• वि.सं २०८० फाल्गुण १६ बुधबार
  • वि.सं २०८० फाल्गुण १६ बुधबार
  • Wednesday, 28 February, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० माघ २९ सोमबार २०:२३:००
समाचार

नेपालबाहिरका नेपाली भाषीका लागि भर्चुअल नेपाली कक्षा सञ्चालन गर्न माग

नयाँ पत्रिका काठमाडौं
२०८० माघ २९ सोमबार २०:२३:००

साहित्य परिषद् भुटानले त्रिविलाई बुझायो ज्ञापनपत्र

अमेरिकामा रहेका नेपालीमूलका भुटानीहरूको संस्था साहित्य परिषद् भुटानले विश्वभर रहेका नेपाली भाषीहरूका लागि नेपाली भाषाको भर्चुअल कक्षा सञ्चालन गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालयमा ज्ञापनपत्र दिएको छ। 

अध्यक्ष गंगा लामिटारेका तर्फबाट लेखिएको ज्ञापनपत्र परिषद्का पूर्वअध्यक्ष भक्त घिमिरे र कृषि वैज्ञानिक डा. गोविन्द रिजालले त्रिविको केन्द्रीय नेपाली विभाग प्रमुख प्रा. कृष्णप्रसाद न्यौपानेलाई सोमबार कीर्तिपुरमा हस्तान्तरण गरेका छन्। 

भुटानबाट नेपाल हुँदै हाल तेस्रो मुलुकमा पुनर्वास भएका नेपाली भाषी विद्यार्थीहरूको भाषिक शैक्षिक उन्नयनका लागि पाठ्यक्रम तय गर्न र प्राविधिक सुविधा मिलाउन अनुरोध गरिएको छ। 

नेपाल भ्रमणमा रहेका घिमिरेले नेपालबाहिर बस्ने भुटानीसहित सबै नेपाली भाषीहरूको नेपाली भाषा सिकाइमा शैक्षिक अभिभावकत्व ग्रहण गर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरिएको जानकारी दिए। 

उनले विश्वविद्यालयबाट सकारात्मक जवाफ प्राप्त भएको पनि बताए। भौगोलिक सीमाबाहिर रहेका नेपाली भाषीहरूलाई नेपाली भाषाको पहुँचमा ल्याउनका लागि औपचारिक अध्ययन अध्यापन गर्ने वातावरण बनाउनुपर्ने पनि घिमिरेले जोड दिएका छन्। 

‘त्रिभुवन विश्वविद्यालयजस्तो शैक्षिक संस्थाले अनलाइन शिक्षा प्रणालीअन्तर्गत नेपाली विषयलाई अध्यपन गराउने हो भने नेपालबाहिरका थुप्रै शिक्षार्थीले नेपाली विषयको औपचारिक शिक्षा हासिल गर्न पाउने थिए,’ ज्ञापनपत्रमा भनिएको छ, ‘नेपालभित्रै पनि घरमै बसेर, विभिन्न विधा र संकायमा अध्ययन गर्न चाहनेहरूका लागि सर्वसुलभ शिक्षा प्राप्त गर्ने बाटो खुल्ने थियो। प्रविधिको आजको दुनियाँमा यो असम्भव पनि छैन। त्यस्तै, स्नातकोत्तर तहमा मात्रै होइन, नेपाली विषयको विज्ञता, लेखकीय अनुभव र अन्य विषयमा स्नातक अध्ययन गरेको भए नेपाली विषयमा विद्यावारिधि गर्न पाउने व्यवस्था गर्ने हो भने शिक्षाको उपल्लो तहसम्म अध्ययन गर्न चाहने अध्येताहरूलाई फाइदा हुने थियो भन्ने हामीलाई लागेको छ।’

ज्ञापनपत्रमा  देशभित्र मात्र होइन त्रिभुवन विश्वविद्यालय नयाँ प्रविधिको प्रयोग गर्दै नेपालबाहिर बसेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको अध्ययन गर्न सक्ने भर्चुअल शैक्षिक योजना लिएर आउनुपर्ने माग गरिएको छ। 

