वास्ता नहुने) ।

हरेक वर्ष दसैँ–तिहारताका मनास्लु हिमाल चढ्न आउने विदेशीहरू हाम्रै विद्यालयको चौरमा टेन्ट राखेर बस्थे । आमाले कापी किन्ने पैसा हुन्छ भनेर हामीलाई साग बेच्न पठाउनुहुन्थ्यो । हामी पनि विद्यालयको चौरमा बसेका विदेशी हेर्न पाउने भएकाले डोकोभरि साग लिएर बेच्न जान्थ्यौँ । घर फर्किने वेला ती विदेशीलाई हेर्न जान्थ्यौँ । उनीहरूले कहिले पेन्सिल त कहिले चकलेट दिन्थे । साग बेच्न जान मन लाग्नुको मुख्य कारण चकलेट पाउने लोभ पनि हो ।

फोटो पत्रकारिता यात्रा 
एसएलसीपछि पत्रकारिता विषय पनि लिएर पढेँ । टिभीमा समाचार पढुँला भनेर । तर, रिपोर्टिङका क्रममा क्यामेरा बोक्ने महिला कम देखेपछि क्यामेराअगाडि बोल्नेभन्दा पनि क्यामेरा बोक्न मन लाग्यो । क्यामेरा किन्ने हुटहुटी चल्यो । ०६९ सालबाट फुड एन्ड वाइन पत्रिकामा पूर्णकालीन रिपोर्टर र फोटोग्राफर भएर काम गरेँ । क्यामेरा हात पर्दा जागिरे भइसकेकी थिएँ, तर मलाई त्यतिन्जेलसम्म क्यामेरा राम्रोसँग समात्न पनि आउँदैनथ्यो । सिक्दै जागिर गरेँ । ०७० सालबाट कारोबार दैनिकमा आबद्ध भएँ । 

मनास्लु आरोहण पृष्ठभूमि
०७४ सालमा एभरेस्ट म्याराथनका आयोजकले फोटो पत्रकारहरूलाई बेस क्याम्प लैजाँदै छ भन्ने थाहा पाएँ । आयोजकलाई भेटेर मलाई पनि लैजान अनुरोध गरेँ । सिभी मेल गरेँ । म पनि चयन भएँ ।

तर, आयोजकले पछि पदयात्रामा नगएको र लेक लाग्ने सम्भावना भएको भन्दै मलाई लैजान अनाकानी गरे । मैले जान सक्छु भनेर जिद्दी गरेँ । मनमा अलिअलि डर नभएको भने होइन । बाटोमा मलाई साँच्चै गाह्रो भयो, तर संयोगवश घोडा चढेर क्याम्पसम्म जाने मौका मिल्यो । क्याम्प पुगेपछि हिमालको सुन्दरता र भव्यता देखेर म मोहित भएँ । विदेशी पर्यटक किन नेपाल आउँछन् भनेर बुझ्न एक मिनेट पनि लागेन ।

विदेशीको लस्कर देखेर विदेशमा छु जस्तो लाग्यो । त्यो यात्राले मेरो नेपालप्रतिको सोचाइ बदलिदियो । अब म त्यो पूर्णिमा रहिन । पूरै फेरिएकी थिएँ । हिमालप्रति म यसरी आकर्षित भएँ कि अर्को साल जसरी पनि सगरमाथा चढी छाड्ने अठोट लिएँ । बेस क्याम्पबाट फर्कंदा मनभरि हिमाल नै हिमाल थियो ।

सगरमाथा चढ्ने भूत चढेकाले काठमाडाैं आउनासाथ हिमाल आरोहण गर्न के गर्नुपर्छ भनेर सोधिखोजी गर्न थालेँ । हिमाल चढाउने शेर्पा गाइडहरूलाई भेट्न थालेँ । उनीहरूले हिमाल चढ्न प्रशिक्षण लिनुपर्छ, त्योभन्दा अगाडि कम्तीमा ६ हजार मिटरको टाकुरा चढेको अनुभव हुनुपर्ने, वाल क्लाइम्बिङ, रक क्लाइम्बिङ, शारीरिक कसरतजस्ता कुरा सुझाए । यही क्रममा सगरमाथा बेस क्याम्प जाँदा भेटेको एकजना गाइडलाई काठमाडौंमा फेरि भेटेँ । असार महिना थियो । मैले आफ्नो योजना बेलीविस्तार लगाएँ । उनले पनि सेप्टेम्बरमा गोर्खाको मनास्लु हिमाल चढ्ने समूह छ, त्यसमा जाने हो त भनेर सोधे । मैले तत्काल स्वीकृति दिएँ । लाग्ने खर्च र जानकारी मेल गर्दिनु है भन्दै छुट्टियौँ ।

