कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका सवालमा छलफल गरेकी छिन्। रास्वपा महाधिवेशनका लागि चितवन पुगेकी मन्त्री चौधरीले भ्रमणका क्रममा जैविक विविधता संरक्षण, समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापन, वैज्ञानिक अनुसन्धान र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायहरूबारे विस्तृत जानकारी लिएकी हुन्। मन्त्री चौधरीले वन्यजन्तु र मानवबिचको सहअस्तित्व कायम गर्न सरकारले चाल्नुपर्ने सम्पूर्ण कदमहरू दृढताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।
देशभर करिब एक दर्जनभन्दा बढी समस्याग्रस्त बाघहरू इन्क्लोजरमा राखिएको छ। तिनको व्यवस्थापन खर्चिलो बन्दै गएको पृष्ठभूमिमा सरकारले देवनगरमा करिब ५० हेक्टर क्षेत्रफलमा टाइगर सेन्चुरी बनाउने योजना अघि सारेको छ। मन्त्री चौधरीले टाइगर सेन्चुरी निर्माण भएमा समस्याग्रस्त र घाइते बाघहरूले प्राकृतिक वातावरण पाउने मात्र नभई पर्या–पर्यटनमा समेत ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरिन्। उनले यसका लागि आवश्यक योजनाबारे निकुञ्ज प्रशासनसँग छलफलसमेत गरेकी छिन्।
मन्त्री चौधरीले चितवनको खोरसोरमा रहेको हात्ती प्रजनन केन्द्रका समस्या र आवश्यकताबारे पनि जानकारी लिइन्। स्थापनाको ३३ वर्षमा ६८ वटा हात्तीका छावाहरू जन्माएर संरक्षणमा योगदान पुर्याएको प्रजनन केन्द्रबारे उठेका प्रश्नरूलाई पनि सम्बोधन गर्न खोजिन्। केन्द्रमा माउ तथा छावाहरूको स्वास्थ्य, आहारा व्यवस्थापन र कार्यक्षेत्रका चुनौतीबारे निकुञ्जका अधिकारीहरूसँग छलफल गरेकी थिइन्।
चितवनको राष्ट्रिय निकुञ्जको कार्यालय भ्रमण गर्दै मन्त्री चौधरीले घडियाल प्रजनन केन्द्र पनि भ्रमण गरिन्। उनले घडियाल गोहीहरूको संरक्षण र संख्या वृद्धिका लागि सञ्चालित कार्यक्रमले नदीतटीय क्षेत्रको पारिस्थितिकीय प्रणाली सुधारमा जोड दिइन्।
यसैगरी, चितवनको टिकौलीस्थित पञ्चकन्या सामुदायिक वन (रत्नगर क्षेत्र)मा कृष्णसार स्थानान्तरणका लागि भइरहेको अन्तिम तयारीको मन्त्रालयको टोलीले निरीक्षण गरेको छ। मन्त्री चौधरीले टिकौलीमै रहेको सशस्त्र वन रक्षक तालिम केन्द्र र राष्ट्रिय प्रकृति संरक्षण कोषको अत्याधुनिक वन्यजन्तु जेनोमिक ल्याबको समेत भ्रमण गरिन्। वन्यजन्तुको अनुवांशिक अध्ययन र वैज्ञानिक अनुसन्धानका गतिविधिबारे जानकारी लिँदै उनले तथ्यमा आधारित संरक्षण नीति निर्माण गर्न यो प्रयोगशाला महत्त्वपूर्ण रहेको बताइन्।