मिथिला चित्रकला जसले चिनाउँछ मधेशलाई

मिथिला चित्रकला केवल कला मात्र होइन, मधेशको जीवित सांस्कृतिक दस्ताबेज पनि हो

शनिबार, २२ कार्तिक, २०८२
डिजिटल संस्करण

मधेशको सांस्कृतिक चिनारी हो, मिथिला चित्रकला । मधेशका सहर र देहातमा देखिने मिथिला चित्रकला अचेल पहाडी सहरका ग्यालरीदेखि घरका भित्तासम्म पनि देखिन थालेका छन् । कतिपय घरमा यी चित्रकला केवल सजावटका रूपमा होइन, संस्कृति र परम्पराप्रतिको सम्मानका रूपमा पनि झल्किन्छन् । रङ र रेखाको संयोजनमा साधारण देखिने यी चित्रले मधेशी समाजको इतिहास, आस्था र जीवनशैलीका कथा बोल्छन् । यही कारण मिथिला चित्रकला केवल कला होइन, मधेशको जीवित सांस्कृतिक दस्ताबेज पनि हो ।

मिथिला साहित्य र संस्कृतिका अध्येता नित्यानन्द मण्डलका अनुसार जनकपुरधाम मैथिली संस्कृतिको केन्द्र हो, जहाँ चित्रकलाको अत्यन्त पुरानो परम्परा रहेको छ । उनका अनुसार मिथिला चित्रकला मधेशको चाडपर्व र सांस्कृतिक पहिचानको प्रतीक रूपमा लिइन्छ । चाडपर्वका अवसरमा अरिपन कोर्ने, पेन्टिङ बनाउने परम्परा आज पनि जीवित छ । छठजस्ता उत्सवमा मिथिला कलाको विशेष महत्व रहँदै आएको उल्लेख गर्दै मण्डल भन्छन्,‘मैथिलीभाषी क्षेत्रमा विवाह, श्रीपञ्चमी, दीपावली, माघेसंक्रान्ति सत्यनायण पूजा, चित्र गुप्तापूजा, छठीजस्ता विभिन्न चाडपर्वमा अल्पना, भित्तीचित्र, माण्डचित्र, वासु चित्र र भावचित्र अंकित गर्ने लोक पराम्परा छ । नवविवाहित जोडीको घर र कोठाको भित्तामा चित्रांकन गर्ने चलन पनि छ । मिथिला कला मिथिला सभ्यतासँग जोडिएको छ । यसको सांस्कृतिक महत्वबारे उनी भन्छन्,‘यसको सांस्कृतिक महत्व पनि प्राचीनकालदेखि नै रहेको छ । ‘त्यसलाई ‘कोहबार’ पनि भन्ने गरिन्छ ।’

मिथिला चित्रकलाको प्राचीनता
प्राध्यापक तथा कलाकार उमाशंकर शाहका अनुसार प्राचीनकालमा मिथिला प्रदेशभित्र कोशी र नारायणी नदीबिचको मधेशका भागसँगै भारतको बिहार राज्यको दरभंगा, मधुवनी, सीतामढी, समस्तीपुर, बेगुसराय, सहरसा, सुपौली, पूर्णिया, कटिहार, राजीस्थानजस्ता ठाउँ पर्दछन् । मिथिला वा विदेह क्षेत्रको चर्चा वैदिक वाङ्मय, पुराण, रामायण, महाभारतलगायत अन्य प्राचीन ग्रन्थमा पाइने उनको भनाइ छ । उनी भन्छन् ‘जनकपुरधामलाई मिथिला संस्कृतिको केन्द्र मानिन्छ । रामको विवाह सीतासँग गर्दा रामलाई स्वागत गर्न मिथिला क्षेत्रको घरघरका भित्तामा मिथिला चित्र बनाउन पराम्परा थियो । यसरी मिथिला चित्रकलाको पराम्परा चल्दै आयो । मैथिलीभाषीहरू धेरै रहेको सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही जिल्लाहरूमा मैथिली कलाको पराम्परा कायम छ ।

उनका अनुसार मिथिला चित्रकलालाई कायस्थ, ब्राह्मण, थारू, दलित समुदायले आफ्नो संस्कृति र पर्वहरूमा प्रयोग गर्छन् । ‘मिथिला चित्रकला पूर्णरूपमा धार्मिक अनुष्ठानमा आधारित छ । यस चित्रकलामा प्रतीकहरूको चयन पनि गहनतापूर्वक गरिएको हुन्छ । प्रत्येक प्रतीकमा अलौकिताको वर्णन पाइन्छ ।’

