Skip This
Skip This
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २५ आइतबार ०५:४९:००
पालिका अपडेट

२४ घन्टामा कोरोनाबाट तीनको मृत्यु, तीन सय ७८ संक्रमित

नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २५ आइतबार ०५:४९:००

काठमाडौंका टोलटोलमा स्वयंसेवक परिचालन गरिने 

पछिल्लो २४ घन्टामा संक्रमणबाट थप तीनजनाको मृत्यु भएको छ, तीन सय ७८ नयाँ संक्रमित देखिएका छन् । यससँगैै देशभर मृतकको संख्या ७३ र संक्रमितको संख्या २२ हजार पाँच सय ९२ पुगेको छ । जसमध्ये १६ हजार तीन सय १३ निको भएर घर फर्किसकेका छन् भने ६ हजार दुई सय ६ जना आइसोलेसनमा छन् । पछिल्लो २४ घन्टामा सात हजार सात सय ८८ नमुना परीक्षण भएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार मृत्यु भएका तीनजना काठमाडौं, मोरङ र पर्साका हुन् । काठमाडौंको टोखानिवासी ४१ वर्षीया महिलाको २३ साउनमा निधन भएको हो । उनलाई १८ साउनमा कोरोना पुष्टि भएको थियो । उनमा पाठेघरको क्यान्सरका साथै निमोनियाको संक्रमण पनि थियो । त्यस्तै, मधुमेह र दमको समस्याबाट पनि पीडित वीरगन्जका ७४ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको हो । विराटनगरका ५८ वर्षीय पुरुषको पनि संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

कोरोना नियन्त्रणका लागि काठमाडौंका टोलटोलमा स्वयंसेवक समूह गठन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले यसका लागि आइतबार सबै पक्षलाई बैठकमा बोलाएको छ । 

धेरै संक्रमण देखिएका टोलमा सिल गर्दै जाने र त्यहाँ स्वास्थ्य प्रोटोकल पालना गर्न स्थानीयलाई नै सक्रिय बनाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । यसबारे विस्तृत छलफल गर्न आइतबार जिल्लास्तरीय कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट समितिको आकस्मिक बैठक बोलाइएको छ । ‘काठमाडौैंमा खतराको घन्टी बजिसकेको छ,’ प्रजिअ दाहालले भने, ‘अब अनुशासन पालना गराउन टोलटोलमा स्वयंसेवक समूह खटाउने हाम्रो तयारी छ ।’ यो काममा गैरसरकारी संस्थाहरूलाई पनि परिचालन गरिनेछ ।