यसपछि आफ्नै जिल्लाको मनास्लु हिमाल चढ्न पाए... जस्ता कुरा मनमा खेल्न सुरु भयो । यो विषय साथी सृष्टि काफ्लेलाई भेटेर सुनाएँ । सृष्टिलाई हिमालको ज्ञान मलाई भन्दा धेरै थियो । उसले पनि मेरो योजनामा हरियो झन्डा देखाइन् । आमाबुबालाई भने आधाउधी तयारी भएपछि मात्र भनौँला भनेर सोचेँ । पछि बुबालाई सुनाउँदा एकछिन त केही बोल्नु नै भएन । तैँलै आँटेपछि सक्छेस् होली, हाम्रो आशीर्वाद छ भनेर भन्नुभयो । घरबाट पनि अनुमति पाएपछि मलाई मनास्लु हिमाल चढ्न अब कसैले रोक्न सक्दैन भन्ने लाग्यो । मनास्लु आरोहण गर्ने तयारी थाल्दासमेत मनास्लुको फोटोसमेत देखेकी थिइनँ । तर, फोटो नदेखे पनि मनमा मनास्लु कसरी चढ्नेबाहेक अरू केही थिएन ।

यसैबीच, मनास्लु आरोहणको खर्चको हिसाबकिताब आयो । लगाउने कपडा, खानालगायत कम्पनी सबै गरेर १० लाख जोहो गर्नुपर्ने थियो । यो निकै ठूलो रकम थियो । मैले १० लाख देखेकोसम्म पनि थिइनँ । हिमाल चढ्नुभन्दा पनि मेरा लागि यो रकम जोहो गर्ने चुनौती ठूलो थियो ।

सकेको जति आइडिया लगाएँ । गोरखावासीसँग अपिल गरेँ । जिल्लास्थित ठूला नेता, व्यापारी, समाजसेवी, एनआरएन, परिचितजति सबैसँग सहयोगको आग्रह गरेँ । तर, कसैले पत्याएनन् । पत्याउनु पनि कसरी ? मसँग न हिमालको अनुभव थियो, न त म कुनै हाई प्रोफाइलवाला । थिएँ त एक सामान्य फोटो पत्रकार (हुन त अहिले पनि यही नै हो) । 

समय पनि कम थियो । भदौको पहिलो साता मै आरोहणका लागि जानुपर्ने तर रकम जुटाउन मेरो तरखर साउन पहिलो साताबाट मात्र सुरु भयो । यही वेला शारीरिक रूपमा आफूलाई बलियो बनाउन पनि जरुरी थियो । दौड, पौडी, रकर, वाल क्लाइम्बिङ, जागिरको नियमित काम । 

चिनेका सबै साथीहरूसँग सापटी, सहयोग गर्न हारगुहार गरेँ । साथीभाइ र आफन्तसँग कम्तीमा पनि १० हजारको दरले दिन आग्रह गरेँ । बाह्रखरीमा एउटा कथा छपाउन साथी सृष्टिको सुझाब थियो । यो विचार ठीक लाग्यो, तर मलाई संकोच लाग्यो । पैसा अभावमा मनास्लु आरोहण तुहिने सम्भावनाबीच सहयोग जुट्ने आसले स्टोरी बनाउन तयार भएँ । 

आरोहण कम्पनीले अग्रिम भुक्तानीको माग गरिरहेको थियो । साथीहरूबाट संकलन गरेको अलिअलि पैसा थियो । कसैलाई ज्याकेट किनिदेऊ त कसैलाई जुत्ता, कसैलाई अरू थोक किनिदिन भनेकी थिएँ । असारमा मनाङ ट्रेकिङ जाँदा मनास्लु हिमाल चढ्ने योजना बताउँदै सहयोगका लागि आग्रह गरेकी थिएँ । त्यसबाट पनि केही रकम जोहो भएको थियो । बल्लतल्ल केही सामान र ६ लाख रुपैयाँ जम्मा भयो । अपुग रकम साथीहरूसँग ऋण सापट गर्ने निर्णय गरेँ । मेरो यो निर्णयपछि धेरैले मलाई ‘पागल’ भने । सम्झँदा अहिले लाग्छ, मनास्लु आरोहणका लागि म पागल नै भएकी थिएँ । त्यतिवेला मसँग थियो त मनास्लु हिमाल आरोहण गर्ने आत्मबल मात्र । हिमाल आरोहणको जुनसुकै नतिजा स्विकार्ने निश्चय गरेकी थिएँ । 

मनास्लु आरोहण थाल्दा मसँग दसैँमा आमालाई किनमेलका लागि दिउँला भनेर साँचेको १० हजार मात्र रुपैयाँ थियो । सडक भत्किएका कारण धादिङबेसीबाट जान सकिएन । मनाङको बाटो हुँदै पाँच दिन हिँडेर मनास्लु बेस क्याम्प पुगियो । बेस क्याम्पमा जता हेरे पनि रंगिचंगी टेन्ट, विदेशीको चहलपहल, विदेशी खाना, कुनै हिमाली सहरको आभास भइरहेको थियो । 