उनको भनाइमा चित्रमा विभिन्न किसिमका प्रतीकात्मक र सांकेतिक कुरा पाइन्छन् । हात्ती, घोडा, सुगा, माछा, कछुवा, मयूर र हाँसजस्ता जीवजन्तु चित्रमा बनाइन्छ । भन्छन्, ‘यी चित्रहरूमा मानव, पशुपक्षी, रुखबिरुवा, पहाडका चित्रहरू पर्दछन् । जीवन र प्रकृतिलाई आधार बनाई चित्र कोरिएको हुन्छ ।’

मिथिला कला बचाउने सीमान्त महिला
विषेशगरी, जनकपुर क्षेत्रका महिलाहरूले धार्मिक र पौराणिक संस्कारलाई ग्रहण गर्दै देवताहरूको चित्र कोरेको देखिन्छ । मिथिलाकला महिलाद्वारा संरक्षण, विकास र प्रवर्द्धन गरिएको कला हो । मधेशका महिलाहरूले प्राचीनकालदेखि घरका भित्तामा चित्रांकन गरी यो कला संरक्षण गर्दै आएका छन् । प्राचीनकालमा विवाह, जन्म, चाडपर्वजस्ता शुभ अवसरमा भित्तामा चित्र कोरेर सांस्कृतिक मान्यतालाई उतार्ने गर्थे । यसकारण मिथिला कलाको प्रमुख वाहक महिला नै हुन् । परम्परागत रूपमा मधेशी महिलाले घरको भित्तामा चित्र बनाएर कला, भावना र जीवनशैली अभिव्यक्त गर्ने गर्थे । 

मिथिला चित्रकलामा विद्रोहको रङ पनि देखिन थालेको छ । रंगकर्मी तथा कवि सपना सञ्जीवनी, पल्लवी पायललगायत युवा पुस्ताले परम्परागत चित्रकलामा विद्रोहका रङ भरिरहेका छन् । पितृसत्तालाई प्रश्न उठाउनेदेखि सामाजिक समानता, लैंगिक विभेदजस्ता विषय उनीहरूको चित्रमा देख्न पाइन्छ । परम्पराकै जगमा टेकेर उनीहरूले गरिरहेको नयाँ प्रयोगलाई कतिपयले आलोचना पनि गरेका छन् भने धेरैले सराहना गरेका छन् । त्यसले मिथिला चित्रकलामा नयाँ आयाम थपिएको छ । 

अध्यता मण्डलका अनुसार मिथिला संस्कृतिलाई आजसम्म जीवित राख्ने श्रेय गृहिणी महिला र मधेशका सीमान्तकृत समुदायलाई जान्छ । मिथिला क्षेत्रमा सानैदेखि घरको कामकाजबाहेक चित्र बनाउने चलन रहेको उनको भनाइ छ । मधेशमा गृहिणी महिलाले यस कलालाई निरन्तरता दिँदै आएको उनको भनाइ छ । भन्छन्, ‘उनीहरूले भित्तामा, आँगनमा, क्यानभासमा रङ र रेखाको माध्यमबाट कला सिर्जना गर्छन्, आफ्नो पहिचान, विश्वास र संघर्ष पनि कोर्छन् । मिथिला संस्कृतिलाई आजसम्म जीवित राख्ने काम यिनै महिला र मधेशका सीमान्तकृत समुदायहरूले गरेका छन् । समाजको पिँधमा रहेका यिनै हातहरूले मिथिलाको लोकसंस्कृतिलाई जीवन्त बनाइरहेका छन् । समाजको पिँधमा रहेका समुदायले मिथिलाको लोकसंस्कृतिलाई जीवन्त बनाएका छन् ।’ 

