• वि.सं २०८० चैत १६ शुक्रबार
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी पेरिस
२०८० जेठ १५ सोमबार ०७:५६:००
खेलकुद

मेसीले तोडे रोनाल्डोको कीर्तिमान

क्रिस्टियानो रोनाल्डोले युरोपियन लिगमा राखेको चार सय ९५ गोलको कीर्तिमान लियोनल मेसीले तोडेका छन्

एजेन्सी पेरिस
२०८० जेठ १५ सोमबार ०७:५६:००

अर्जेन्टिनी कप्तान लियोनल मेसीले पोर्चुगाली खेलाडी क्रिस्टियानो रोनाल्डोको कीर्तिमान तोडेका छन् । फ्रेन्च लिग वानअन्तर्गत शनिबार स्टार्सवर्गविरुद्ध एक गोल गर्दै मेसीले युरोपका शीर्ष पाँच लिगमा सर्वाधिक गोल गर्ने रोनाल्डोको कीर्तिमान तोडेका हुन् । पेरिस सेन्ट जर्मेन (पिएसजी)मा आबद्ध ३५ वर्षीय मेसीले खेलको ५९औँ मिनेटमा किलियन एम्बाप्पेको पासमा गोल गरेका थिए ।

मेसीले पाँच सय ७४ खेलमा चार सय ९६ गोल गरेका छन् । रोनाल्डोले ६ सय २६ खेलमा चार सय ९५ गोल गरेका थिए । रोनाल्डोले पोर्चुगल, बेलायत, इटाली र स्पेनिस लिगमा आबद्ध हुँदै कीर्तिमान रचेका थिए । मेसीले आफ्नो क्लब करिअरमा बार्सिलोना र पिएसजीबाट खेलेका छन् । 

मेसीले पिएसजीमा लगातार दुई सिजन बिताउँदा फ्रेन्च लिग वानमा ५७ खेलमा २२ गोल गरेका छन् । बार्सिलोनामा रहँदा मेसीले स्पेनिस ला लिगामा पाँच सय २० खेलमा चार सय ७४ गोल गरेका थिए । मेसीले समग्र युरोपियन लिगमा पाँच सय ७५ खेलमा ४७ हजार ३९ सेकेन्ड मैदानमा बिताएका छन् । उनले दुई सय ४७ असिस्ट गरेका छन् । 

मेसीका प्रतिद्वन्द्वी रोनाल्डोले युरोपियन क्लब करिअरमा ६ सय २६ खेलमा ५१ हजार ६९ सेकेन्ड मैदानमा बिताएका थिए । उनले एक सय ५१ असिस्ट गरेका थिए । रोनाल्डो यसै वर्ष साउदी क्लब अल नासरबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । युरोपका शीर्ष ५ लिगमा इंग्लिस प्रिमियर, स्पेनिस ला लिगा, इटालियन सिरी ए, जर्मनको बुन्डेस लिगा र फ्रान्सको लिग वान पर्छन् ।

युरोपियन लिगमा नयाँ कीर्तिमान बनाएका मेसीले यसै वर्ष पिएसजी छाड्नेछन् । स्पेनिस मिडियाहरूका अनुसार मेसी बार्सिलोनामा फर्कन सक्छन् । बार्सिलोनाले मेसीलाई यसपटक जसरी पनि फर्काउने योजना बनाएको जनाएको छ । यद्यपि, मेसीले अन्तिम निर्णय गरेका छैनन् । साउदी अरेबियाको क्लबले मेसीलाई निकै लोभलाग्दो प्रस्ताव राखेको छ । मेसीले साउदी क्लबको प्रस्ताव स्विकार्दा उनी फुटबल इतिहासकै सर्वाधिक महँगा र धनी फुटबलर बन्नेछन् । 

पिएसजी ११औँ पटक विजेता 
पिएसजीले कीर्तिमानी रूपमा फ्रेन्च लिग वान उपाधि जितेको छ । पछिल्ला १२ वर्षमा पिएसजीले नौपटक उपाधि हात पारेको हो । फुटबल इतिहासमा जर्मन क्लब बायर्न म्युनिखले लगातार ११ पटक बुन्डेस लिग उपाधि जितेको छ । यसैगरी, युभेन्टस्ले इटालीमा लगातार नौपटक सिरी ए लिग जितेको थियो ।

शनिबारको प्रतिस्पर्धामा पिएसजीका लागि खेलको ५९औँ मिनेटमा मेसीले १–० को अग्रता दिलाएका थिए । खेलको ७९औँ मिनेटमा केभिन गेमिरोले स्टार्सवर्गलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । बराबरीसँगै च्याम्पियन बनेको पिएसजीले ३७ खेलमा सर्वाधिक ८५ अंक जोड्यो । स्टार्सवर्ग ४० अंकका साथ १५औँ स्थानमा छ ।