आफू शाकाहारी भएकाले निकै समस्या भयो । सबै कुरा नौलो थियो । स्लिपिङ ब्यागको सुताइ । निद्रा नलाग्ने । हिमाल मैले सोचेकोजस्तो थिएन । म गियर (हिमाल आरोहणमा आवश्यक सामग्री)हरू प्रयोग गर्न जान्दिनथेँ । यहाँसम्म कि मलाई क्लाइम्बिङ बुट लगाउन, लगाएर हिँड्न र फुकाल्न पनि आउँदैनथ्यो । तर, हरेस खाइनँ । मनदेखि म सक्छु भन्दै आफैँलाई उत्प्रेरित गराइराखेँ । 

 

हिमाल आरोहणमा गल्तीको मतलब मृत्यु

क्याम्प १ जाने दिन धूप बालेर हिमालतर्फ लागियो । हिमाल जति सुन्दर छ, त्यति नै खतरनाक । जति माथि गयो, त्यति नै श्वास फुल्छ । डोरीमा झुन्डिएर उक्लनुपर्ने । माथि जाँदा गाह्रो महसुस भयो । एक घन्टापछि बान्ता नै भयो । मलाई लेक लागेको रहेछ । गाइडले फर्कने हो कि भनेर सोधे । केही समयको आरामपछि मलाई सन्चो भयो । त्यो दिन हामी क्याम्प १ मै बस्यौँ, तर म रातभर सुत्न सकिनँ ।

भोलिपल्ट ब्रेकफास्टपछि हामी क्याम्प २ पुग्यौँ । आल्मुनियमका भर्‍याङबाट पार गर्नुपर्ने डरलाग्दो बाटो । गल्ती गर्न छुट थिएन । एक गल्तीको मतलब मृत्यु ! 
फोटो खिच्न मन हुन्थ्यो, तर सकिएन । दुईपटकको एक्लिमेटाइजेसनपछि आरोहणका लागि सफा मौसम कुर्दै बस्यौँ । क्याम्प ४ बाट रातको १२ बजे चुचुरोतर्फ लागियो । निकै कठिन हुँदै थियो । कुन सास आफ्नो अन्तिम सास हुने हो भनेर सोच्थेँ । एक मन त लाग्थ्यो, म ऋण खोजेर काललाई किन्न खोज्दै आइरहेकी छु ।
घामको झुल्को र किरणले मलाई ठूलो राहत दियो । मौसम राम्रो थियो । वरिपरि हिमालका चुचुराहरू सबै रातो देखिँदा मन खुसीले चंगा भयो । यो दृश्य देख्दा लाग्यो, स्वर्ग त यही होला । आँखाले देख्नेसम्म हिमाल नै हिमाल । आरोहणका सबै दुःख, पीडा, भोकप्यास, थकान सबै भुलाइदिने म्याजिक हिलर । यस्तै दृश्यपान गर्दै असीम आनन्दको अनुभव गर्दै उकालो लाग्दा अन्ततः बिहान ७ बजेतिर हामी ८,१६३ मिटर उचाइमा थियौँ । 

चुचुरो पुगेको दिन

२६ सेप्टेम्बर ०१७ को त्यो दिन खास दिन थियो । विश्वकै आठौँ अग्लो, गृहजिल्लाको हिमाल मनास्लु चढियो । चुचुरोमा पुग्नेबित्तिकै दिमागमा आएको कुरा थियो, कोसिस गरे सकिने रहेछ ।

चुचुरोमा ३–४ जनाभन्दा धेरै बस्न नमिल्ने रहेछ । फोटो खिचेर तल झर्दै गर्दा गाइड भन्थे, ‘आजै आधारशिविर पुग्नुपर्छ ।’ सफल आरोहणको दिन दसैँको फूलपाती परेको रहेछ । ट्विटर फेसबुकमा मनास्लु हिमाल आरोहण सफलताको पोस्टपछि फोन र प्रतिक्रियामार्फत बधाई दिनेको ओइरो लाग्यो । म निकै खुसी थिएँ र सफलताको स्वाद मज्जाले लिएँ । 

त्यसपछि सगरमाथा र आमादब्लम पनि चढेँ । यी सबैको आफ्नै महत्व छ । तर, खास मनास्लु नै । सगरमाथा उचाइ भए पनि आधार मनास्लु नै हो । अहिले पनि मनभरि मनास्लु नै छ । एकपटक फेरि मनास्लु चढ्ने रहर छ । अन्नपूर्ण र ग्रेट हिमालयन ट्रेल गरेपछि जाने योजना छ ।

श्रेष्ठ फोटो पत्रकार तथा हिमाल आरोही हुन्