• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
हेमन्त केसी जाजरकोट
२०७७ जेठ १६ शुक्रबार १२:४२:००
मुख्य समाचार

रुकुम घटनाबारे अध्ययन गर्न गठित उच्चस्तरीय समिति जाजरकोटमा, शुक्रबार नै घटना घटेको गाउँ सोती जाने

हेमन्त केसी जाजरकोट
२०७७ जेठ १६ शुक्रबार १२:४२:००

रुकुम पश्चिम चौरजहारी नगरपालिका सोतीमा घटेको अमानवीय घटनाबारे अध्ययन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो काम थालेको छ । 

घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय समिति जाजरकोट पुगेको छ ।

समितिले शुक्रबारदेखि काम थालेको र शुक्रबार नै पीडित पक्षसँग भेटघाट गरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी  दिए । 

त्यस्तै, उक्त छानबिन समितिले भेरी नगरपालिका– ४ का सन्जु भनिने सञ्जीव विकको शव स्वास्थ्य सेवा कार्यालयमा पुगेर अध्ययन गरेको थियो । 

घटनाका विषयमा संसददेखि सडकसम्म चर्को दबाब भएपछि सरकारले गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो  ।  

दलित युवा र गैरदलित युवतीबीच प्रेम भएको र उक्त प्रेमलाई विवाहमा परिणत गर्न पुगेका युवाहरूको समूह युवती पक्षका गाउँलेको आक्रमणमा परेको थियो ।

त्यसपछि सरकारले गठन गरेको उच्चस्तरीय समितिको टोली शुक्रबार जाजरकोट आइपुगेर अध्ययनको काम थालेको हो । 

उक्त घटनामा जाजरकोट भेरी नगरपालिका– ४ का २१ वर्षीय नवराज विक, सन्जु विक, गणेश बुढा, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको निधन भएको छ । उनीहरूको शव यसअघि नै फेला परिसकेको छ  ।

भेरी नगरपालिका– ११ का गोविन्द शाही अझै बेपत्ता छन् ।

मृतकको शव हेरेर मात्र अनुसन्धान गर्न पीडित परिवारको मागअनुसार शव हेरेर अनुसन्धान थालिएको समितिका संयोजक जितेन्द्र बस्नेतले बताए । 

शुक्रबार नै छानबिन टोली रुकुम पश्चिम चौरजहारी नगरपालिका– ८ सोतीमा जाने प्रजिअ पन्तले जानकारी दिए । 

उच्चस्तरीय समितिमा गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत, एसएसपी जनक भट्टराई, राष्ट्रिय अनुसन्धानका सहअनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिव वशिष्ट घिमिरे र उपसचिव माधव ढकाल सहभागी छन् ।

यसैबीच उच्चस्तरीय समितिलाई शुक्रबार दलित अधिकारकर्मी  संघ र संगठनले निष्पक्ष छानबिन गर्न भन्दै  ६बुँदे ज्ञापनपत्र बुझाएको अधिकारकर्मी पार्वती विकले बताइन ।