• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ २६ बिहीबार १०:५१:००
स्वास्थ्य र जीवनशैली

यस्तो अवस्थामा दाँतको जरादेखिको उपचार 

नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ २६ बिहीबार १०:५१:००

हरेक दाँतको बाहिरी सतह इनामेल र डेन्टिनभित्र रहेको नरम तत्वलाई पल्प भनिन्छ, जसमा रक्तनली र नसाहरू हुन्छन् । तपाईंको दाँतमा कुनै पनि कारणले गर्दा आघात पर्न सक्छ । जस्तै, दाँत किराले खाएर गहिरो हुँदै गएमा वा दाँतमा कुनै पनि चोटपटक लागेमा यस्तो समस्या देखिन सक्छ ।

डा. समा प्रधान, इन्डोडोन्टिस्ट डेन्टालाइफ ओरल कन्सर्न

नसालाई आघात पर्न गएमा दाँत दुख्न थाल्छ । समयमा उपचार गरिएन भने संक्रमण बढ्दै जान्छ । जसले गर्दा दाँत र वरपरको हड्डीमा अझै क्षति पुग्न सक्छ र अन्त्यमा दाँत निकाल्नुपर्ने हुन सक्छ । यसरी दुखेको दाँतको नसादेखि नै गरिने उपचारलाई आरसिटी (रुट क्यान्सर ट्रिटमेन्ट) भनिन्छ । आरसिटी गरेपछि दाँत दुखाइ कम हुँदै जान्छ ।

कसरी गरिन्छ ?
दाँत दुखेको अवस्थामा यसको वरिपरि सुइ लगाएर, नदुख्ने बनाएर आरसिटी उपचार सुरु गरिन्छ । दाँतको माथिल्लो भागमा सानो प्वाल बनाएर जरासम्म पुग्ने बाटो बनाइन्छ र नसाका नली सफा गर्ने सानो–सानो सामान छिराएर नसाहरू नलीबाट निकालिन्छ । 

यसरी उक्त नसाका नलीहरू पूर्ण रूपले सफा भएपछि कृत्रिम नसाहरू, जसलाई गट्टा पर्चा भनिन्छ, त्यसलाई नसाको नलीमा राखिन्छ र दाँतको माथिल्लो भागमा बनाइएको प्वाललाई सिमेन्ट लगाएर टालिन्छ । 

समय 
तपाईंको दाँतमा भएको जराको संख्या, त्यसको बनावट, संक्रमणको स्तर, रोगप्रतिरोधी क्षमतालगायत कुराले उपचारमा लाग्ने समय निर्धारण गर्छ । कसैलाई तीन–चार दिनको अन्तरालमा तीन–चारपटक जानुपर्ने हुन्छ । कसैलाई बढी समय जानुपर्ने हुन सक्छ । हरेकपटक ३०–४५ मिनेटको समय लाग्न सक्छ । आरिसिटी गरेपछि दाँतमा नसा र रक्तसञ्चार नहुने कारणले दाँत कमजोर हुन्छ । त्यसैले दाँतलाई पूर्ण रूपमा बलियो बनाउन यसमा खोल (क्राउन) लगाउनुपर्ने हुन्छ । विशेषगरी, चपाउन प्रयोग हुने बंगाराहरूमा खोलको आवश्यकता धेरै पर्छ । खोल नलगाए दाँत भाँच्चिने जोखिम हुन्छ ।