• वि.सं २०८१ बैशाख १२ बुधबार
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मनीष खड्का रुकुम पश्चिम
२०७७ श्रावण २५ आइतबार ०५:४१:००
मुख्य समाचार

गाउँपालिकाको  २५ लाख लेखापाल  र आफन्तको खातामा

मनीष खड्का रुकुम पश्चिम
२०७७ श्रावण २५ आइतबार ०५:४१:००

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीले सरकारी पैसा आफ्नो र आफन्तको खातामा राखेको पाइएको छ । जनप्रतिनिधि र स्थानीय बासिन्दाले विरोध गरेपछि उनले व्यक्तिगत खातामा राखेको पैसा फिर्ता गरेका छन् । तैपनि आर्थिक अनियमितता गर्न खोजेको भन्दै जिल्ला प्रशासन कार्यालयले छानबिन सुरु गरेको छ । 

गत आर्थिक ०७६/७७ मा विभिन्न योजनाको भुक्तानी दिन बजेट नपुगेपछि गाउँ कार्यपालिकाको बैठकमा जनप्रतिनिधिले प्रश्न उठाएका थिए । सम्झौता भएर काम सम्पन्न भएका योजनाको भुक्तानीका लागि कसरी बजेट अपुग भयो भन्ने विषयमा खोजबिन सुरु गरिएको थियो । त्यसपछि लेखापाल केसीले पेस्की रकम भन्दै २४ लाख ९२ हजार तीन सय ७२ रुपैयाँ आफू र आफ्ना नातेदारको खातामा जम्मा गरेको खुलेको हो ।

‘बजेट अपुग भएको भनिएपछि कार्यपालिकाबाट खोजबिन सुरु भएको थियो, हिसाबकिताब खोज्ने क्रममा लेखाको स्रेस्ता हेर्दा त व्यक्तिगत खातामा राखेको पाइयो,’ छानबिनमा संलग्न एक जनप्रतिनिधिले भने । गाउँपालिकाले छानबिनका लागि सात सदस्यीय समिति गठन गरेको थियो । 

लेखापाल केसीले आफ्नी पत्नी विर्मा केसी र भतिजा सुवास केसीको खातामा पैसा राखेको पाइएको हो । उनकी पत्नी विर्मा वडा नं. ५ की वडासदस्य हुन भने भतिजा सुवास लेखा सहयोगी हुन् । लेखापाल केसीको खातामा आठ लाख, उनकी पत्नीको खातामा आठ लाख ८६ हजार र भतिजाको खातामा सात लाख ९१ हजार राखेको पाइएको हो ।

‘कार्यपालिकाको बैठकमा गाउँपालिकाको रकम कसरी व्यक्तिगत खातामा गयो भनेर केरकार गरेपछि फिर्ता गरेका छन्,’ गाउँपालिका प्रवक्ता कर्णबहादुर खड्काले भने । १६ साउनमा सात लाख ८२ हजार पाँच सय ९५ रुपैयाँ, १९ साउनमा दुईपटक ६ लाख र ८ लाख ५९ हजार सात सय ७७ तथा २१ साउनमा दुई लाख ५० हजार रुपैयाँ गाउँपालिकाको खातामा जम्मा गरेको खड्काले बताए । 

यसका विषयमा जिल्ला प्रशासन कार्यालयमा पनि उजुरी परेको छ । सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुन नेतृत्वको तीन सदस्य टोली गाउँपालिका पुगेर छानबिन सुरु गरेको छ । टोलीले बुधबार गाउँपालिकामा पुगी कागजात र स्टेटमेन्ट अध्ययन गरेको छ । यस विषयमा थप अध्ययन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

यसमा आर्थिक हिनामिना गर्ने नियत देखिएको गाउँपालिका प्रवक्ता खड्काको भनाइ छ । ‘थाहा पाएपछि रकम फिर्ता भएको छ, तर थाहा नपाएको भए त रकम फिर्ता हुन्थ्यो भन्ने विश्वस्त हुने ठाउँ थिएन,’ उनले भने । गाउँपालिका उपाध्यक्ष निर्मला खड्काले कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढ्ने बनाइन् । ‘सुरुदेखि नै घटनालाई गम्भीर रूपमा लिएका छौँ । अब जिल्ला प्रशासन कार्यालयसम्म पुगेको छ, सबै कुरा कानुनबमोजिम हुन्छ,’ उनले भनिन् ।

प्रहरीले नियन्त्रणमा लिएर छोड्यो
व्यक्तिगत खातामा सरकारी रकम जम्मा गरेको घटनासम्बन्धी प्रमाण नष्ट गर्न खोजेको भन्दै स्थानीय बासिन्दाले खबर गरेपछि बिहीबार राति प्रहरीले लेखापाल केसीसहित चारजनालाई नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा लिइएका केसी, उनका भाइ विकास, भतिजाहरू सुवास र भीमसेनलाई शुक्रबार छाडिएको छ । 

प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले उनीहरूको सुरक्षाका लागि नियन्त्रणमा लिएको बताए । रातको समयमा स्थानीयले जम्मा भएर प्रहरीलाई खबर गरेको र अप्रिय घटना नहोस् भनेर नियन्त्रणमा लिएको प्रजिअ पौडेलले बताए । शुक्रबार सोधपुछ गरेर छाडिएको र अनुसन्धान भइरहेकाले दोषी पाइएमा कारबाही हुने उनको भनाइ छ ।