कोशी प्रदेशले ल्यायाे ३५ अर्ब २७ करोड ९३ लाखकाे बजेट

शनिबार, १ असार, २०८१
डिजिटल संस्करण

कोशी प्रदेशमा आर्थिक वर्ष ०८१/८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट आएको छ। कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रदेश सभामा आर्थिक वर्ष ०८१/८२ का लागि चालूतर्फ एक अर्ब ४७ करोड २३ लाख तथा पुँजीगततर्फ १६ अर्ब २० करोड २० लाखको बजेट प्रस्तुत गरेका हुन्।

कोशीमा गत वर्षभन्दा बजेट घटेको छ। चालू आर्थिक वर्षमा ३६ अर्ब ७४ करोड ३५ लाख बजेट आएको थियो। आर्थिक वर्ष ०८१/८२ को उक्त बजेट खर्च राजस्व तथा वित्तीय हस्तान्तरणबाट ३१ अर्ब ९२ करोड ३४ लाख, नगद मौज्दातबाट ती अर्ब २५ करोड तथा वैदेशिक अनुदानबाट १० करोड ६९ लाख ब्यहोर्ने आर्थिक मामिला तथा योजनामन्त्री मगरले बताए। 

कोशीमा आर्थिक वर्ष ०८१/८२ मा चार अर्ब ९८ करोड आन्तरिक राजस्व संकलन हुने मन्त्री मगरले अनुमान गरे। 
कोशी प्रदेशको बजेटमा कृषि, उद्योग र सेवा क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि गर्दै दिगो आर्थिक वृद्धि लक्ष्य रहेको बजेटमा जनाइएको छ। शिक्षा, स्वास्थ्यजस्ता सामाजिक क्षेत्रमा लगानी वृद्धि गर्दै भौतिक पूर्वाधार, निर्माण र पर्यटन विकास तथा सेवा प्रवाहलाई नागरिकमैत्री बनाउनेतर्फ बजेट लक्षित भएको आर्थिक मामिला तथा योजनामन्त्री मगरले बताए। 

कोशी प्रदेशमा पछिल्लो समय कुल गार्हस्थ उत्पादन बढेको तथ्यांक मगरले प्रस्तुत गरे। आर्थिक वर्ष ०७५/७६ मा पाँच खर्ब ९९ अर्ब रहेको कुल गार्हस्थ उत्पादन चालू आर्थिक वर्षमा नाै खर्ब तीन अर्ब पुग्ने अनुमान गरिएको उनले बताए।

कोशीमा विद्युत् उत्पादन १२१ मेगावाटबाट ५७७ मेगावाट पुगेको आर्थिक मामिलामन्त्री मगरले बताए। उनका अनुसार ९७ दशमलव ७ प्रतिशत नागरिकमा विद्युत् सेवा पुगेको बताए। कोशी प्रदेशमा सोलुखुम्बुको खुम्बुपासाङलाम्हु गाउँपालिकाको केन्द्र र संखुवासभाको भोटखोला गाउँपालिकाको केन्द्रबाहेक सबै पालिका केन्द्र सडक सञ्जालमा जोडिएको उनले बताए। गत आर्थिक वर्षमा २ दशमलव १३ प्रतिशत रहेको आर्थिक वृद्धिदर चालू आर्थिक वर्षमा ३ दशमलव ५१ प्रतिशत पुग्ने उनले बताए।

चालू आर्थिक ३६ अर्ब ७४ करोड ३५ लाखमध्ये ससर्त अनुदानमा सात करोड ५५ लाख थप भई कुल बजेट ३६ अर्ब ८१ करोड ९० लाख कायम भएको बजेटमध्ये वैशाख मसान्तसम्ममा कुल खर्च १५ अर्ब ८८ करोड २३ लाख भएको छ। आर्थिक वर्षभरिमा ८० प्रतिशतभन्दा माथि खर्च हुने अनुमान गरिएको मगरले बताए। चालू आर्थिक वर्षमा आन्तरिक राजस्व चार अर्ब ५७ करोड संकलन हुने अनुमान गरिएको थियो। जसमध्ये वैशाख मसान्तसम्ममा तीन अर्ब ३ करोड २३ लाख संकलन भएको छ।
 

सुझावित समाचार