रंगको प्रयोग
मिथिला कलामा सामान्यतया सात किसिमका रङहरू प्रयोग गरिन्छ । रातो, सेतो, नीलो, पहेँलो, हरियो, सिन्दुरी र कालो रङ प्रयोग गरिन्छ । रङहरू प्रकृतिका विभिन्न तत्वबाट लिइन्छ । मिथिलाकलाका अध्येता तथा कलाकार एसी सुमन मिथिला कलाले जीवनदर्शन, सामाजिक सन्देश र सांस्कृतिक चेतनालाई अभिव्यक्त गर्ने बताउँछन् । उनका अनुसार मिथिला चित्रमा चित्रहरूले रङ, रेखा र प्रतीकमार्फत सामाजिक असमानता, जातीय पहिचान र मानवीयताको संवाद गर्छन् । उनी भन्छन्,‘मिथिला कलामा प्रयोग हुने रङ पनि छुट्टै छ । ती रङहरूको जीवनदर्शन छुट्टै छ ।’ मिथिला कलामा प्रयोग हुने रङहरू रातो, हरियो, पहेँलो, नीलो, कालो, सेतो हुन्  । रातो (सौभाग्य, प्रेम, शक्ति र विवाहको प्रतीक), हरियो (जीवन, हरियाली, पुनर्जन्म), पहेँलो (आशा), सेतो (पवित्र), नीलो, स्थिरता शान्ति र भगवान् कृष्णको प्रतीक मानिन्छ । ‘त्यसैले मिथिला कला केवल चित्र होइन, यो एक जीवनशैली, एक दार्शनिक दृष्टिकोण हो । जसले प्रकृति, नारी, धर्म, परम्परा र समाजको सम्मान गर्दै जीवनलाई समग्रमा बुझ्न मद्दत गर्छ,’ उनले भने । 

मिथिला चित्रकलाको विषय मुख्यतया धार्मिक हुने गर्छ । जसमा सीताराम, राधाकृष्ण, कृष्ण र गोपिनीको रासलीला, शिवपार्वती, दुर्गा, काली, सूर्य र चन्द्रमाको चित्रण देखिन्छ । भित्तामा ठुल्ठुलो आकृतिमा ‘पिहुआ’को सहाराले रङ भरिन्छ । भरनी भनेको रङ पोत्नु वा रङ भर्नु हो । 

कालो रङले तयार पारिएको रेखाचित्रभित्र रातो, पहेँलो, सुन्तला, बैजनी, हरियो रङको व्यापक प्रयोग गरिन्छ । घरमा उपलब्ध हुने सिन्दुर, अबिर, चन्दन, विभिन्न रङका फूलको प्रयोगले यस्ता चित्र बनाएको पाइन्छ । तसर्थ, यो शैलीलाई भरनी वा ब्राह्मण शैली भनिन्छ ।

चामललाई भिजाएर सुकाई त्यसलाई पिँधेर बनाएको धुलोबाट सेतो रङ तयार गरिन्छ । रातो रङ एक किसिमको बिरुवाको पात र फलबाट तयार हुन्छ । नीलो रङ नीलबाट तयार गरिन्छ । सिन्दुरीमा बाख्राको दुध मिसाएर सिन्दुरे रङ तयार गरिन्छ । कालो रङ टुकीबाट निस्केको धुवाँ र भान्सा कोठामा लागेको ध्वाँसोलाई गाईको गोबरमा मिसाई बनाउने चलन छ । सिमीको पातलाई पिँचेर हरियो रङ तयार गरिन्छ । चित्रमा चमक ल्याउन बेलको गुदी पनि मिसाइन्छ ।

कमलको फूल कोमलता, अनुराग र सौन्दर्यका साथै नारी देहको प्रतीक मानिन्छ । यो लक्ष्मीको प्रतीक पनि मानिन्छ, जसले वैभव पनि बुझाउँछ । कदम्बको फूल सौन्दर्य र प्रेमको प्रतीक हो । बाँसलाई वंश पराम्परा र पुरुषजातिको प्रतीक मानिन्छ । घोडालाई सूर्यको प्रतीक मानिन्छ । गाईलाई पवित्रता र मातृत्वको प्रतीक मानिने चलन छ । हात्ती गणेशको प्रतीक साथै यसलाई शुभ पनि मानिन्छ । सुगालाई गुरु र मित्रताको संकेत पनि मानिन्छ । कछुवा विष्णु भगवान् र पुरुष वर्गको प्रतीक मानिन्छ । माछालाई उत्पादन शक्ति वा प्रजननशीलताको साथी नारीजातिको प्रतीक मानिन्छ । मयुर नृत्यलाई शृंगारको प्रतीक मानिन्छ । हाँसले सरस्वतीको पनि संकेत गर्छ । अध्येता सुमनका अनुसार प्रतीकहरूको उपयोगका आधारमा मैथिली चित्रकला परलौकिक र लौकिक दुई भागमा बाँड्न सकिन्छ । परलौकिक चित्रहरूमा देवी–देवता र स्वर्गीय कुराको चित्र पर्दछन् यसमा तन्त्रको व्यापक प्रभाव पाइन्छ । जसमा काली, दुर्गा आदिको चित्र बढी पाइन्छ । त्यसपछि भगवान् शिवको लोकप्रियता देखिन्छ । महाभारत, रामायणकालीन कथावस्तुका आधारमा विष्णु, राम, सीता राधाकृष्णका चित्रहरू पनि पाइन्छन्, तर, लक्ष्मी सरस्वतीभन्दा तिनका संख्या कम नै छन् । 

