• वि.सं २०८० चैत १५ बिहीबार
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १८ बिहीबार ११:५२:००
मुख्य समाचार

किर्ते हस्ताक्षर गरी अरूलाई नै भत्ता बाँडेको भन्दै काठमाडौंका एक वडाध्यक्षविरुद्ध ९६ वर्षीया वृद्धाले दिइन् जाहेरी

नयाँ पत्रिका काठमाडौं
२०७७ असार १८ बिहीबार ११:५२:००

किर्ते हस्ताक्षर गरेर आफ्नो भत्ता हिनामिना गरेको भन्दै एक ९६ वर्षीया महिलाले काठमाडौं महानगरपालिका– ४ का वडाध्यक्ष मोहन विष्टसहित पदाधिकारीविरुद्ध किर्ते मुद्दामा जाहेरी दिएकी छिन् । 

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले बुधबार जाहेरी दर्ता गरेको छ । 

गीताञ्जलीमार्ग बस्ने ९६ वर्षीया चिजमाया लिम्बूले आफ्नो भत्ता अरूलाई दिएको भन्दै सुरुमा उनले प्रहरीमा निवेदन दिएकोमा प्रहरीले दर्ता नगरेपछि सरकारी वकिल कार्यालयमा जाहेरी दिएकी हुन् । 

सरकारी वकिल कार्यालयले जाहेरी दर्ता गरेर अनुसन्धानका लागि प्रहरीमा पठाएको छ । 

वृद्धा लिम्बूको नामको भत्ता महानगरले किर्ते हस्ताक्षर गरी अन्य व्यक्तिलाई नै १२ हजार रुपैयाँ दिएको आरोप छ । 

वृद्धाका आफन्तले उनको वरिष्ठ ज्येष्ठ नागरिक महानगर भत्ताका लागि वडा कार्यालयलाई आग्रह गरेका थिए । 

वडा कार्यालयले भत्ता वितरण भइसकेको भनेर दिन अस्वीकार गरेपछि वृद्धालाई नै लिएर उनीहरू अघिल्लो सोमबार वडा कार्यालयमा पुगेका थिए । 

वडा कार्यालयका कर्मचारीले भत्ता दिइसकेको बताएपछि विवाद भएको थियो । 

वृद्धाले पनि मंगलबार वडाध्यक्ष विष्ट, वडा सदस्य दिनेश महर्जन र ध्रुवप्रसाद त्रिपाठीविरुद्ध किर्ते मुद्दामा कारबाही माग गर्दै जाहेरी दिएकी हुन् ।