• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत ५ आइतबार ०८:५३:००
अन्तर्वार्ता

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यलाई तीन प्रश्न 

नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत ५ आइतबार ०८:५३:००

मन्त्रीमण्डल विस्तारमा भइरहेको ढिलाइ स्वाभाविक हो कि प्रधानमन्त्रीको बाध्यता ?
धेरै दल मिलेर गठबन्धन बनेको हुनाले यो ढिलाइ स्वाभाविक हो । गठबन्धन ठुलो छ । संसद्को तेस्रो दलका नेताले यसलाई ‘ड्राइभ’ गर्नुपर्ने अवस्था छ । जसले गर्दा उहाँले फुकीफुकी पाइला चाल्नुपर्ने बाध्यता छ । सानोभन्दा सानो गडबढीले पनि ठुलै नोक्सानी हुन सक्छ । यो गठबन्धन कुनै सैद्धान्तिक आवरणमा बनेको होइन । यो त केपी ओलीको विरोधमा बनेको गठबन्धन हो । गठबन्धनमा सामेल सबै दल र तिनका नेतामा ठुला महत्वाकाङ्क्षा छन् । तिनलाई सम्बोधन गरेर अघि बढ्नुपर्ने बाध्यताले गर्दा यो ढिलाइ भएको हो ।  

यो ढिलाइमा गठबन्धनमा रहेका दलहरूबिचको अविश्वास कति जिम्मेवार देख्नुहुन्छ ? 
यो कुनै विश्वासमा अडेको गठबन्धन नै होइन । यो सबैको आआफ्नै स्वार्थमा अडेको छ । कांग्रेसलाई राष्ट्रपति चाहिएको थियो । प्रचण्डजीलाई प्रधानमन्त्री हुनु थियो । साथै, उहाँलाई ओलीजीको त्रासबाट त्राण पनि चाहिएको थियो । अन्य दललाई पनि आफ्ना नेता तथा कार्यकर्ता व्यवस्थापन गर्नुपर्ने चुनौती थियो । यो गठबन्धनको राष्ट्रिय ‘पिक्चर’ नै छैन । त्यसैले, एकअर्काबिचको अविश्वास जहिल्यै कायम रहने देखिन्छ । 

यस्तो अविश्वासबिच यो सरकारले कसरी गति लेला त ?
संसदीय शासन पद्धतिमा प्रधानमन्त्रीले ड्राइभ गर्न नसक्ने सरकारले गति लिन सक्दैन । यसबाट नियमित प्रशासनसम्म चल्छ । आमनागरिकले त्योभन्दा बढी अपेक्षा नगरे पनि हुन्छ ।