काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्षी दलहरूको बैठक सुरु भएको छ।
सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, संविधानको मर्ममाथि भइरहेको प्रहारलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो।
बैठकमा नेकपा एमालेका सचिव तथा संसदीय दलका उपनेता पद्मा अर्याल, नेपाल कम्युनिस्ट पार्टीका संसदीय दलका नेता वर्षमान पुन र प्रमुख सचेतक युवराज दुलाल सहभागी छन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक खुश्बु ओली पनि बैठकमा उपस्थित छिन्।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको सचिवालयका अनुसार बैठकमा संसदबाहिर रहेका दलका नेताहरूको समेत सहभागिता रहेको छ।
बैठकअघि नेता आङ्देम्बेले सरकारको जवाफदेहिता, सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भूमिका, पत्रकार पक्राउ तथा सञ्चारमाध्यममा प्रहरी परिचालन गरिएको विषयमा छलफल हुने बताएका थिए। साथै, विभिन्न घटनाका छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र अनुसन्धान निष्पक्ष हुनुपर्ने विषय पनि बैठकको छलफलमा समेटिने उनले जानकारी दिएका थिए।
यसअघि सोमबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले पत्रकारमाथिको धरपकड तथा न्यायालयसँग जोडिएका विवादको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको थियो।