• वि.सं २०८१ बैशाख ४ मंगलबार
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ माघ २६ बिहीबार ११:३१:००
समाचार

भारतबाट उद्धार गरिएका दुई बालबालिकालाई अभिभावककाे जिम्मा लगाइयाे

२०७९ माघ २६ बिहीबार ११:३१:००

तीन दिनअघि हराएका सिराहा नगरपालिका– ६ का दुई बालबालिकालाई उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ । 
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार २२ माघमा स्थानीय लिटिलस्टार विद्यालयमा छुट्टी भएपछि घर फर्किनुपर्ने एक बालक र एक बालिका हराएपछि प्रहरीले तत्काल भारतीय प्रहरीसँग समन्वयपछि उद्धार गरी बुधबार अभिभावकको जिम्मा लगाएको हो। 

उक्त विद्यालयमा कक्षा ८ मा पढिरहेकी सिराहा नगरपालिका– ६ बसबिट्टाकी १४ वर्षीया नुडी खातुन र कक्षा ४ मा अध्ययनरत छोरा १२ वर्षीय अरमान मन्सुरलाई भारतको समस्तीपुरबाट उद्धार गरी अभिभावकको जिम्मा लगाइएको सिराहा प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए । 

विद्यालय छुट्टी भएपछि घर फर्किनुपर्ने बालबालिका हराएपछि तत्काल प्रहरीलाई मौखिक सूचना दिएलगत्तै खोजतलास र अनुसन्धान गर्ने क्रममा भारतको समस्तीपुरमा रहेको यकिन भएपछि तत्काल वडा प्रहरी कार्यालय सिराहाबाट प्रहरी नायब निरीक्षक राजेश यादवको कमान्डमा टोली खटिएको प्रहरी निरीक्षक साहले बताए ।

टोलीले स्थानीयस्तरमा खोजतलाससँगै भारतीय प्रहरीसँग समन्वय गर्दा समस्तीपुरमा रहेको यकिन भएपछि उद्धार गरी सिराहा ल्याएर अभिभावकको जिम्मा लगाइएको प्रहरी निरीक्षक साहले बताए । हराएका दुई बालबालिकालाई कसले र कसरी भारत पुर्‍याए भन्ने नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।