‘नेपालभन्दा बाहिर धेरै ठूलो जनसंख्या अमेरिका, युरोप, अस्ट्रेलिया, क्यानडालगायतका मुलुकहरूमा रोजगार, पेसा, व्यवसाय र बसोवासका लागि गइरहेको अवस्थामा नेपाली भाषा, साहित्य र संस्कृति ती ठाउँहरूबाट अध्ययन गर्न सक्ने व्यवस्था गर्न त्रिभुवन विश्वविद्यालयले कदम चाले अझ राम्रो हुनेछ भन्ने हामीलाई लागेको छ,’ परिषद्ले भनेको छ, ‘हुन त इतिहासको कुनै कालखण्डमा नेपालबाट भुटानमा पुगेको यो समूह नेपाली नागरिकताबाहकहरूको समूह होइन। तथापि पुनर्वासित भुटानीहरूको नेपालसँगको नाता इतिहासमा मात्र सीमित छैन, दुई तीन दशकसम्म यही देशमा शरणार्थीका रूपमा आश्रय लिएको र अविच्छिन्न रूपमा नेपाली भाषा र संस्कृतिसँग जोडिएर आएको छ।’ 

नेपालमै जन्मेर हुर्किएको र यहीँको शैक्षिक प्रणालीमा अध्ययन गरेको र कतिपय अवस्थामा समय क्रममा पारिवारिक नाता–सम्बन्धमा बाँधिएको नेपाली भाषी भुटानीहरूको समूहले नेपाली भाषा अध्ययन गर्न चाहेको पनि परिषद्ले जनाएको छ। 

‘एक लाखका हाराहारीमा पुनर्वास भएको भुटानी समुदाय संख्यामा उति ठूलो नभए पनि, पूर्ण परिवार र संगठित समूहका रूपमा बसोवास गरेकाले भुटानी समुदायले अमेरिका, अस्ट्रेलिया, क्यानडाजस्ता मुलुकहरूमा नेपाली भाषा, संस्कृति र परम्परालाई विस्तार गर्न प्रभावकारी भूमिका निभाएको छ,’ परिषद्को ज्ञापनपत्रमा भनिएको छ, ‘स्कुल डिस्ट्रिकहरूमा नेपाली भाषी विद्यार्थीहरूको संख्या उल्लेख्य भए नेपाली भाषा विषय पढाउन सकिने भए पनि नेपाली विषयमा आवश्यक शैक्षिक योग्यता भएको जनशक्ति नभएका कारण सम्भव भइरहेको छैन। नेपालमा एउटा तहसम्म नेपाली विषय पढेर आएका वा नेपाली विषयमा उच्च शिक्षा हासिल गर्न चाहनेहरूका लागि भर्चुअल अध्ययन गर्न सक्ने विश्वविद्यालय वा शैक्षिक प्रणाली नहुनु दुःखद कुरा हो।’ 

विश्वका अनेक विद्यालयहरूले अनलाइन शिक्षा कार्यक्रम सञ्चालनमा ल्याएका सन्दर्भमा त्रिभुवन विश्वविद्यालयले पनि ल्याउनुपर्ने परिषद्को माग छ। ‘हामी नेपाली भाषी भुटानीहरू  नेपाली भाषाको औपचारिक अध्ययन गर्ने सिलसिलामा कहिले अभाव, कहिले निषेध र कहिले प्रतिकूलता भोगिरहेका छौँ,’ परिषद्ले भनेको छ। नेपाली भाषी भुटानीहरू नेपालका शरणार्थी क्याम्पमा हुँदा नेपाली भाषा परिषद्, भुटानले नेपाली साहित्य समिति सिलगढीसँग समन्वय गरेर नेपाली साहित्यका अनौपचारिक कक्षा सञ्चालन गरेको र कार्यक्रमबाट कक्षा चारदेखि स्नातकसम्मका आठ हजार विद्यार्थी लाभान्वित भएको परिषद्ले जनाएको छ। 

सन् १९९३ मा बेलडाँगी शिविरमा स्थापित भाषा परिषद्, अहिले रूपान्तरित भएर साहित्य परिषद्, भुटानका  रूपमा अमेरिकामा दर्ता भएको छ। यही परिषद्ले त्रिविमा ज्ञापनपत्र बुझाएको हो। 

‘परिषद्ले अहिले औपचारिक रूपमा कुनै शिक्षक कार्यक्रम सञ्चालन नगरे पनि नेपाली भाषा र साहित्यको प्रवर्द्धन गर्न अनेक गतिविधि गर्नुका साथै विगत पन्ध्र वर्षदेखि पाक्षिक इ–पत्रिका भुट्निजलिटलेचर डट कम निरन्तर सञ्चालन गर्दै आएको पनि परिषद्ले ज्ञापनपत्रमा उल्लेख गरेको छ।