मिथिला चित्रकलाले प्रकृतिप्रतिको श्रद्धा र मानव–प्रकृतिबिचको सम्बन्धको चित्रण गर्छ । मिथिला चित्रमा खेतबारी, गाईबस्तु, किसानको जीवन, चुलोचौको, पानी भर्ने दृश्यजस्ता मधेशको जनजीवन झल्किन्छ । यी दृश्यले ग्रामीण मधेशको झल्को दिन्छ । मिथिला चित्रकला प्राय: महिलाले बनाउने भएकाले दैनन्दिन जीवनका गतिविधिहरू चित्रमा देख्न पाइन्छ । 

प्रवर्द्धनको खाँचो
यो महत्वपूर्ण लोककलाको संरक्षण र प्रवर्द्धन हुन सकेको छैन । यसको विश्वबजारमा व्यापक माग छ । हिजोआज कोठा सजावटका लागि लोककला राख्ने फेसन चलेको छ । यो कलाको प्रचार–प्रसार र बिक्री–वितरणको दायित्व सरकारले लिनुपर्ने देखिन्छ । साथै, सरकारले यससम्बन्धी तालिम सञ्चालन गर्नुपर्ने अध्येताहरूको भनाइ छ । एसी सुमन शील्पशिक्षाको पारखी मधेशी महिलाकै कारण मिथिला कलाले निरन्तरता पाइरहेको बताउँछन् । मिथिला कलाबाट यहाँका महिला आर्थिक सशक्तीकरण र उद्यमशीलतातर्फ बढिरहेको उनको भनाइ छ । उनी भन्छन्,‘यसले महिलालाई आत्मनिर्भर बनाउन सघाउ पुगेको छ । अब राज्यले यस्ता कला संरक्षणका लागि संग्रहालय र संस्कृति केन्द्र बनाउन आवश्यक छ । अनुसन्धान र प्रोत्साहन कार्यक्रम सञ्चालन गर्न ढिला भइसक्यो । बजारसम्मको पहुँच व्यवस्था गर्न आवश्यक छ । राज्य, कलाकार र मधेशी समुदायबिच साझेदारी अपरिहार्य बनेको छ ।’

मिथिला कला संरक्षणका लागि विशेष नीति तथा कानुन निर्माण गर्नुपर्ने उनको धारणा छ । विद्यालय तथा कलेजको पाठ्यक्रममा मिथिला कला समावेश गरी नयाँ पुस्तालाई जानकारी दिनुपर्ने उनको जोड छ । भन्छन्, ‘प्राचीन मिथिला चित्रकला तथा दस्ताबेजलाई डिजिटल माध्यमबाट अभिलेखीकरण गर्नु आवश्यक छ । विदेशमा नेपाली सांस्कृतिक महोत्सवमा मिथिला कला प्रदर्शनीमा जोड दिनुपर्छ । मिथिला कलाकारलाई अनुदान, छात्रवृत्ति र राष्ट्रिय पुरस्कार प्रदान गरी मिथिला कलाको संवद्र्धन र प्रवर्द्धनका लागि पहल गर्नुपर्छ ।’ 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केली मिथिला कलाकारलाई अनुदान, छात्रवृत्ति, कलाको संवद्र्धन र प्रवर्द्धनका लागि पहल भइरहेको बताउँछन् । उनी भन्छन्, ‘मिथिला चित्रकलाले मधेशको विशिष्ट लोक चित्रकला पद्धतिलाई जीवित राखेको छ । त्यसैले यो कलालाई सबैक्षेत्रबाट प्रवर्द्धन र संरक्षणको खाँचो छ ।’

सुझावित समाचार